तुइन दुर्घटनाः छानबिन समितिको प्रतिवेदन नआउँदै बोल्न हतार हुने गृहमन्त्री खाणको अभिव्यक्ति

तुइन दुर्घटनाः छानबिन समितिको प्रतिवेदन नआउँदै बोल्न हतार हुने गृहमन्त्री खाणको अभिव्यक्ति


गृहमन्त्री बालकृष्ण खाणले दार्चुलामा तुइन तर्ने क्रममा महाकाली नदीमा खसेर बेपत्ता भएका यात्रुको सम्बन्धमा छानबिन समितिको प्रतिवेदनअनुसार सरकारले आवश्यक निर्णय लिने बताएका छन्। 

सोमबार राष्ट्रिय सभा बैठकमा बोल्दै गृहमन्त्री खाणले सो घटनाको सम्बन्धमा छानबिन समिति गठन गरिसकिएको जानकारी दिदैँ छानबिन समितिको प्रतिवेदन आउनु अघि सरकारले कुनै राय दिन नमिल्ने बताए । उनले भने, ‘हामी आफैंले छानविन समिति बनाइरहेको अवस्थामा छानबिनमा प्रभाव पार्नेगरी आफ्नो कुनै राय दिन मिलेन। घटनाको सत्यतथ्य प्रतिवेदन आएपछि प्रतिवेदनमा उल्लेख भएका तथ्यका आधारमा हामी जुनसुकै अडान लिनपनि तयार छौँ।’

खाणले साउन १५ गते व्यास गाउँपालिका–२ बस्ने जयसिंह धामीको तुइन तर्ने क्रममा महाकाली नदीमा झरी बेपत्ता भएको घटना दुःखद र संवेदनशील रहेको बताए। उनले टोली स्थलगत छानबिनको लागि घटनास्थलमा खटिएको जानकारी दिए। त्यस्तै जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतको पिथौरागढस्थित जिल्लाधिकारीलाई उक्त घटनाको सम्बन्धमा ध्यानाकर्षण गराउँदै पत्राचार गरेको पनि जनाए। 

त्यस्तै गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक पुरुषोत्तम कँडेल, सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक सुरेश कुमार श्रेष्ठ, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक हुत्तराज थापा, जिल्ला प्रशासन कार्यालय दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी जोत्सना भट्ट जोशी समेत ५ जना रहने गरी स्थलगतरुपमा सत्यतथ्य छानविन गरी १० दिनभित्र प्रतिवेदन पेश गर्ने गरी छानविन समिति गठन गरी घटनास्थलतर्फ पठाइसकिएको पनि खाणले बताए ।

गृहमन्त्री खाणले यस वर्षको विपतबाट सिन्धुपाल्चोक, मनाङ, गोरखा, लमजुङ, कास्की लगायत ५५ जिल्ला प्रभावित भएको जानकारी दिदै मनसुनजन्य विपतका कारण हालसम्म ६७ जनाको मृत्यु, ४० जना बेपत्ता र ८१ जना घाइते भएको जानकारी समेत दिए। 

त्यस्तै, विभिन्न ४० जिल्लामा ६१९ निजी घर पूर्ण क्षति, १६२ वटा घरमा आंशिक क्षति भएको पनि गृहमन्त्री खाँडले जनाए । उनले असार १ गते मेलम्ची, इन्द्रावती, याङ्ग्री र लार्केमा आएको बाढीमा परी ५ जनाको मृत्यू, २० बेपत्ता र ६ जना घाइते तथा ३३८ घर पूर्ण रुपमा क्षति भएको जानकारी दिए । जनताको जीवन रक्षाको लागि सरकार प्रतिवद्धतापूर्वक अगाडी बढ्ने पनि उनको कथन थियो ।

Skip This
Logo