सुजिता हत्या प्रकरण : बुबासहित थप ३ जना पक्राउ

सुजिता हत्या प्रकरण : बुबासहित थप ३ जना पक्राउ


लोहरपट्टी नगपालिका-७ की सुजिता ठाकुरको हत्या प्रकरणमा सुजिताका बुबासहित थप तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । 

सुजिताको हत्यामा पिपरा गाउँपालिका–६ रतौली बस्ने उनका ५० वर्षीय बुबा कामेश्वर पाण्डेय, भंगहा नगरपालिका–१ कविलासा बस्ने ३५ वर्षीया नन्द अंजु ठाकुर र जनकपुरधाम उपमहानगरपालिका–२४ बसहिया बस्ने ५५ वर्षीय प्रमोद भन्ने विनोद मण्डललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । 

महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी प्रकाश विष्टका अनुसार कामेश्वरले समेत छोरी सुजितालाई मार्न उनको देवर रुपेशलाई पटक-पटक भनेको कुरा अनुसन्धानबाट खुलेकाे छ । 

देवर रुपेशसहितका परिवारका व्यक्तिहरू सुजिताको हत्यामा संलग्न रहेको समबन्धमा गएको जेठ २५ गते कामेश्वरलाई जानकारी भएपश्चात् उनले सो समबन्धमा रुपेशसँग घटना लुकाउन बार्गेनिङ समेत गरेको डिएसपी विष्टले बताए ।

त्यसैगरी गएको जेठ २० गते बिहान रुपेश समेतले सुजिताको हत्या गरेको कुरा नन्द अन्जुलाई सोही दिन फोन गरेर जानकारी गराइएको भए पनि उनले कहीँकतै जानकारी नगराई घटना लुकाउने भूमिका निर्वाह गरेकाले उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

गएको जेठ २० गते बिहान २६ वर्षीया सुजिताको देवर रूपेश ठाकुर, ससुरा पतिराम ठाकुर, सासू र देवरानीसहितले मिलेर हत्या गरेको प्रहरीको भनाइ छ ।

हत्या भएको ३९ औं दिनमा शौचालयको सेप्टिक ट्यांकीभित्र गाडेर माथिबाट ढलान गरिएको अवस्थामा शव बरामद भएको थियो ।

हत्यापछि सुजिताको शव लुकाउन तथा सेप्टिक ट्याङ्कीभित्र गाडेको आरोपमा प्रहरीले स्थानीय ३७ वर्षीय किशोरी मण्डल, ३३ वर्षीय दम राईन र ३२ वर्षीय नथुनि मण्डललाई यसअघि पक्राउ गरी मुद्दा अघि बढिसकेको छ ।

सुजिताकी पति मुकेश ठाकुरसमेत पक्राउ गरिए पनि घटनामा उनको संलग्नता नदेखिएपछि प्रहरीले उनलाई छोडेको थियो । घटनामा संलग्न सुजिताकी सासू र देवरानी अझै फरार छन् । 

Logo