चोरिएका २३ मोटरसाइकल सम्बन्धीत धनीलाई जिम्मा

चोरिएका २३ मोटरसाइकल सम्बन्धीत धनीलाई जिम्मा


उपत्यकाबाट चोरी भएका तथा हराएका मोटरसाइकल प्रहरीले फेला पर्दैन होला भन्ने सवारी धनीको दुविधा एवं भ्रमलाई ट्राफिक प्रहरी महाशाखाले गलत सावित गरिदिएको छ। उपत्यकामा हुने सवारी साधन चोरी घटनालाई न्युनिकरण एवं नियन्त्रण गर्न निरन्तररूपमा विशेष अपरेसन टोली परिचालन गरी चोरी नियन्त्रणमा उल्लेख्य सफलता हासिल गर्दै आएको छ।

आज मात्रै विभिन्न मितिमा हराएका २३ वटा मोटरसाइकल एक कार्यक्रमका बीच महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले सम्बन्धीत धनीलाई हस्तान्तरण गरेका छन्। हस्तान्तरण गरिएका २३ मध्ये १२ वटा पल्सर मोटरसाइकल र ११ वटा अन्य कम्पनीका रहेका छन्। 

कार्यक्रममा बोल्दै एसएसपी भट्टराईले बिशेष सूचना संकलन र निगरानी गरी उपत्यका तथा आसपासको ईलाकाबाट मोटरसाइकलहरु बरामद गरिएको, चोरीमा संलग्न मानिसहरुलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि विभिन्न प्रहरी बृत्तहरुमा पठाएको र अन्य मोटरसाइकलहरु सम्बन्धित धनीलाई सम्पर्क गरि बुझाउने गरेको बताए। उनले सवारी साधन चोरी घटनालाई न्युनिकरण एवं नियन्त्रण गर्ने अभियान निरन्तर जारी रहेको बताए।

कसरी चोरिन्छ त मोटरसाइकल ?
चालकले सुरक्षा अपनाउँदा–अपनाउँदै र सुरक्षाकर्मीले निगरानी गर्दागर्दै यतिका चोरीका मोटरसाइकलहरु कता जान्छन् ? कसरी चोरिन्छ ? ट्राफिक प्रहरीको अनुसन्धान अनुसार काठमाडौंका अस्पतालहरू, पार्टी प्यालेसहरू तथा विभिन्न स्थानमा रहेका एकान्त पार्किङमा जाने र लक तोडेर मास्टर चावी प्रयोग गर्ने वा सिधै तार जोडेर चोरी गर्ने पाइएको छ। 

यसरी चोरी गर्नुपूर्व उक्त मोटरसाइकल र चालकको गतिविधी निगरानी गर्ने, मौकाको खोजी गरि उपयुक्त समयमा विभिन्न तरिका अपनाएर चोरी गर्ने गर्दछन् भने संलग्न सदस्यहरुको आ-आफ्नै भूमिका हुने गर्दछ। चोरी पश्चात वर्कसपमा गएर स्वरुप परिर्वतन गर्ने, नम्बर प्लेट फेरेर बिक्री गर्ने तथा आफैंले समेत चलाउने गरेको, पार्टसहरू खोलेर विक्री वितरण गर्ने गरेको अनुन्धानबाट खुलेको ट्राफिक प्रहरीले जानकारी दिएको छ।

विशेष गरि चोरी गर्ने समूहले सस्तो सुलभ, आकर्षक र बढी डिमाण्ड हुने खालका मोटरसाइकल र स्कुटरहरु चोरी गर्ने गरेको देखिन्छ। युवा पुस्ताको रोजाई र ग्रामीण भेगमा समेत माग बढी भएकोले पल्सर मोटरसाइकल बढी चोरी हुने गरेको महाशाखाको बुझाई रहेको छ।

सवारी साधनमा अतिरिक्त ह्विल लक, डिस्क लक, सेक्युरिटी साइरनहरु जडान गर्न, लामो समयसम्म एकान्त स्थानमा पार्किङ्ग नगर्न र जथाभावी पार्किङ्ग नगर्न महाशाखाले बिशेष अनुरोध गरेको छ।

गत आर्थिक वर्षमा मात्रै हराएका ४१८ वटा मोटरसाइकल खोजतलास गरि सम्बन्धित धनीलाई जिम्मा दिइयो भने चोरीमा संलग्न ५१ जनालाई समेत बिभिन्न स्थानहरुबाट पक्राउ गरि कारबाहीको लागि प्रहरी बृत्तहरुमा पठाएको समेत महशाखाले जनाएको छ।

Skip This
Logo