विजय शाहीको गिरफ्तारी माग्दै ‘वर्ल्ड रेकर्ड’को उपाधि दिने वेबसाइट ह्याक

विजय शाहीको गिरफ्तारी माग्दै ‘वर्ल्ड रेकर्ड’को उपाधि दिने वेबसाइट ह्याक


विश्व कीर्तिमानका लागि घुस लिएको आरोप लगाउँदै ‘च्याम्पियन्स बुक अफ वर्ल्ड रेकर्डस्’ को वेबसाइट ह्याक भएको छ। 

सो आरोपका साथै विजय शाहीलाई गिरफ्तार गर्नुपर्ने माग पनि ह्याकरले वेबसाइटमा सन्देश छोड्दै राखेका छन्। 

‘च्याम्पियन्स बुक अफ वर्ल्ड रेकर्ड्स’ को वेबसाइट ह्याक भएको र साइटको सबै डेटा गुगल वेबसाइटमा स्थानन्तरण गरिएको ‘इजी टिप्स ट्युटोरियल’ मा लेखिएको एक लेखमा जनाइएको छ । त्यसै अनुसारको एक साइट पनि प्रयोगमा रहेको छ, जसमा ‘च्याम्पियन्स बुक अफ वर्ल्ड रेकर्ड्स’का जानकारी रहेका छन्। 

‘सेटन’ (शैतान) र ‘ब्रह्मा’को नाम पनि ह्याक भएको वेबसाइटमा खुलाइएको छ । भनिएको छ, ‘स्वर्ग र नर्कबाट निम्तिएको विनाश ।’ उक्त साइट ‘पिडब्लुएन लर्ड’ले ह्याक गरेको पनि ह्याक भएको वेबसाइटमार्फत् जनाइएको छ। नेपाली भाषाको प्रयोगबाट श्याकर नेपाली भएको अनुमान लगाउन सकिन्छ।

कालीकोटका विजय शाहीले आफूलाई मेमोरी किङ दावी गर्दै आएका छन्। शाहीले २०७६ सालमा ‘मेमोरी किङ’ विधामा विश्व रेकर्ड राखेको बताइएको थियो।  

अमेरिकी मेमोरी च्याम्पियन नेल्सन डेल्लिसले केही दिनअघि आफ्नो युट्युब च्यानलमा भिडियो राख्दै आफू विजय शाहीबाट ठगिएको जनाएका थिए। उनले आफ्नो भिडियोमा शाहीले उनको आँखा कसरी छले भनेर विश्लेषण गरेका छन्। 

‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड्स’ प्रचलनमा रहेको विश्व कीर्तिमानको संग्रह हो। तर, ‘च्याम्पियन्स बुक अफ वर्ल्ड रेकर्ड्स’ नामक् संग्रह भारतको विजय वडा, आन्ध्र प्रदेशबाट प्रकाशन भइरहेको उक्त संग्रहको नयाँ गुगल साइटमा जनाइएको छ।

‘रेडिट’को डिस्कसन फोरममा ‘सच्ड्र्यागनफ्रुट ९’ नामक् प्रयोगकर्ताले विजय शाहीले अर्पण शर्माको गिनिज रेकर्ड तोडेको बताएको तर उनको रेकर्ड गिनिज बुक नभई ‘च्याम्पियन्स बुक अफ वर्ल्ड रेकर्ड्स’ मा भेटिएकोले सो संग्रह कत्तिको विश्वसनीय छ भनेर एक वर्ष अगाडि प्रश्न गरेका छन्। 

केही रेकर्डमा पूर्ण विवरणसमेत नरहेको र केही रेकर्ड त रेकर्ड जस्तो पनि नरहेको भनी उनले शंका व्यक्त गरेका छन्। साथै च्याम्पियन्स बुक अफ वर्ल्ड रेकर्ड्स’ ले मिडिया कभरेज, भिडियो, फोटोजस्ता कुरालाई रेकर्डको मापदण्ड बनाएको भन्दै त्यस संग्रहको विश्वसनीयतामाथि प्रश्न उठाएका छन्। 
 

Logo