उपत्यकामा २७ गतेसम्म निषेधाज्ञा थपः तालिम, सेमिनार र बैठक भर्चुअल माध्यमबाट गर्नुपर्ने

उपत्यकामा २७ गतेसम्म निषेधाज्ञा थपः तालिम, सेमिनार र बैठक भर्चुअल माध्यमबाट गर्नुपर्ने


काठमाडौँ उपत्यकामा तालिम सेमिनार, बैठक तथा गोष्ठी भर्चुअलका माध्यमबाट मात्रै सञ्चालन गर्नुपर्ने गरी उपत्यका प्रशासनले निषेधाज्ञाको आदेश जारी गरेको छ। कोभिड–१९ को सङ्क्रमण बढ्न थालेकाले साउन २१ देखि २७ गतेसम्म थपिएको निषेधाज्ञामा प्रत्यक्ष सहभागी भएर गरिने यस्ता कार्यक्रममा रोक लगाइएको हो।

यसअघि गोष्ठी, तालिम, सेमिनार, बैठक तथा प्रशिक्षणजस्ता कार्यक्रम उपस्थित भएरै गर्नुपर्ने भएमा २५ जनाभन्दा बढी नहुने गरी सञ्चालन गर्न अनुमति दिइएको थियो । कोभिड–१९ का बिरामीको सङ्ख्या वृद्धि हुन थालेपछि यस्ता भीडभाडजन्य गतिविधि रोक्न कार्यक्रम भर्चुअलका माध्यमबाट गर्न भनिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए। मापदण्ड उल्लङ्घन हुँदा जोखिम बढ्न थालेको उपत्यका प्रशासनको निष्कर्ष छ। उपत्यकाको तीन जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर) का प्रमुख जिल्ला अधिकारीसहित आजको बैठकले उक्त आदेश जारी गरेको हो। 

आदेशमा कोभिड–१९ को लक्षण देखिएका तथा सङ्क्रमितको सम्पर्कमा रहेका व्यक्तिलाई नेपाल सरकारले निःशुल्क व्यवस्था गरेको एन्टिजेन तथा पिसिआर परीक्षणका लागि सम्बन्धित स्थानीय तह, जिल्ला अस्पतालसँग सम्पर्क गरी परीक्षण गराउन र भीडभाडबाट बच्न अनुरोध गरिएको छ। स्वास्थ्यको मापदण्ड पूर्णपालना गर्न पनि अनुरोध गरिएको छ। त्यसका लागि सुरक्षा निकायबाट अनुगमन गरिने र अनुगमनका क्रममा अवज्ञा गरेको पाइएमा कोभिड–१९ सङकट व्यवस्थापन अध्यादेश २०७८ अनुसार कारवाही हुने चेतावनी दिइएको छ। 

जारी आदेशमा सबै प्रकारका सभा, सम्मेलन, पार्टी प्यालेस, सिनेमा हल, डान्सबार, नाचघर, स्वीमिङ पुल, मनोरञ्जनस्थल, सङ्ग्रहालय, रङ्गशालामा हुने दर्शकसहितका खेलकूद तथा मानिसको भीडभाड हुने अन्य कार्यक्रम गर्न÷गराउन नपाइने विगतको व्यवस्थालाई कायम राखिएको छ।

यस्तै खुला स्थानमा मानिस भेला हुन, सभा, जुलुस गर्न, जात्रा महोत्सव, भोजभतेर आदि गर्न, गराउन नपाइने तथा नित्य पूजाबाहेकका धार्मिक एवं सांस्कृतिक कार्यक्रम, भौतिक उपस्थितिमा हुने पठनपाठनका पनि गर्न नपाइने आदेशमा उल्लेख छ। औषधि तथा स्वास्थ्यसम्बन्धी पसल भने जुनसुकै बेला खोल्न सकिने छ तर अन्य पसल, व्यवसाय भने साँझ ७ बजेसम्म मात्रै खोल्न पाइने छ । स्थानीय ढुवानीका साधन बिहान ९ देखि ११ र अपराह्न ४ देखि ७ बजेसम्म मात्र सञ्चालन गर्न पाइने छ । व्यवसाय सञ्चालन गर्दा भने स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने काठमाडौँ प्रशासनले जनाएको छ।  

अत्यावश्यक वस्तुको अनलाइन अडर, रेष्टुराँ तथा फाष्टफुड तथा अन्य अडरको हकमा टेक–अवे वा होम डेलिभरी प्रयोजनका लागि साँझ ७ बजेसम्म मात्र सञ्चालन गर्न पाइनेछ। सिट क्षमताअनुसारको यात्रु राखेर यातायातका साधन सञ्चालन गर्न सकिने तर त्यसरी सञ्चालन गर्दा स्वास्थ्यका मापदण्ड पूर्णपालना गर्नुपर्नेछ। टेम्पु र नीलो माइक्रोमा यसअघि लागू भएको नौ जना मात्रै यात्रु राख्न पाइने र यात्रुको बीचमा प्लाष्टिकको छेकबार लगाउनुपर्ने व्यवस्थालाई कायम गरिएको छ।

यसअघिको आदेशानुसार लामो दूरीका सवारी साधन मापदण्ड पालना गरेर चलाउन पाइने छ। सार्वजनिक तथा निजी ढुवानीका साधन भने राति ९ बजेदेखि बिहान ५ बजेसम्म मात्रै सञ्चालन गर्न पाइने व्यवस्था छ। तोकिएको परीक्षा सञ्चालन गर्दा भने एक कोठामा २५ जनाभन्दा बढी राख्न नपाइने र स्वास्थ्यका सबै मापदण्ड पूर्णपालना गर्नुपर्नेछ। 

Logo