२७ औं तामाङ प्रसारण दिवस: भाषिक पत्रकारिता गर्न हम्मे

२७ औं तामाङ प्रसारण दिवस: भाषिक पत्रकारिता गर्न हम्मे


तामाङ भाषामा विद्युतीय माध्यमबाट समाचार प्रसारण भएको दिनको सम्झनामा तामाङ पत्रकारहरूले २७ औं ‘तामाङ प्रसारण’ दिवस मनाएका छन्।

रेडियो नेपालबाट २०५१ भदौ १ गते अपरान्ह ४ बजेपछि ५ मिनेट तामाङ भाषामा समाचार प्रसारण भएको दिनलाई प्रत्येक वर्ष तामाङ पत्रकारहरूले आजकै दिन यो दिवस मनाउने गरेका छन्।

दिवसको अवसरमा तामाङ पत्रकार संघले ‘आदिवासी तामाङ पत्रकारिताः हिजो, आज र भोलि’ विषयमा भर्चुअल माध्यमबाट अन्तरक्रिया गरेको छ।

अन्तरक्रियामा कार्यपत्र प्रस्तुत गर्दै वरिष्ठ पत्रकार कुमार यात्रुले २०५१ भदौ १ गते रमिता लामा, ध्यानबहादुर तामाङ, अमृत योञ्जनलगायतले रेडियो नेपालमा पहिलो पटक समाचार उत्पादन गरेर प्रसारण गरेको बताए।

सोही दिनदेखि नियमित रेडियो नेपालबाट समाचार प्रसारण हुँदै आएको छ। यात्रुका अनुसार २०४६ मा प्रजातन्त्रको पुनर्वहाली भएसँगै २०४७ मा बनेको संविधानपछि तिलविक्रम नेम्बाङ ‘बैरागी काइँला’ नेतृत्वको सुझाव समितिले दिएको सुझावको आधारमा तामाङसँगै अन्य विभिन्न मातृभाषामा रेडियो नेपालबाट समाचार प्रसारण सम्भव भएको हो।

हाल तामाङ भाषामा रेडियो नेपालको अतिरिक्त ३६ वटा एफएमबाट समाचार र कार्यक्रम प्रसारण हुने गरेको तथ्याङ्क प्रेस काउन्सिलको छ।

मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछि तामाङ भाषी पत्रकारहरूले समाचार र कार्यक्रम उत्पादन गरेर एमएमबाट प्रसारण गर्दै आएका छन्।

छापा माध्यमको इतिहासमा भने तामाङ भाषामा २०१६ को वैशाख पूर्णिमाको दिन हस्तलिखित पत्रिका ‘म्हेन्दो’ भोजपुरबाट प्रकाशन भएको थियो।

जुन पत्रिकाको सम्पादक मोक्तान भाइ र गणेश योञ्जन थिए। पत्रिका दुई अंकसम्म प्रकाशन भएको देखिन्छ।

मुद्रीत पहिलो तामाङ भाषाको पत्रिका भने ‘थ्विन्डेल’ हो। इमानसिंह लामा र टासी फिन्जो लामाको सम्पादनमा उक्त पत्रिका २०३३ मा प्रकाशन भएको थियो।

पञ्चायतकालमै सीताराम तामाङले २०४० मा ‘बुलेटिन’, चन्द्रकुमार मोक्तान र लाबहादुर लामाले २०४२ मा फूलबारी, अमृत योञ्जन लगायत पाँच जना सम्पादक मण्डल रहेको पत्रिका ‘स्योम्हेन्दो’ २०४५ प्रकाशन भएको देखिन्छ।

प्रजातन्त्रकालमा छारम्हेन्दो, याम्बु, लास्सो, तामाङ टाइम्स, तिप्लिङ, दामछिक, नाङ्साल, तामाङ डाजाङ, पुपुम्हेन्दो, जम्बुलिङ, छार गोङ्मा, प्राङबोला छारन्हान, छारग्याम (सिक्किम), जिन्लाप (कलकत्ता), जाम्बुलिङ (कालिम्पोङ, रिमठिम (आसाम) आदि पत्रिका प्रकाशन भए। 

हाल ‘तामाङ डाजाङ’ नियमित प्रकाशन हुँदै आएको छ।

तर, परम्परागत तामाङ सञ्चार प्रणाली भने ताम्बा प्रणालीसँगै डम्फू र ह्वाइ, स्याल्गर, थाङका कला र बोन्बोला कइरन भएको वरिष्ठ पत्रकार यात्रु बताउँछन्। उनका अनुसार आदिवासी जनजातिले सञ्चालन गरेका मिडियाहरू उनीहरू आफैंले सञ्चालन र नियमन गर्ने अवस्था हुनुपर्छ।

र, राष्ट्रिय आम सञ्चार नीति २०७३ अनुसारको कानुन नबनेको र बनेको कानुनले आदिवासी मिडियालाई अस्वीकृत गरेको उनको भनाइ छ।

उनले आदिवासी तामाङ समुदायको प्रथाजनीत संस्था, परम्परागत ज्ञान सीपसँगै संस्कार, संस्कृति, भाषालगायत विविध पक्षलाई पत्रकारितामार्फत् उजागर गर्नुपर्नेमा पनि जोड थिए।

कार्यक्रममा नेपाल पत्रकार महासंघकी केन्द्रीय सञ्चु ब्लोनले आसन्न महासंघको पोखरामा बस्ने बैठकमा आदिवासी पत्रकारहरूले चलाएको सञ्चार माध्यमबारेको सवाललाई उठान गर्ने बताइन्।

तर, कोरोनाका कारण केही तामाङ पत्रकारहरूको रोजगारी गुमेको र रोजगारी भए पनि कसैले भने पारिश्रमिक नपाउने समस्या देखिएको बताइन्।

नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोलेले तामाङ मिडियालाई मूलधारको मिडियासँग प्रतिस्पर्धा गर्दै अगाडि लैजाँदा मात्रै तामाङ आन्दोलन सशक्त हुने धारणा राखे।

त्यसका लागि आत्मसमीक्षा गर्दै अगाडि बढ्नुपर्ने सुझाए। तामाङ पत्रकार संघका पूर्वअध्यक्ष प्रतीक ङेसुरले विद्युतीय माध्यम रेडियो नेपालबाट तामाङ भाषामा समाचार प्रशारण भएको २७ वर्षको उपलब्धिलाई दस्तावेजीकरण गर्नुपर्ने बताए।

कार्यक्रममा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का अध्यक्ष डण्ड गुरुङले सञ्चारका विभिन्न माध्यमबाट आफ्नो समुदायको भाषा, संस्कृति, परम्परागत ज्ञान, सीप, प्रथाजनीत संस्थासँगै अनेक पक्षबारे उठान गर्दा सम्बन्धित समुदायले पनि कहिल्यै स्याबासी नदिने गरेको गुनासो पोखे।

तामाङ पत्रकार संघका अध्यक्ष विष्णु तामाङले २०६१ देखि प्रत्येक वर्ष तामाङ प्रसारण दिवस मनाउन थालिएको र अब प्रत्येक साता तामाङ समुदायका विज्ञसँग नयाँनयाँ विषयमा छलफल आयोजना गर्ने बताएका छन्।

र, यही भदौ ५ मा केन्द्रीय समिति बैठक बसेर संघको केन्द्रीय महाधिवेशनको मिति तोकिने, त्यसअघि प्रदेश र जिल्लाको अधिवेशन हुने बताए। उनले यस वर्षको तामाङ मिडिया अवार्ड भने कोरोना महामारीका कारण स्थगित गरिएको पनि बताए।

कार्यक्रममा संघका संरक्षकहरू अमृत योञ्जन तामाङ, अजितमान तामाङ, दुपवाङ्गेल मोक्तान, धना लामा, नेपाल टेलिभिजनका महाप्रवन्धक फूलमान बल, पूर्वसंरक्षक ध्यानबहादुर मोक्तान, सल्लाहकारहरू रमिता लामा, भरत बम्जन, अमरध्वज बल, मोहनसिंह लामा, ईन्द्र घिसिङ, ईन्दिरा थिङ, सुनील लामा, पूर्वअध्यक्षहरू रवीन्द्र तामाङ, दिपेन्द्र लामा, जगतमान दोङलगायत थिए। 

Skip This
Logo