काठमाडौंको फोहोर व्यवस्थापन कहिले हुन्छ?, यसो भन्छन्, मेयर शाक्य

काठमाडौंको फोहोर व्यवस्थापन कहिले हुन्छ?, यसो भन्छन्, मेयर शाक्य


फोहोर व्यवस्थापन केन्द्र सिसडोलमा जाने सडक बिग्रिएका कारण काठमाडौं उपत्यकाका विभिन्न शहरको फोहोर उठ्न नसकेको काठमाडौं महानगरपालिकाले जनाएको छ।

हाल काठमाडौं उपत्यकाका विभिन्न शहरहरुमा फोहोर थुप्रिएका छन् भने महानगरपालिकाले केही दिनदेखि फोहोर उठाउन नसक्दा प्रदूषण बढीरहेको छ। यस सम्बन्धमा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले वर्षात्का कारण सिसडोल सडकखण्डमा पहिरो जाने तथा विग्रिने हुँदा सहजरुपमा गाडी जान नसकेका कारण फोहोर व्यवस्थापन गर्न नसकेको बताए। 

उनले वर्षात् रोकिएमा सहजरुपमा फोहोरको गाडी पठाउन सक्ने तर नरोकिएमा अझै केही दिन फोहोर नउठ्ने पनि स्पष्ट पारे। 

मेयर शाक्यले बञ्चरेडाँडाको काम छिटो सम्पन्न गरेर महानगरपालिकालाई हस्तान्तरण गर्न पनि सरकारसँग माग गरे। त्यस्तै सिसडोलदेखि बञ्चरेडाँडासम्म जाने बाटो पनि सडक विभागले छिट्टै बनाइदिए फोहोरको समस्या समाधान हुने उनको भनाइ थियो।

वडा नं. १२ को भवन शिलान्यास

काठमाडौं महानगरपालिका वडा नं. १२ को कार्यालय भवन शिलान्यास गरिएको छ। काठमाडौं महानगरपालिका वडा नं. १२ को वडा कार्यालय भवनको शिलान्यास बुधवार काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले गरे। टेकुमा निर्माण हुन लागेको वडा कार्यालय भवनको लागत अनुमान ४ करोड २५ लाख ३२ हजार ४४८ रुपैयाँ रहेको बताइएको छ। भवन ०७९ असार १५ गतेसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ। 

भवनको शिलान्यास गर्दै मेयर शाक्यले काठमाडौं महानगरपालिकाको ३२ वटै वडामा सुविधा सम्पन्न आधुनिक भवन बनाउन आफूहरु तयार रहेको बताए। बाहिरी स्वरुपमा मौलिकता कायम गर्ने र भित्र सबै आधुनिकता झल्किने गरी भवन निर्माण गरिने उनले बताए।

६ तले भवनमा कार्यालयका लागि आवश्यक कार्यकक्ष, ५० जना क्षमताको कार्यक्रम हल, भूमिगत तल्लामा पार्किङको व्यवस्था, ६ जना क्षमताको लिफ्टको व्यवस्थासमेत हुने वडा कार्यालयले जनाएको छ ।

Logo