‘तामाङ’ लेख्न र भन्न पाएको त्यो दिन…

‘तामाङ’ लेख्न र भन्न पाएको त्यो दिन…


राणा प्रधानमन्त्री भीम शमशेरले इस्तिहार जारी गरेर ‘तामाङ’ लेख्न र भन्न लगाएको ८९ वर्ष भएको छ।

उनले भारतमा ब्रिटिस सरकारको सेनामा कार्यरत सुवेदार बहादुर जंगवीर तामाङ नेतृत्वको प्रतिनिधिमण्डलको विन्ती पत्रअनुसार सम्वत् १९८९ भदौ ६ गते आइतबार जातिको रूपमा ‘तामाङ’ सरकारी कागजातमा लेख्न सँगै भन्न लगाएका थिए।

त्यसअघि तामाङ जातिलाई ‘लामाभोटे, मुर्मी, कागते, भोटे, बाह्र तामाङ, स्येंलगायत शब्द प्रयोग हुने गरेको भाषाविद् अमृत योन्जन तामाङ बताउँछन्। उनका अनुसार अपमानित रूपमा तत्कालीन शासकहरूबाट तामाङलाई तामाङ नभनेर यी शब्दहरूको प्रयोग हुन्थ्यो।

जबकि, अभिलेखहरूमा हालका तामाङ समुदायले १३ औं शताब्दीदेखि नै तामाङ भनेर आफूलाई चिनाएको खुलेको दाबी भाषाविद् तामाङको छ। 

जङ्गी निजामती सरकारी अड्डाखाना पल्टनका कागजमा पनि जातिमा तामाङ शब्द नभइ लामाभोटे, मुर्मी, कागते, भोटे, बाह्र तामाङ, स्येंलगायत प्रयोग हुने गरेको उनी बताउँछन्।

त्यही भएर सुवेदार बहादुर जंगवीर तामाङ नेतृत्वको प्रतिनिधिमण्डलले विन्तीपत्रमार्फत् ‘लामा भोटे’ भन्ने चलन चलेकोमा अरु अरु अनेक किसिमका जात थरकाहरू पनि लामा भोटे भनी बोलाइने र लेखिने हुनाले कुन भोटे के जात थरको केही छुट्टिने नभएको भन्दै तामाङ लेख्न र लेखाउन माग गरेको उल्लेख छ।

विन्ती पत्रमा भनेअनुसार नै राणा प्रधानमन्त्री भीम शमशेरद्वारा जारी इस्तिहारमा भनिएको छ, ‘अब उप्रान्त हाम्रा नेपाल सरहद गोरखा राजभरका तामाङ जातले आफ्नो जात लेख्दा लेखाउँदा तामाङ भनी लेख्ने लेखाउनु गर्नु, जङ्गी निजामती सरकारी अड्डाखाना पल्टनको कागजमा र दुनियादारको व्यवहारमा पनि बाह्र तामाङ जातका भोटेको जात लेख्दा र सो जातका भोटेलाई बोलाउँदा लामाभोटे नभनी तामाङ भनी लेख्ने बोलाउने गर्नु, इति सम्वत् १९८९ भाद्र ६ रोज १ शुभम्।’

गोरखाका राजा पृथ्वीनारायण शाहले तत्कालीन बाइसे र चौबिसे गणराज्यहरूमाथि एकीकरण गर्ने क्रममा हालको तामाङ बाहुल्य क्षेत्रमा रहेका तामाङ गणराज्यहरूमाथि पनि एकीकरण गरेको र एकीकरणपछि तामाङ समुदायमाथि अन्याय अत्याचार र उत्पीडन गरेको तामाङ इतिहासकारहरू बताउँछन्।

सोही क्रममा तामाङ जाति नाममाथि प्रतिवन्ध लगाएको बताइन्छ। यसरी शासकबाटै प्रतिवन्धित तामाङ जाति नाम शब्द पाएर जातिको रूपमा तामाङ लेख्न र भन्न पाएको दिनको सम्झनालाई विश्वभरका तामाङ समुदायले ‘तामाङ पहिचान’ दिवस मनाउँदैछन्। 

दिवसको अवसरमा भदौ ६ देखि ८ गते तीन दिन ‘तामाङ ज्ञान महोत्सव’ मनाउँदै छन्। तामाङ न्हाङखोर र तामाङ डाजाङले आयोजना गर्ने ज्ञान महोत्सवमा ‘लैंगिकता र तामाङ भाषा, संस्कृति र परम्परा, इतिहास र साहित्य, स्मृति वाचन, नेपालका विश्वविद्यालयमा तामाङ अध्ययनको सम्भावना, चुनौती, बागमती प्रदेशमा सरकारी कामकाजमा तामाङ भाषाको सम्भावना र अवसरबारे प्रस्तुतीकरण हुने भएको छ।

सरकारका पूर्वसचिव धनबहादुर तामाङ, भाषा आयोगका उपसचिव डा. लोकबहादुर लोप्चन, डा. बालकृष्ण बल, मानवशास्त्रीहरू डा. विमला तामाङ, सूर्य तामाङ, सेतेमान तामाङ, उपप्राध्यापकद्वय कुमारी लामा, सुमित्रादेवी घिसिङ लगायतको प्रस्तुतीकरण हुने छ।

भाषाविद् अमृत योन्जन तामाङ, डा. मनिष तामाङ, डा. मुक्तसिं लामा, डा. ओमकार श्रेष्ठ, डा. तारामणि राई, डा. रमेश ढुंगेललगायतले विभिन्न सत्रमा प्यानालिस्ट रहेका छन्।

उद्घाटन सत्रलाई पूर्वराजदूत डा. गणेश योञ्जन, पूर्वमन्त्री तथा सांसद हितबहादुर तामाङ, तामाङ अन्तर्राष्ट्रिय परिषद् अध्यक्ष टासी लामा, नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोले, दिल्ली विश्वविद्यालयका प्राध्यापक डा. मनिष तामाङ, प्रज्ञा प्रतिष्ठानकी मातृभाषा साहित्य विभाग प्रमुख लक्ष्मी मालीलगायतले सम्बोधन गर्नेछन्।
 

Logo