काठमाडौंमा एक रातमै १२१.५ मिलिमिटर वर्षा, किन भयाे भारी वर्षा ?

काठमाडौंमा एक रातमै १२१.५ मिलिमिटर वर्षा, किन भयाे भारी वर्षा ?


आइतबार राति काठमाडौं उपत्यकामा भारी वर्षा भएको छ। एक रातमै १२१.५ मिलिमिटर वर्षा हुँदा बागमती र यसका सहायक नदीमा बाढी आएको छ। नदी छेउका वस्ती जलमग्न भएका छन्।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालका अनुसार तीन/चार दिनदेखिको चर्काे घामपछि विकसित स्थानीय प्रणालीमा बंगलाको खाडीबाट आएको जलवाष्पयुक्त न्यून चापीय क्षेत्र मिसिदा एकाएक अतिभारी वर्षा भएको हो।

राति साढे २ बजेदेखि ६ बजेसम्म मात्र १००.५ मिलिमिटर वर्षा मापन भएको छ, जुन अतिभारी वर्षा हो। काठमाडौंमा रातिदेखि बिहान ८ः४५ बजेसम्म मात्र १२१.५ मिलिमिटर वर्षा मापन भएको छ। ‘हामीले २४ घन्टाको वर्षा भने पनि राति पानी परेको हो,’ उनले भने ।

अर्यालका अनुसार मनसुनमा मनसुनी न्यून चापीय रेखा बन्दा छरपस्ट वर्षा हुन्छ। तर आइतबार राति चैत-वैशाखझै कालोबादल मडारिएर मेघगर्जनसहित पानी परेको हो, जुन मनसुनी चरित्र होइन। आइतबार राति एकै ठाउँमा केन्द्रित वर्षा भएको उनले बताए।

बंगलाको खाडीमा विकसित न्यून चापीय क्षेत्र आइतबार साँझ मध्य र पूर्व नेपालबाट प्रवेश गरेको थियो। जलवाष्पयुक्त प्रणाली स्थानीय प्रणालीमा मिसिदा काठमाडौंमा ठूलो वर्षा भयो। 

काठमाडौंमा केही दिन यता चर्काे घामले तापक्रम पनि बढेको थियो। आइतबार मध्यरातिसम्म गर्मी नै थियो।न्युज कारखाना

Logo