वाग्मती सफाइ महाअभियान जारीः तर उठेन फोहर

वाग्मती सफाइ महाअभियान जारीः तर उठेन फोहर


वाग्मती सफाइ महाअभियानको ४३५औँ हप्तामा गुह्येश्वरीमुनिको नदी किनारमा सफाइ गरिएको छ ।  

वाग्मती किनारमा जम्मा भएको फोहर विगत दुई महिना अघिदेखि उठ्न नसक्दा नदीको बहाव क्षेत्र प्रदूषित हुने खतरा अझै बढेको छ । फोहर नउठ्दा सफाइ गरेर थुपारेको फोहर फेरि नदीमै मिसिन थालको छ । 

अभियानकर्मीले सफाइ गरेर फोहर थुपार्ने तर उठाएर व्यवस्थापन नहुने क्रम चलेकाले नदी क्षेत्र प्रदूषित हुन थालेको हो । पानी परेका दिन बाढी फोहर बगाएर लैजाने गरे पनि नपरेका दिन नदीमा फोहर देखिन थालेको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य डा माला खरेलले बताइन् ।

अधिकारसम्पन्न वाग्मती समितिका कर्मचारी र अभियानकर्मीको सक्रियतामा गुह्येश्वरी क्षेत्रको नदी किनारमा सफाइ गरिएको हो ।

सफाइबाट जम्मा भएको फोहर आज पनि किनारमै थुपारेर राखिएको छ । सफाइ महाअभियानले जम्मा पारेको फोहर काठमाडौँ महानगरपालिकाले व्यवस्थापन गर्दै आएकामा विगत दुई महिनाभन्दा लामो समयदेखि सिसडोल जाने सडक बिग्रिएको भन्दै उठेको छैन । दुई हप्ताअघि फोहर फेरि लैजान थालिएको भनिए पनि राजधानीका चोक, फुटपाथ, नदी किनारमा थुप्रो फोहर भेटिन्छ ।

उपलब्धि कम भए पनि आठ वर्षदेखि सफाइ महाअभियान आज निरन्तर जारी छ । बिहान दुई घण्टा ‘देशका लागि स्वयंसेवा’ भन्ने नाराका साथ विसं २०७० जेठ ५ गतेदेखि सफाइ अभियान जारी छ । चाडपर्व, वर्षा, जाडो, भूकम्प, कोरोना महामारीजस्ता प्रतिकूल अवस्थामा पनि सफाइ अभियान हुँदै आएको छ । 

वाग्मतीसँगै आज गुह्येश्वरीमाथिको वाग्मती, रुद्रमती, विष्णुमती, मनोहरा, ललितपुरको गोदावरी खोला, चक्रपथका उत्तरी र पश्चिम खण्डलगायत स्थानमा पनि सफाइ भएको छ । तर सफाइ भएर पनि उठ्न सकेको छैन । रासस
 

Logo