1
1
Kendrabindu - News & Articles from Nepal

0 Shares

के छ सोह्र श्राद्धका १६ दिनकाे महत्व?

1
1
1
1
1
1
1

आजबाट सोह्र श्राद्ध सुरु भएको छ। १६ दिनसम्म पितृप्रतिको सम्मान प्रकट गरिने भएकाले यस अवधिलाई सोह्र श्राद्ध वा पितृ पक्ष भनिन्छ। श्राद्ध पक्षका १६ दिनमा भाद्र पूर्णिमाको दिन पूर्णिमा तिथिको श्राद्ध गरिन्छ। यसपछि आश्विन कृष्ण पक्षका १५ दिन क्रमशः प्रतिपदादेखि अमावस्यासम्म तिथिअनुसार श्राद्ध गरिन्छ। अन्तिम दिन अर्थात् औंसीका दिन विशेष महत्वको मानिन्छ किनभने यस दिनलाई सर्वपितृ मोक्ष अमावस्या पर्छ।

पितृहरूलाई प्रसन्न पार्न उनीहरूप्रति कृतज्ञता व्यक्त गर्ने तथा हामीबाट जानअनजानमा पितृहरूको अनादर भएको छ भने उनीहरूसँग क्षमा माग्ने पर्व हो पितृ पक्ष। पितृ पक्षमा प्रत्येक तिथिका दिन मानिसहरू आफ्ना पूर्वजहरूको मृत्यु तिथिअनुसार श्राद्ध गर्छन्। जसलाई पूर्वजको मृत्यु तिथि थाहा हुँदैन उनीहरूले सर्वपितृ अमावस्याका दिन श्राद्ध गर्छन्।

श्राद्ध के हो ?

श्राद्ध पक्ष हरेक वर्ष शारदीय नवरात्र प्रारम्भ हुनुअघि आउँछ। श्राद्धको सीधा अर्थ हो आफ्ना पूर्वजहरूप्रति श्रद्धा। शास्त्रले भनेको छ– ‘श्रद्धया इदम् श्राद्धम्’ अर्थात् पितृहरूका निमित्त श्रद्धापूर्वक गरिने कर्म नै श्राद्ध हो।

श्राद्ध पक्षका क्रममा आफ्ना परिवारका ती मृत सदस्यहरूलाई याद गरिन्छ, उनीहरूप्रति सम्मान प्रकट गरिन्छ, श्रद्धान्जलि दिइन्छ। श्राद्धका क्रममा पूर्वजहरूलाई जौ, तील, कुश, पानी तथा पञ्चामृतको तर्पण दिइन्छ। तर्पण गर्नुको उद्देश्य आफ्ना पूर्वजहरूको आत्मालाई उनीहरू आज पनि हाम्रो परिवारको हिस्सा हुन्, आजसम्म पनि हाम्रो स्मृतिमा जीवित छन् र हामी आफूप्रति उनीहरूको आशीर्वादका साथै उनीहरूको प्रसन्नताको कामना गर्छौं भन्ने भाव दर्शाउनु हुन्छ।

सनातन मान्यताअनुसार श्राद्ध पक्षमा सम्पूर्ण पूर्वजहरूको आत्मा आफ्ना परिवारजनको प्रसन्नता जान्नका लागि जागृत हुन्छ। यसकारण यो समयमा गरिने तर्पणबाट उनीहरू सीधै हाम्रो श्रद्धारूपी भावना एवम् उपहार स्वीकार गर्छन् र खुसीपूर्वक आशीर्वाद प्रदान गर्छन्, जसबाट हाम्रो जीवन उन्नति मार्गमा अघि बढ्छ।

कुन दिन कसको श्राद्ध ?

श्राद्ध पक्षका १६ दिन अलग अलग व्यक्तिको श्राद्ध सुनिश्चित गरिएको छ। विशेष गरी बाबु वा हजुरबुबाको मृत्यु तिथि पारेर श्राद्ध गर्ने चलन छ। यसमा सामान्यतः आफ्नो कुलका तीन पुस्ता अर्थात् बुबा, हजुरबुबा र बूढो हजुरबुबा तथा मावलीतर्फ तीन पुस्ता अर्थात् मावली हजुरबा, बूढो हजुरबा र कुप्रो हजुरबालाई पत्नीसहित पिण्ड प्रदान गरिन्छ। तर्पण भने शास्त्रले निर्देश गरेबमोजिम सबै पितृलाई दिइन्छ।

श्राद्ध विधान

श्राद्ध पक्ष वा पितृपक्षका १६ दिनमा ‘पितृ आराधना’ का क्रममा श्राद्ध र तर्पणादि कर्म गरिन्छ।

श्राद्ध पक्षमा पितृगणका निमित्त तर्पण एवं ब्राह्मण भोजन गराउने विधान छ। शास्त्रले ‘पितरो वाक्यमिच्छन्ति भावमिच्छन्ति देवताः’ अर्थात् देवता भावले प्रसन्न हुन्छन् भने पितृगण शुद्ध र उचित विधिबाट गरिएको श्राद्ध कर्मबाट प्रसन्न हुन्छन् भनेको छ। यो १६ दिन तर्पण एवं ब्राह्मण भोजन गराउनाले पितृ तृप्त हुन्छन्।

मार्कण्डेय पुराणका अनुसार श्राद्ध पक्षका सबै दिन ‘पितृ स्तुति’ वा पितृ सूक्त पाठ गरे पितृ प्रसन्न भएर आशीर्वाद प्रदान गर्छन्। श्राद्ध पक्षमा ‘कुतप’ कालमा नित्य तर्पण गर्नुपर्छ।

पितृलाई तर्पण पितृ तीर्थ अर्थात् चोरी र बूढी औंलोको बीचबाट गर्नु पर्छ। श्राद्ध कर्म अनिवार्य हो तर त्योभन्दा महत्वपूर्ण जीवित अवस्थाका मातापिताको सेवा गर्नु हो। जसले जीवित अवस्थामै मातापतालाई सेवाले सन्तुष्ट पारेको छ उसलाई सदैव पितृहरूको आशीर्वाद प्राप्त हुन्छ।

शास्त्रले भनेको छ– ‘वित्तं शाठ्यं न समाचरेत’ अर्थात् श्राद्धमा कन्जुसी गर्नु हुँदैन, आफ्ना सामर्थ्ययबाट केही बढेर नै श्राद्ध कर्म गर्नुपर्छ।

किन १६ दिन त ?

पितृपक्ष भाद्र पूर्णिमादेखि आश्विन अमावस्यासम्म १६ दिनको हुन्छ। धर्मशास्त्रहरूका अनुसार प्रत्येकको मृत्यु यी १६ तिथि बाहेक अन्य दिन नहुने हुनाले श्राद्ध पक्ष पनि १६ दिनकै हुन्छ।

यही समयमा श्राद्ध हुनुको एक मनौवैज्ञानिक पक्ष के छ भने यो अवधिमा हामी आफ्ना पितृहरू समक्ष श्रद्धा भाव पठाउँछौँ। यो पक्ष वर्षाकाल सकिए लगत्तै आउने हुँदा आकाश निर्मल हुन्छ, जसका कारण हाम्रो संवेदना एवं प्रार्थना आवागमन हुनका लागि मार्ग सुलभ हुन्छ।

ज्योतिष र धर्मशास्त्रको भनाइमा पितृहरूका लागि यो समय किन पनि श्रेष्ठ मानिएको हो भने यो समय सूर्य कन्या राशिमा रहन्छ जुन ज्योतिष गणनाले हेर्दा पितृहरूको अनुकूल हुन्छ।

यो पक्षमा पनि केही विशेष दिन छन्। सौभाग्यवती स्त्रीको मृत्यु भएमा उनको श्राद्ध नवमी तिथिमा गर्नु पर्छ । यो तिथिलाई अविधवा नवमी मानिएको छ। पूर्वीय दर्शनमा नौको संख्या शुभ मानिन्छ।

सन्यासीहरूको श्राद्ध तिथि द्वादशीलाई मानिन्छ। हातहतियारद्वारा मारिएका मानिसको तिथि चतुर्दशी मानिएको छ।

हरेक तिथिको फरक महत्व

जसले पूर्णिमाका दिन श्राद्ध गर्छ उसको बुद्धि, पुष्टि, स्मरणशक्ति, धारणाशक्ति, पुत्रपौत्रादि एवं ऐश्वर्य वृद्धि हुन्छ। साथै उसले यो पर्वको पूर्ण फल भोग गर्न पाउँछ। 

प्रतिपदा धनसम्पत्तिका लागि निर्दिष्ट छ, यो दिन श्राद्ध गर्नेवालाको प्राप्त वस्तु नष्ट हुँदैन।

द्वितीयाको दिन श्राद्ध गर्ने व्यक्ति राजा समान हुन्छ।

उत्तम अर्थको प्राप्ति तथा शत्रु र पाप नाशको चाहना गर्नेले तृतीयाको दिन श्राद्ध गर्नुपर्छ।

पञ्चमी तिथिका दिन श्राद्ध गर्दा उत्तम लक्ष्मी प्राप्ति हुन्छ।

षष्ठी तिथिका दिन श्राद्ध कर्म सम्पन्न गर्ने व्यक्ति देवताद्वारा पुजिन योग्य हुन्छ।

सप्तमी तिथिका दिन श्राद्ध गर्नेलाई महान यज्ञको पुण्यफल प्राप्त हुन्छ भने ऊ गणको स्वामी बन्न सक्छ।

अष्टमीका दिन श्राद्ध गर्ने व्यक्तिले सम्पूर्ण समृद्धि प्राप्त गर्छ।

नवमी तिथिमा श्राद्ध गर्नेले प्रचुर ऐश्वर्य एवं मन अनुकूलकी श्रीमती प्राप्त गर्छ।

दशमी तिथिमा श्राद्ध गर्ने मानिसले ब्रह्मत्व लक्ष्मी प्राप्त गर्छ।

एकादशीका दिन गरिने श्राद्ध सर्वश्रेष्ठ दान हो। यसबाट समस्त वेदको ज्ञान प्राप्त हुनुका साथै कर्ताको सम्पूर्ण पापकर्म विनाश हुन्छ र निरन्तर ऐश्वर्य प्राप्ति हुन्छ।

द्वादशी तिथिमा श्राद्ध गर्दा राष्ट्र कल्याण तथा प्रचुर अन्न प्राप्ति हुने कुरा बताएको छ।

त्रयोदशीका दिन गरिने श्राद्धबाट सन्तति, बुद्धि, धारणाशक्ति, स्वतन्त्रता, उत्तम पुष्टि, दीर्घायु तथा ऐश्वर्य प्राप्ति हुन्छ।

श्राद्ध पक्षमा कसरी पुग्छ पितृहरूको भोजन ?

पुराणहरूका अनुसार यमलोक मृत्युलोकको माथि दक्षिणतर्फ ८६००० योजनको दूरीमा मानिएको छ। एक लाख योजनमा फैलिएको यमपुरी वा पितृलोकको उल्लेख गरूड पुराण र कठोपनिषदमा पाइन्छ।

भनिन्छ, शरीर मरेपछि आत्माहरू पितृलोकमा १ देखि १०० वर्षसम्म मृत्यु एवं पुनर्जन्मको मध्य स्थितिमा रहन्छन्। पितृहरूको निवास चन्द्रमाको उध्र्व (माथिल्लो) भाग मानिएको छ।

कसरी आउँछन् पितृ ?

सूर्यका सहस्र किरणहरूमध्ये जो सबभन्दा प्रमुख छ त्यसको नाम ‘अर्यमा’ हो। उक्त अर्यमा नामक प्रधान किरणको तेजबाट सूर्यले त्रैलोक्य प्रकाशमान तुल्याउँछ। सोही अर्यमा तिथि विशेषको वस्य अर्थात् चन्द्रमाको भ्रमण हुन्छ तब उक्त किरणको माध्यमबाट चन्द्रमाको उध्र्व भागदेखि पितृहरू धरतीमा आउँछन्।

यसै कारण श्राद्ध पक्षमा अमावस्या तिथिको ठूलो महत्व छ। अमावस्यासँगै मन्वादि तिथि, संक्रान्तिकाल, व्यतिपात, गजच्छाया, चन्द्रग्रहण तथा सूर्यग्रहण यी समस्त तिथिवारमा पनि पितृहरूको तृप्तिका लागि श्राद्ध गर्न सकिन्छ।

पितृहरूसम्म भोजन कसरी पुग्छ ?

जसरी पशुहरूको भोजन झारपात, बोटबिरुवा र मानिसको भोजन अन्नलाई मानिन्छ त्यसरी नै देवता र पितृहरूको भोजन अन्नको सार तत्वलाई मानिन्छ। सार तत्व अर्थात् गन्ध, रस र ऊष्मा।

देवता र पितृ गन्ध तथा रस तत्वबाट तृप्त हुन्छन्। यद्यपि दुवैका लागि अलग अलग प्रकारका गन्ध एवं रस तत्त्वको निर्माण गरिन्छ। विशेष वैदिक मन्त्रद्वारा विशेष प्रकारका गन्ध र रस तत्व नै पितृसम्म पुग्छ।

धुपौरोमा घिउ तथा धूपीको धूप हालेर गन्ध निर्मित गरिन्छ। त्यसैगरी विशेष अन्न अर्पित गरिन्छ। तिल, अक्षता, कुश र जलका साथ तर्पण तथा पिण्डदान गरिन्छ।

देव तीर्थ अर्थात् माझी औँलाबाट देवता वा विश्वेदेव, मनुष्य तीर्थ अर्थात् कान्छी औँलाबाट दिव्य मनुष्य तथा पितृ तीर्थ अर्थात् बूढी औँलाबाट पितृहरूलाई जल अर्पण गरिन्छ।

पितृ तथा देव योनिकाहरू निकै टाढाका कुरा सुन्दछन्, कतै टाढा गरिएको पूजा, अन्न पनि ग्रहण गर्छन् भने स्तुतिबाट सन्तुष्ट पनि हुन्छन्। यसबाहेक यी भूत, भविष्य र वर्तमानका कुरा जान्दछन् र सर्वत्र पुग्न सक्छन्।

मृत्युलोकमा गरिएको श्राद्धले तिनै मानव पितृहरूलाई तृप्त पार्छ, जो पितृलोकको यात्रामा छन्। उनीहरू तृप्त भएर श्राद्धकर्ताका पूर्वजहरू जहाँ र जुन स्थितिमा भए पनि गएर तृप्त पार्छन्।

यसकारण श्राद्धपक्षमा पितृहरूलाई पिण्डदान र तर्पण गरेर आफन्त एवं बन्धुवर्गादिलाई भोजन गराउनु पर्छ। श्राद्ध ग्रहण गर्ने नित्य पितृले श्राद्धकर्ताहरूलाई श्रेष्ठ वरदान दिन्छन्।

१६ दिन शुभ कार्य हुँदैन 

श्राद्धपक्षको सम्बन्ध मृत्युसँग छ यसकारण यो अवधिलाई अशुभ काल मानिन्छ। जसरी हामी परिजनको मृत्युपश्चात शोकाकुल अवधिमा रहन्छौँ र आफ्नाअन्य शुभ, नियमित, मंगल, व्यवसायिक कार्यलाई विराम दिन्छौँ, त्यही भाव पितृपक्षसँग जोडिएको छ।

यो १६ दिनको अवधिमा हामी पितृसँग र पितृ हामीसँग जोडिएका हुन्छन्। अतः अन्य शुभमांगलिक कार्य नगरेर हामी पितृहरूप्रति पूरा सम्मान र एकाग्रता बनाइराख्छौँ।

श्राद्धमा गाई, कुकुर र कागको महत्व

श्राद्ध पक्षमा पितृ, ब्राह्मण र आफन्तका अतिरिक्त पितृका निमित्त गाई, कुकुर र कागका लागि खानेकुरा छुट्याउने परम्परा छ। गाईको शरीरमा देवताहरूको वास हुने भएकाले गाईको महत्व छ।

कुकुर र काग पितृका वाहक हुन्। पितृपक्ष अशुभ हुने भएका कारण जुठो खानेहरूलाई ग्रास (गाँस) छुट्याउने विधान छ। कुकुर र कागमा एक भूमिचर हो भने अर्को आकाशचर। दुवै गृहस्थहरूको नजिक र सबैतिर पाइन्छ।

कुकुरले नजिक रहेर सुरक्षा प्रदान गर्छ र यो निष्ठावान पनि हुन्छ तसर्थ यसलाई पितृको प्रतीक मानिन्छ। काग गृहस्थ र पितृका बीच श्राद्धमा दिइएको पिण्ड र जलको वाहक मानिन्छ।

श्राद्धको दिन पितृ प्रार्थना

पितृहरूको ऋण चुकाउन एक जन्ममा त सम्भव नै छैन तसर्थ उनीहरूले संसार छोडेर गैसकेपछि पनि श्राद्ध गरेर उनीहरूको ऋण चुकाउने परम्परा छ। श्राद्ध गरेर हामीले जे कुरा दिने संकल्प लिन्छौँ त्यो हाम्रा पूर्वजहरूलाई अवश्य प्राप्त हुन्छ।

यसकारण ‘हे प्रभु ! मैले आफ्ना हात तपाईंका अघिल्तिर फैलाइदिएको छु, म आफ्ना पितृहरूको मुक्तिका लागि तपाईंसँग प्रार्थना गर्दछु, मेरा पितृहरू मेरो श्रद्धा भक्तिबाट सन्तुष्ट होऊन् ।’ भनेर प्रार्थना गर्दा पितृ ऋणबाट मुक्ति मिल्छ।

श्राद्धका प्रमुख प्रकार

नित्य : यो श्राद्धका दिन मृतकको निधन तिथिमा गरिन्छ।

नैमित्तिक : कुनै विशेष पारिवारिक उत्सव पुत्रजन्म, विवाह आदिमा मृतकलाई याद गर्न गरिन्छ। यसलाई नान्दिमुख श्राद्ध भनिन्छ।

काम्य : यो श्राद्ध कुनै विशेष कामना पूरा गर्न कृत्तिका या रोहिणी नक्षत्रमा गरिन्छ ।

कसले गर्ने श्राद्ध ?

आफ्नो परिवारको कल्याणका लागि पितृहरूलाई श्रद्धापूर्वक तर्पण गर्नुपर्छ। उनीहरूलाई सम्मानपूर्वक तर्पण प्राप्त भयो भने गृहस्थ वंशजलाई सुखसमृद्धिको आशीर्वाद दिन्छन् तर उनीहरूलाई केही प्राप्त भएँ भने उनीहरू निराश भई श्राप दिएर फर्कन्छन्।

शास्त्रका अनुसार श्राद्धका अधिकारी छोरा हुन्छन्। छोरा नभए श्रीमतीले श्राद्ध गर्न सक्छन्। श्रीमती पनि नभए सहोदर दाजुभाइले गर्न सक्छन्। एकभन्दा बढी छोरा भए जेठो छोरो श्राद्धको अधिकारी हुन्छ। छोरीको श्रीमान् वा छोरो पनि श्राद्धको अधिकारी हुन्छ। छोरा नभए नाति वा पनातिले पनि श्राद्ध गर्न सक्छन्।

छोरा, नाति वा पनाति नभए एकल महिलाले श्राद्ध गर्न सक्छिन्। श्रीमतीको श्राद्ध श्रीमानले छोरा छैन भने मात्र गर्न मिल्छ। छोरा, नाति, पनाति वा छोरीको छोरो नभए भतीजाले पनि श्राद्ध गर्न सक्छ। धर्मपुत्रलाई पनि श्राद्धको अधिकारी मानिएको छ।

को हुन् हाम्रा दिव्य पितर ?

धर्मशास्त्रका अनुसार पितृहरूको निवास चन्द्रमाको उर्ध्व भागमा छ। उक्त पितृलोकमा श्रेष्ठ पितरहरूको न्यायदात्री समिति छ। यमराजको गणना पितृमा हुन्छ। पितृहरूका गणको चार प्रमुख हुन्– कव्यवाडनल, सोम, अर्यमा र यम । अर्यमालाई पितृहरूको प्रधान मानिएको छ भने यमराजलाई न्यायाधीश।

यी चार बाहेक प्रत्येक वर्गका तर्फबाट सुनुवाइ गर्ने अग्निष्व, देवताका सोमसद वा सोमपा तथा गन्धर्व, राक्षस, किन्नर सुपर्ण, सर्प तथा यक्षहरूका प्रतिनिधि बर्हिष्पद छन्। यी सबै मिलेर गठित जुन जमात छ त्यही पितर हुन् । जो मृत्युपछि न्याय गर्छन्।

पितृलोकमा श्रेष्ठ पितरहरूलाई न्यायदात्री समिति सदस्य मानिन्छ। पुराण अनुसार मुख्यतः पितरहरूलाई दुई श्रेणीमा राख्न सकिन्छ– दिव्य पितर र मनुष्य पितर। दिव्य पितर त्यस जमातको नाम हो जसले जीवधारीहरूलाई उनीहरूको कर्म हेरेर मृत्युपछि कस्तो गति दिने हो त्यसको निर्णय गर्छन्। यो जमातका प्रधान यमराज हुन्।

दिव्य पितरको जमातका सदस्यगण नौ दिव्य पितर छन्। ती हुन्–अग्निष्वात्त, बर्हिष्पद, आज्यप, सोमपा, रश्मिप, उपदूत, आयन्तुन, श्राद्धभुक र नान्दीमुख । आदित्य, वसु, रुद्र तथा दुई अश्विनीकुमार पनि केवल नान्दीमुख पितरलाई छोडेर बाँकी सबैलाई तृप्त गर्छन्।

पितृहरूका प्रधान अर्यमाको परिचय

आश्विन कृष्ण प्रतिपदादेखि अमावस्यासम्म माथिको किरण (अर्यमा) र किरणसँगै पितृ प्राण पृथ्वीमा हुन्छन्। पितृहरूमा श्रेष्ठ हुन् अर्यमा। अर्यमा पितरहरूका देव हुन्। यिनी महर्षि कश्यपकी पत्नी देवमाता अदितिका पुत्र हुन् भने इन्द्रादि देवताका भाइ। पुराणअनुसार उत्तरा फाल्गुनी नक्षत्र यिनको निवास लोक हो।

अर्यमाको गणना नित्य पितरमा गरिन्छ। जडचेतनमयी सृष्टिमा शरीरको निर्माण नित्य पितृले नै गर्छन् । यिनी प्रसन्न भए भने पितरहरूलाई पनि तृप्ति मिल्छ। श्राद्ध गर्दा यिनलाई पनि तर्पण दिइन्छ। यिनी एक मात्र त्यस्ता देव हुन् जो यज्ञमा मित्र (सूर्य) तथा वरुण (जल) देवताका साथ स्वाहा को ‘हव्य’ तथा श्राद्धमा स्वधाको ‘कव्य’ दुवै स्वीकार गर्छन्।

छुटयो कि ?

प्रकाशित: ५ असोज २०७८ ०७:२५ मंगलबार

1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी