नेपालगञ्ज नाकाबाट दसैँ मनाउन घर फर्किनेको लर्को

नेपालगञ्ज नाकाबाट दसैँ मनाउन घर फर्किनेको लर्को


दसैँ नजिकिएसँगै भारतमा रोजगारी गरेर घर फर्कने नेपालीको नेपालगञ्जस्थित जमुनाह नाकामा लर्को सुरू भएको छ । 

रोजगारीका लागि भारतका विभिन्न शहर पुगेका नेपाली दसैँ मनाउन घर फर्कने गरेका छन् । दसैँ मनाउन घर फर्कने नेपालीको हरेक वर्ष सीमा नाका जमुनाहामा लर्को लाग्ने गर्दछ । 

नेपालगञ्जस्थित जमुनाहा नाका भएर दैनिक करिब एक हजार ५ सय व्यक्ति स्वदेश भित्रिरहेको जमुनाहा प्रहरी चौकीका प्रमुख प्रहरी नायब निरीक्षक पूर्ण खत्रीले जानकारी दिए । 

खत्रीका अनुसार, अहिले भारततर्फ जानेभन्दा स्वदेश फर्किनेको सङ्ख्या धेरै छ । दसैँ तिहारजस्ता महत्वपूर्ण चाडपर्व नजिकिएसँगै रोजगारीको सिलसिलामा भारतका विभिन्न शहर पुगेका नेपाली चाडपर्व मनाउन स्वदेश फर्किरहेका छन् ।

स्थानीय तथा प्रदेश सरकारले कामका लागि भारत जानेको सङ्ख्यामा कमी ल्याउने प्रतिबद्धता जनाए पनि व्यवहारमा भने लागू हुन सकेको छैन । लुम्बिनी तथा कर्णाली प्रदेशका अधिकांश युवा रोजीरोटीका लागि भारत जाने गरेका छन् । 

मौसमी रुपमा भारत जाने महत्वपूर्ण चाडपर्व र खेतीपातीको समयमा भने स्वदेश फर्किने गर्छन् । आफ्नो देशमा रोजगारी नपाउनु, पाइहाले पनि न्यून पारिश्रमिकका काम गर्नुपर्ने, औषधिमूलोसमेत राम्रो नपाइने भएपछि लुम्बिनी प्रदेश र कर्णाली प्रदेशबाट रोजगारीका लागि भारत जानेको सङ्ख्या अधिक छ ।

दसैँको बेला भारतमा रोजगारीका लागि गएका नेपाली फर्किने क्रममा नाकामा दुःख दिने र लुटपाट हुने भएकाले त्यस्ता घटना हुन नदिन सुरक्षाकर्मीलाई सजग बनाइएको बाँकेका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जनाए । 

अधिकारीका अनुसार, भारतबाट घर फर्किने नेपालीलाई सीमामा लुटपाट र दुःख दिने कार्य रोक्न भारतीय सुरक्षा अधिकारीसँगको समन्वयका साथसाथै सुरक्षाकर्मी परिचालन गरिएको छ । 

भारतबाट फर्किएका नागरिकलाई गन्तव्यसम्म पुर्याउन र उनीहरुको गुनासो सम्बोधनका लागि जमुनाहा नाकामा नागरिक सहायता कक्ष सञ्चालनको तयारीसमेत भइरहेको छ । रासस
 

Logo