आँखा शिविरमा २२५ को निःशुल्क उपचार, ३८ जनाको आँखाको शल्यक्रिया

आँखा शिविरमा २२५ को निःशुल्क उपचार, ३८ जनाको आँखाको शल्यक्रिया


गलकोट नगरपालिका–७ मल्ममा बिहीबारदेखि शनिबारसम्म चलेको निःशुल्क आँखा शिविरबाट २२५ जनाले लाभ लिएका छन्। श्रीकृष्ण–भैरव आँखा उपचार केन्द्रद्वारा आयोजित शिविरमा ३८ जनाको आँखाको शल्यक्रिया गरिएको छ।

अन्यले आँखा परीक्षण र उपचार सेवा पाएको केन्द्र व्यवस्थापन समितिका अध्यक्ष लोकबहादुर थापाले जानकारी दिए। शिविर सञ्चालनका लागि भैरहवामा रहेको श्रीकृष्ण नेत्रालयले प्राविधिक र चिकित्सकीय सेवा उपलब्ध गराएको थियो। नेत्रालयका नेत्र विशेषज्ञ डा सल्मा केसीलगायतको टोलीले आँखाको शल्यक्रिया गरेका थिए। शल्यक्रियामा लाग्ने खर्चका लागि हरिकृष्ण आई केयर फाउण्डेशन र लायन्स क्लब अफ मणिग्राम बुटवलले आर्थिक सहयोग गरेको जनाइएको छ।

अर्थाभावका कारण बेलैमा आँखाको परीक्षण गराउन नपाएका ग्रामीण भेगका सर्वसाधारण शिविरबाट लाभान्वित भएको समितिका अध्यक्ष थापाले बताए। घरगाउँमै विज्ञ चिकित्सकबाट आँखाको निःशुल्क उपचार गराउन पाउँदा बिरामीमा खुशी छाएको उनको भनाइ छ।

गत माघमा स्थापना भएको केन्द्रले आउँदा दिनमा पनि निःशुल्क शिविरलाई निरन्तरता दिने भएको छ। स्थानीयस्तरमै आँखासम्बन्धी रोगको परीक्षण एवं उपचार सेवा प्रदान गर्ने उद्देश्यले केन्द्र सञ्चालनमा ल्याइएको थियो। शल्यक्रियाबाहेक सबै उपचार सेवा केन्द्रबाट प्रदान हुने गरेकामा छिट्टै नियमित शल्यक्रिया सेवा पनि शुरु गर्ने तयारी भइहेको छ।

दृष्टि जाँच, चश्मा वितरण, आँखा पोल्ने, चिलाउनेलगायत आँखाको प्राथमिक उपचार सेवा केन्द्रबाट प्रदान हुँदै आएको छ। गलकोटमै जन्मिएकी डा. केसीको विशेष पहलमा केन्द्र स्थापना भएको हो। 
 
अहिलेलाई खाली रहेको रेडक्रस भवनबाट केन्द्र सञ्चालनमा ल्याइएपनि पछि आफ्नै भवन बनाएर अस्पतालकै रुपमा स्तरोन्नति गर्ने योजना व्यवस्थापन समितिको छ। केन्द्र खुलेपछि आँखाको सामान्य उपचारकै लागि टाढाका अस्पताल धाउनु पर्ने बाध्यता हटेको छ।

Logo