दश दिन ढिलाे गरि बाहिरियो मनसुन, यस्तो छ तीन दिनको माैसम पूर्वानुमान

दश दिन ढिलाे गरि बाहिरियो मनसुन, यस्तो छ तीन दिनको माैसम पूर्वानुमान


यस वर्षको मनसुन (वर्षा गराउने मौसम प्रणाली) पुरै नेपालबाट बाहिरिएको छ। जल तथा मौसम विज्ञान विभागले सोमबार साँझ विशेष बुलेटिन जारी गरी देशका सबै क्षेत्रबाट मनसुन हटेको जानकारी दिएको हो।

यसअघि गत शुक्रबार (असोज २२) नेपालका सुदूरपश्चिम, कर्णालीका पुरै क्षेत्र र लुम्बिनी प्रदेशको पश्चिमी भेगबाट मात्र मनसुन हटेको थियो भने बाँकी प्रदेशमा मनसुन कायमै थियो। ‘असोज २२ गते शुक्रबार (८ अक्टोबर) नेपालको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशको पश्चिमी भूभागबाट बाहिरिएको यस वर्षको मनसुन आज २०७८/६/२५ गते (११ अक्टोबर २०२१) बाट देशको समग्र भूभागबाट बाहिरिएको छ’, जल तथा मौसम विज्ञान विभागद्वारा जारी बुलेटिनमा भनिएको छ।

मौसमविद्का अनुसार नेपालबाट मनसुन बाहिरिनुपर्ने औसत मिति अक्टोबर २ तारिख नै भए पनि यस वर्ष ९ दिन ढिला मनसुन बिदा भएको हो। ​योसँगै वर्षा यामको औपचारिक अन्त्य भएको छ। मौसमविद्का अनुसार मनसुन बाहिरिनुको अर्थ अब पानी नै पर्दैन भन्ने होइन । वर्षा याममा जस्तो ठूलो तथा लगातारको वर्षा भने अब हुँदैन। अन्य विभिन्न सिस्टमले सानातिना, क्षणिक वर्षाको सम्भावना भने रहन्छ। ​

अहिले सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा सामान्य बदली रही बाकी भू भागमा आंशिक बदली रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशलाई प्रत्यक्ष प्रभाव पार्ने उल्लेखनीय मौसम प्रणाली छैन।

यस्तो छ तीन दिनको पूर्वानुमान

मंगलबार
दिउँसो: देशभर सामान्यतया सफादेखि आंशिक बदली रही पहाडी भू-भागको एक-दुई स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

राति: देशभर सामान्यतया सफादेखि आंशिक बदली रही पहाडी भू-भागका वा दुई स्थानमा मेघगर्जन/ चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ।

बुधबार
दिउँसो: देशको पहाडी भू-भागमा आंशिक बदली तथा अन्य भू-भागमा मौसम सामान्यतया सफा रही पहाडी भू-भागको एक वा दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

राति: देशको पहाडी भू-भागमा आंशिक बदली तथा अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

विहीबार
दिउँसो: देशको पहाडी भू-भागमा आंशिक बदली तथा अन्य भू-भागमा मौसम सामान्यतया सफा रही प्रदेश १ र बाग्मती प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

राति: देशको पहाडी भू-भागमा आंशिक बदली तथा अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १ र बाग्मती प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

Logo