सप्तरीमा आज भएको दुर्घटनामा तीन जनाको मृत्यु

सप्तरीमा आज भएको दुर्घटनामा तीन जनाको मृत्यु


सप्तरीमा आज भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। सप्तरीको खडक नगरपालिका–४ अमहास्थित पूर्व–पश्चिम राजमार्गमा भएको दुर्घटनामा दुई र शम्भुनाथ नगरपालिका–८ मिलन चोकस्थित पूर्व–पश्चिम राजमार्गमा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा. ५६ प २५१५ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको स. ५ प ८४३४ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएर दुवै मोटरसाइकलमा सवार एक/एक जनाको मृत्यु भएको हो। 

दुर्घटनामा बा. ५६ प २५१५ नम्बरको मोटरसाइकल सवार झापाको शिवसतासी नगरपालिका–६ बस्ने २२ वर्षीय विवेक सापकोटा र स. ५ प ८४३४ नम्बरको मोटरसाइकल सवार झापाको भद्रपुर नगरपालिका–४ बस्ने वर्ष २१ का दयाराम सिंह राजवंशीको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ। महोत्तरीको मटिहानी नगरपालिका–७ बस्ने ३५ वर्षीय चन्दनकुमार साह गम्भिर घाइते भएका छन्। घाइतेलाई उपचारार्थ विराटनगरतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले बताए। 

यसैगरी शम्भुनाथ नगरपालिका–८ मिलन चोकमा भएको दुर्घटनामा स.२ प ३३३३ नम्बरको मोटरसाइकल पछाडि सवार सप्तरीको बलान बिहुल गाउँपालिका–६ रौतहटका ४० वर्षीय प्रमोद मण्डलको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मोटरसाइकललाई पछाडिबाट ना.५ ख ९००० नम्बरको यात्रुवाहक बसले ठक्कर दिएको थियो। बसको ठक्करले गम्भिर घाइते मण्डललाई सप्तऋषि अस्पताल लहानमा उपचार हुन नसकेपछि थप उपचारको लागि न्युरो अस्पताल विराटनगर पठाइएको थियो। उपचारको क्रममा मण्डलको मृत्यु भएको प्रनाउ काफ्लेले बताए। मोटरसाइकल चालक बलान बिहुल गाउँपालिका–६ रौतहटका ३२ वर्षीय अमरनाथ यादव सामान्य घाइते भएका छन्। दुर्घटनाग्रस्त बस नियन्त्रणमा लिनुका साथै चालक चितवनको माडी नगरपालिका–४ का ३७ वर्षीय सुरेश रिमाललाई प्रहरीले पक्राउ गरेको छ।रासस

Skip This
Logo