पूर्णिमाकाे पौराणिक महत्व के छ?, कुन पूर्णिमाका दिन कुन पर्व मनाइन्छ?

पूर्णिमाकाे पौराणिक महत्व के छ?, कुन पूर्णिमाका दिन कुन पर्व मनाइन्छ?


वैदिक सनातन संस्कृतिको चन्द्रमान अनुसारको पञ्चाङ्गमा सबै तिथिहरू देवीदेवताहरूप्रति समर्पित छन् र तिनका फरकफरक महत्व छन्। यी तिथिहरूमा कुनै तिथिका खास महत्व छन् र यी तिथिहरूमा व्रत, उपवास एवं आराधना गर्नाले मानिसका सम्पूर्ण कामना पूरा हुने बताइएको छ। यस्तै एक तिथि हो पूर्णिमा।

पञ्चाङ्गमा तिथिहरूको निर्धारण चन्द्रमाको घटबढ हुने कलाका आधारमा गरिएको छ। पूर्णिमा तिथिमा चन्द्रमा आफ्नो पूरा आकारमा देखा पर्दछ भने औंसी तिथिमा चन्द्रमा कत्ति पनि देखिँदैन। औंसीको भोलिपल्ट अर्थात् परेवाको चन्द्रदर्शनका दिनदेखि पूर्णिमासम्मको समयलाई शुक्ल पक्ष भनिन्छ। यो तिथिको एउटा विशेषता के छ भने यसै दिनबाट महिनाको समाप्ति हुन्छ। किनभने महिनाको सुरुमा कृष्ण पक्ष र अन्तमा शुक्ल पक्ष पर्दछ।

ज्योतिष र विज्ञान दुवैमा पूर्णिमा तिथिको खास महत्व बताइएको छ। यसै दिन चन्द्रमा आफ्नो पूरा प्रभावका साथ देखा पर्दछ यसकारण मानव मनमा पनि यसको प्रभाव पर्दछ। यसै तिथिमा समुद्रमा ज्वारभाटा आउँछ । पानी चन्द्रमाको आकर्षणमा खिचिएर मास्तिर उठ्छ। मानव शरीर पनि ७० प्रतिशतभन्दा बढी पानीले बनेको छ यसकारण यस दिन मानिसको स्वभावमा परिवर्तन देखा पर्दछ। चन्द्रमाको प्रभावले शरीरभित्र रगतका न्युरोन सेल्स क्रियाशील हुन्छन् र यस्तो स्थितिमा मानिस उत्तेजित वा भावुक हुन्छ।

एक वर्षमा १२ महिना हुन्छ। यस हिसाबले एक वर्षमा १२ वटै पूर्णिमा हुन्छन्। वर्षका सबै पूर्णिमामा भक्तजनले व्रत वा उपवास राख्छन्। यी सबै पूर्णिमामा कुन न कुनै व्रत, जात्रा वा पर्व मनाइन्छन्।

पूर्णिमाका दिन मनाइने पर्व

चैत्र पूर्णिमाका दिन हनुमान जयन्ती पर्दछ। चैत्र शुक्ल प्रतिपदामा संवत्सर आरम्भ हुने भएकोले यो पूर्णिमालाई नै वर्षको पहिलो पूर्णिमा मानिन्छ।

वैशाख पूर्णिमाका दिन बुद्ध जयन्ती पर्दछ।

ज्येष्ठ पूर्णिमाका दिन वट सावित्री व्रत पर्दछ।

आषाढ पूर्णिमाका दिन गुरु पूर्णिमा एवं व्यास जयन्ती पर्दछ। यस दिन गोपदम व्रत राखिन्छ र भगवान् विष्णुकाे पूजा गरिन्छ।

श्रावण पूर्णिमा जनै पूर्णिमाका नामले चिनिन्छ यस दिन रक्षाबन्धन पर्दछ।

भाद्र पूर्णिमाका दिन उमामहेश्वर व्रत पर्दछ।

आश्विन पूर्णिमा कोजाग्रत पूर्णिमाका नामले प्रसिद्ध छ यस दिन शारदीय उत्सव मनाइन्छ।

कार्तिक पूर्णिमाका दिन गुरु नानक जयन्ती पर्दछ। यस दिन पुष्कर मेला पनि लाग्छ।

मार्गशीर्ष पूर्णिमाका दिन दत्तात्रेय जयन्ती पर्दछ। याे धान्य पूर्णिमाका नामले प्रसिद्ध छ। याे दिन पहाडी क्षेत्र र अन्य स्थलमा बसोबास गर्ने पहाडी समुदायले कुल पूजा र गोठ पूजा गरी गैडु पूजा गर्ने विधान छ। किरात समुदायको उँधौली पर्व पनि आजै मनाइन्छ। नेवारहरूले याे पूर्णिमालाई योमरी पुन्ही भन्दछन्।

पौष पूर्णिमाका दिन शाकम्भरी जयन्ती पर्दछ। यस दिनदेखि माघस्नान, स्वस्थानी व्रत एवं शालीनदीमा मेला सुरु हुन्छ। पाैष सूर्यकाे महिना मानिन्छ र पूर्णिमा चन्द्रमाकाे तिथि। यसरी याे दिन सूर्य र चन्द्रकाे दुर्लभ मिलन देख्न सकिन्छ।

माघ पूर्णिमाका दिन सन्त रविदास एवं भैरव जयन्ती पर्दछ।

फाल्गुन पूर्णिमा फागु पूर्णिमाका नामले चर्चित छ, यस दिन होली मनाइन्छ।  होली वसन्त ऋतुको सुरुवाती चरणमा मनाइने पर्व हो।

Logo