लेउती खोलाको बाढीले कोसी राजमार्ग बगायो, धरान-धनकुटा सडक पूर्णरूपमा अवरुद्ध

लेउती खोलाको बाढीले कोसी राजमार्ग बगायो, धरान-धनकुटा सडक पूर्णरूपमा अवरुद्ध


अविरल परेको पानीका कारण लेउती खोलामा आएको बाढीले सडक बगाउँदा कोसी राजमार्गअन्तर्गत धरान-धनकुटा सडक पूर्ण रूपमा अवरुद्ध बनेको छ।

लेउती खोलाको बाढीले साँगुरीगढी गाउँपालिका-६ फेदीमा करिव ५० मिटर सडक बगाएको सडक डिभिजन कार्यालयका सुपरभाइजर अमृता राईले बताइन्। मंगलबार दिउँसो ४ बजेतिर पानीको बहाव बढेसँगै लेउती खोलाको धार परिवर्तन भई कोसी राजमार्गमा सडकमा पसेको थियो।

उनका अनुसार क्षति भएको सडकसम्म जाने स्थिति नै छैन। खोला उर्लिएको छ। बालुवा तथा माटोसहितको बाढी आइरहेको छ।

बाटो बगाएपछि अहिले सडक पूरै अवरुद्ध छ। धरानदेखि आएका र धनकुटाबाट गएका गाडीहरू बाटोमा नै रोकिएका छन्। सडक बगाएपछि धनकुटासहित तेह्रथुम, भोजपुर तथा संखुसभाबाट तराई जाने तथा तराईबाट धनकुटासहित तेह्रथुम, भोजपुर तथा संखुवासभा जाने यातायातका साधन बाटैमा रोकिँदा सयौँ यात्रु बीच बाटोमै अलपत्र परेका छन्। पानीको बहाव बढेका कारण सडकमा अझै क्षति हुने सम्भावना रहेको उनले बताइन्।

राईका अनुसार तत्काल कुनै वैकल्पिक बाटो बनाउने स्थिति छैन। यसकारण चाँडै सडक खुल्ने सम्भावना पनि छैन। अविरल रूपमा पानी परिरहेका कारण राजमार्गका वरपरि पहिरोको संभावना अझ बढेको छ। बढीले सडक बगाएको क्षेत्रमा कुनै बस्ती रहेको छैन।

बाटो बगाएदेखि तीन मिटर वर फेदी खोलामा पुल रहेको छ। त्यहाँ केही होटल र स्थानीयको घर रहेका छन्।

जिल्ला सदरमुकामदेखि सुरक्षाकर्मीको टोली बाटो बगाएको स्थानमा पुगेकाे बताइएको छ। यता, जिल्ला ट्राफिक प्रहरी कार्यालय धनकुटाका प्रमुख सुरेन्द्र खड्काले कोसी राजमार्गका विभिन्न ठाउँमा पहिरो गइरहेको बताए। उनका अनुसार सदरमुकाम मास्तिरको सल्लेरीमा रूख ढल्दा बाटो अवरुद्ध बनेको छ। त्यहाँ सुरक्षाकर्मी र स्थानीयले रूख पन्छाएका छन्। उनले भने, 'ठाउँठाउँमा रूख ढलेका छन्। ढलेका रूख पन्छाउने काम भइरहेको छ। लगातार पानी परिरहेकोले थप क्षति हुने संभावना छ।'

यस्तै, हिले-भोजपुर सडक पनि अवरुद्ध भएको छ। हिले-भोजपुर सडक खण्डअन्तर्गत पाख्रिवास नगरपालिका- ६ डिकुरेमा सडक अवरुद्ध बनेको हो। सडकमाथिबाट लेदो माटोसहित ढुंगा निरन्तर बगिरहेको छ। बाटो खुलाउन प्रहरी र डोजर घटनास्थल पुगे पनि निरन्तर वर्षाका कारण सडक खुलाउन नसकिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख प्रहरी उपरीक्षक नहकुल पोख्रेलले जानकारी दिए।न्युज कारखाना

Skip This
Logo