महाकाली नदीमा बनेकाे टापुमा फसेका पाँच जनाको १८ घण्टापछि उद्धार

महाकाली नदीमा बनेकाे टापुमा फसेका पाँच जनाको १८ घण्टापछि उद्धार


कन्चनपुर जिल्लास्थित महाकाली नदीको भङ्गालोमा फसेका भीमदत्त नगरपालिका मछेट्टीका एकै परिवारका पाँच जनालाई १८ घण्टापछि उद्धार गरिएको छ। सोमबार मध्यरातमा महाकाली नदीको जलस्तर वृद्धि भएसँगै महाकाली नदीकाे भङ्गालो गाउँ पसेपछि बीचमा फसेका पुष्करसिंह नायकको पाँच जनासहितकाे घर परिवारको उद्धार गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय कन्चनपुरका प्रहरी प्रमुख उमाप्रसाद चतुर्वेदीले प्रहरीलाई सोमबार मध्यरातमा नायक परिवार फसेको खबर आएसँगै प्रहरीले विभिन्न निकायसँग समन्वय गरेको बताए । उनका अनुसार मंगलबार साँझ साढे ५ बजे फसेको स्थानबाट नेपाली सेनाको हेलिकोप्टरमार्फत सुरक्षित स्थानतर्फ उद्धार गरिएको हो। पुष्करसिंह नायक, शान्ति नायक, सुरज नायक, अर्जुन नायक र अशोक नायकको उद्दार गरी नजिकै बस्तीमा राखिएको छ।

बाँच्ने आस गुमाएका नायक परिवारलाई सरकारकाे पहलमा सेनाको हेलिकोप्टरमार्फत उद्धार गरेपछि उनीहरू खुसी भएका छन्। कन्चनपुरको दुर्गम बस्तीका रूपमा परिचित खल्लामछेट्टी जिल्लाकाे सदरमुकाम महेन्द्रनगरबाट ३८ किलोमिटर उत्तर क्षेत्रमा पर्छ।

उक्त बस्ती बाढीको उच्च जोखिममा रहेको छ। खल्लामछेट्टीका स्थानीय युवा किसनसिंह खड्काले दुर्गम बस्तीका नागरिक विपद्को जोखिममा पर्दा ढिलै भए पनि सरकारले उद्धार गरेको भन्दै राज्यको आभास भएको बताए। उनका अनुसार सो गाउँमा झण्डै १०० परिवार डुबानमा परेका छन्।

तटीय क्षेत्रका स्थानीय डुबानमा परेसँगै सुरक्षित भागतिर सरेका छन्। ब्रह्मदेवदेखि उक्त बस्ती जाने सडकसमेत चुरेबाट बग्ने खोला र महाकाली नदीको भङ्गालोका कारण जिल्लासँग सम्बन्ध बिच्छेद भएको खड्काले बताए।न्युज कारखाना

Logo