बाढीमा फसेका छ परिवारलाई सुरक्षित स्थानमा सारियो, धरान-विराटनगर जाने सडक बन्द

बाढीमा फसेका छ परिवारलाई सुरक्षित स्थानमा सारियो, धरान-विराटनगर जाने सडक बन्द


सुनसरीको तरहरास्थित पानीपियामा बाढीमा फसेका छ घर परिवारलाई सुरक्षाकर्मीले उद्धार गरेको छ।

नेपाल प्रहरी र नेपाली सेनाले ती घर परिवारका १५ जनालाई उद्धार गरेको हो। उनीहरूलाई घण्टौँ लगाएर उद्धार गरिएको इलाका प्रहरी कार्यालय तरहराका प्रहरी नायव निरीक्षक मनोज अधिकारीले जानकारी दिए।

यस्तै, निरन्तरको वर्षाले सुनसरीको इटहरी उपमहानगरका अधिकांश क्षेत्र डुबानमा परेका छन्। इटहरीका बुढी खोला, टेङ्ग्रा खोला र खेती खोला मानव बस्तीमा पसेसँगै डुबान बनेको हो। इटहरी चोक, तरहरा, बरगाछीलगायतका स्थानमा डुबान भएको छ।

डुबानका कारण कतिपय बस्तीमा मानिसहरू फसेका छन्। उनीहरूको उद्धार गर्ने काम भइरहेको छ। वर्षाकै कारण इटहरीदेखि धरान जाने मुख्य सडक खण्डसमेत अवरुद्ध भएको छ। त्यस्तै, इटहरीदेखि विराटनगर जोड्ने सडकमा समेत आवतजावत बन्द भएको छ।

Logo