यलम्बरकाे शालिक राख्न सय वटा चिहान भत्काइयाे, स्थानीयकाे विराेधपछि काम ठप्प

यलम्बरकाे शालिक राख्न सय वटा चिहान भत्काइयाे, स्थानीयकाे विराेधपछि काम ठप्प


खोटाङमा १४ कराेड खर्चेर प्रथम किराती राजा यलम्बर हाङको शालिकसहितको पार्क बनाउन एक सय वटा चिहान भत्काइएकाे छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४ बुईपाकाे पञ्चरदोबाटोमा चिहान भत्काइएपछि स्थानीयले विराेध जनाएका छन्। त्यहाँ यलम्बरकाे एक सय फिट अग्लाे शालिक राखिँदैछ।

१५-२० वटा चिहान भत्काउने र कंकाल,अवशेष संकलन गरेर आत्मघर बनाएर राख्ने भनिए पनि एक सयभन्दा बढी चिहान भत्काइएको नवगठित भूमिपुत्र किरात उपभोक्ता समितिका डार्विन राईले बताए। चिहान भत्काइएपछि उपभोक्ता समितिमा आवद्ध स्थानीय विरोधमा उत्रिएका छन्। विरोधकै कारण ७ कात्तिकदेखि शालिक तथा पार्क निर्माणकाे काम अगाडि बढ्न सकेकाे छैन। २ कात्तिकमा शालिक तथा यलम्बर पार्क शिलान्यास गरिएको थियो।

तर, बुईपाका वडाध्यक्ष दिनेश राई चिहानको व्यवस्थापन गर्ने सहमतिमा काम अघि बढे पनि 'मान्छे उचालेर' विवाद निकालिएको बताउँछन्। साविकको बुईपा-३, ५, ९ लगायतका राई समुदायले सो स्थानमा चिहान बनाएका छन्। त्यहाँ करिब २ सय ८८ चिहान छन्।

समितिले शालिक राख्ने स्थान परिवर्तनकाे माग गरेकाे छ। आइतबार वडा कार्यालयमा १० बुँदे लिखित ज्ञापनपत्र बुझाइएकाे छ।

समस्या समाधानकाे प्रयास भइरहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले रिजालले बताए। ‘प्रायः डाँडामा समाधिस्थल हुन्छन् नै। संरचना बनाउँदा खन्नैपर्छ, खन्दाखेरी केही अवशेष निस्केको हो। अवशेष निस्कन्छ भनेरै सबैको सम्झना हुनेगरी आत्मघर बनाएर राख्ने सल्लाह पहिलादेखि भएकै थियो,’ मेयर रिजालले भने, ‘असन्तुष्टि आउनु स्वभाविक हो। यो मानवीय संवेदनासँग सम्बन्धित विषय भएकाले चाँडै नै समाधान गरेर काम अगाडि बढाउने भन्ने नै छ।’ 

नगरपालिकाको ३० प्रतिशत र प्रदेश १ को ७० प्रतिश गरी १४ करोडको लागतमा शालिकसहितकाे पार्क निर्माणको याेजना अगाडि बढेकाे हाे। उमा–तुवाचुङ-अनसुवी जेभीले निर्माणकाे ठेक्का लिएकाे छ।न्युज कारखाना

Logo