तिहार विशेषः भाइटीकामा के उपहार दिने?, यी सामान उपयुक्त हुन सक्छन्

तिहार विशेषः भाइटीकामा के उपहार दिने?, यी सामान उपयुक्त हुन सक्छन्


दसैं सकियो र हामी सामू तिहार पनि आइसकेको छ। तिहारमा दिदीबहिनी वा दाजुभाइले आफ्नो क्षमताअनुसार उपहार लिने दिने चलन छ। यसमा पछिल्ला केही वर्ष यता परिवर्तन पनि भएको छ। 

यमपञ्चकको पाँचौ दिन भाइटीका हो। यो चाड दाजुभाइ र दिदीबहिनी भेटघाट हुने र सम्बन्ध प्रगाढ बनाउने अवसर पनि हो। दिदीबहिनीले आफ्ना दाजुभाइको सुख, समृद्धि एवं दीर्घायुको कामनाको साथ यो पर्व मनाइन्छ।

भाइटीकाका बारेमा एउटा कथन पनि चर्चित छ । परापूर्वकालमा बहिनी यमुनाले यसैदिन दाजु यमराजलाई विशेष मानसम्मान गर्दै भाइपूजा गरेको धार्मिक विश्वास छ। यमपञ्चकका पाँच दिन यमराजले यमुनाको घरमा बास गर्छन् भन्ने हाम्रो धार्मिक विश्वास छ। भाइ तिहारको दिन दीयो, कलश र गणेशको पूजा गर्ने, यमराजको आह्वान गर्ने, बिमिरो, ओखर, तेल, मखमलीको माला, दूबोको टीका, कटुस आदिको प्रयोगमा आफ्ना दिदीबहिनी र दाजुभाइको सुख, समृद्धि, आरोग्य एवं दीर्घायुको कामना गरिन्छ।

भाइटीकामा दिदीबहिनीले दाजुभाइलाई पूजा गरि मिष्ठान्न भोजन खुवाइन्छ भने दाजुभाइले दिदीबहिनीलाई उपहार दिने चलन छ। यद्यपि पछिल्लो समय भने एकअर्कालाई उपहार दिने चलनको पनि सुरु भएको छ।

उपहार के दिने ?
चकलेट
कुनै पनि उत्सव मिठाई विना अधुरो हुन्छ। त्यसमा तिहारको मसला मिसाएर दिन सकिन्छ । यसले स्वास्थ्यमा पनि फाइदा पुर्याउँछ। बजारमा विभिन्न प्रकारका चकलेट उपलब्ध छन्। गिफ्ट दिँदा प्याकेजिङ राम्रोसँग गरेर दिँदा एक आपसमा सम्बन्ध प्रगाढ हुन्छ। चकलेटले एकअर्कासँग बिताएका बाल्यकालको याद दिलाउँछ। चकलेट त्यति धेरै महंगो पनि पर्दैन।

स्मार्ट घडी
अहिलेको समयमा गिफ्टको परफेक्ट अप्सन हुन सक्छ स्मार्ट घडी। बजारमा विभिन्न ब्राण्डका घडी उपलब्ध छन्। नेपाली बजारमा घडीको मूल्य १ हजारदेखि शुरु हुन्छ।

ह्याण्ड ब्याग
प्रायः केटीहरु ब्यागको सौखिन हुन्छन्। यस्तोमा दाजुभाइको लागि राम्रो अप्सन हुन सक्छ । नेपाली बजारमा थुप्रै प्रकारका स्वदेशी तथा विदेशी ब्राण्डका ब्यागहरु उपलब्ध छन्। नेपाली बजारमा ब्यागको मूल्य ५ सयदेखि शुरु हुन्छ। दिदीबहिनीहरुले पनि दाजुभाइलाई ब्याग अथवा वालेट उपहारस्वरुप दिन सकिन्छ।

स्मार्ट फोन वा ग्याजेट
चाडपर्वको अवसर पारेर इलेक्ट्राेनिक कम्पनीहरुले नयाँ नयाँ ग्याजेटहरु विशेष छुट या अफरमा बजारमा ल्याएका हुन्छन्। बिशेषतः दिदीबहिनीलाई स्मार्टफोन उपहारका रुपमा दिन सकिन्छ । बजारमा विभिन्न कम्पनीका फोनहरु सस्तो मूल्यमा उपलब्ध भएकाले स्मार्टफोन तपाईंका लागि राम्रो उपहार सामग्री बन्न सक्छ।

ज्वेलरी
ज्वेलरी दिदीबहिनीहरुका लागि सबैभन्दा मन पर्ने गिफ्ट हो। त्यसकारण आफ्नो गच्छे अनुसारका ज्वेलरीलाई उपहारका रुपमा दिन सकिन्छ । कपडासँग म्याचिङ ज्वेलरी पनि दिन सकिन्छ । ज्वेलरी उपहार दिँदा सरप्राइजका रुपमा दिन सके झन राम्रो हुन्छ।

सजावटको सामान
दिदीबहिनीहरु घरको सजावटमा धेरै रुचि राख्छन्। तिहारको अवसरमा घर सजावटको सामान पनि दिन सक्नु हुनेछ। कुनै शो पिसहरु गिफ्ट दिँदा एक अर्काको सम्बन्ध पनि सुमधर हुन्छ।

भगवानको मूर्ति
भगवानको मूर्ति गिफ्ट दिनुलाई शुभ मानिन्छ। त्यसैले देवीदेवताका मेटलको मुर्ति गिफ्ट गर्न सक्नु हुनेछ । यसको मूल्य ५ सयदेखि २५ हजार रुपैंयाँसम्म पर्छ। लक्ष्मी, गणेश, शिव–पावर्ती, राधा–कृष्ण, बुद्धको मूर्तिलाई उपहारका रुपमा दिन सकिन्छ।

पेन्टिङ
भाइटीकामा पेन्टिङ गिफ्ट दिँदा राम्रो हुन्छ। तिहारमा घर सरसफाई गर्ने गरिन्छ। त्यसकारण घरको पुरानो सामान सबै फ्याकिने भएकाले पेन्टिङ राम्रो अप्सन हुन सक्छ। पेन्टिङको साथै कुनै राम्रो आर्ट पिस पनि गिफ्ट गर्न सकिन्छ।

कपडा
बजारमा चलेको फेसनको कपडा पनि राम्रो अप्सन हुन सक्छ। विभिन्न किसिमका कपडा बजारमा उपलब्ध छन्। जाडो सुरु भएकाले जाडोको कपडा गिफ्ट दिनु पनि उपयुक्त हुन्छ।

सनग्लास
सनग्लास पनि राम्रो गिफ्ट हुन सक्छ । नेपाली बजारमा विभिन्न ब्रान्डका सनग्लास उपलब्ध छन्। अहिले फेसनमा भएको सनग्लास दिन सकिन्छ । यो निकै उपयोगी गिफ्ट हुन सक्छ । नेपाली बजारमा यसको मूल्य ५ सयदेखि शुरु हुन्छ ।

अन्य
तिहारमा दाजुभाइ र दिदीबहिनीले एक अर्कालाई गिफ्टमा उपन्यास, कुनै जीवन उपयोगी किताबहरु, कथाका किताब, कुनै प्रख्यात व्यक्तिको जीवनीहरु पनि दिन सकिन्छ। त्यस्तै, मेकअपमा रुचि हुनेहरुलाई मेकअपको सामानहरु पनि दिन सकिन्छ। त्यस्तै दाजुभाइलाई पर्स, मफलर, टोपी, पञ्जा, ज्याकेट, टिसर्ट, स्वेटर, जुत्ता आदि उपहार दिन सकिन्छ।

यी सबै कुराहरु भन्दा ठूलो र महत्वपूर्ण कुरा भनेको आफ्नो क्षमता कस्तो छ त्यसमा भर हुन्छ। यदि तपाईंसँग उपहार दिने मन त छ तर धन छैन भने उपहार दिनै पर्छ भन्ने हुँदैन। त्यस्तो बेला फूलको थुँगो पनि उपहारका लागि पर्याप्त हुन सक्छ। यसमा भने सबैले सोचविचार गर्नु पर्छ। गच्छे अनुसार चाडपर्व मनाउनु नै उपयुक्त हुन्छ।

Logo