उदयपुरमा ट्याक्टर दुर्घटना: एक जनाको मृत्यु, १९ जना घाइते

उदयपुरमा ट्याक्टर दुर्घटना: एक जनाको मृत्यु, १९ जना घाइते


उदयपुरको गाईघाटबाट ताप्ली गाउँपालिका जाँदै गरेको ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने १९ जना घाइते भएका छन् । मदन भण्डारी लोकमार्ग अन्तर्गत उदयपुरगढी गाउँपालिका–६ दनुवारबेसीमा ट्याक्टर दुर्घटना हुँदा त्रियुगा नगरपालिका–९ गैरुनका ४० वर्षीय बौका सदाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए । 

गाईघाटबाट ताप्ली गाउँपालिका भवनको ढलानका लागि मजदुर लिएर हिडेको प्र २–०१–००१ त १०८३ नम्बरको ट्याक्टरमा सवार सदाको जिल्ला अस्पताल गाईघाटमा उपचारको क्रममा ज्यान गएको हो । ताप्ली गाउँपालिका भवन ढलानका लागि हिँडेका मजदुर गाईघाटबाट बिहान ५ बजे हिँडेका थिए । उदयपुरगढी गाउँपालिका– ६ दनुवारबेसीमा बिहान  ८ः५० बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

दुर्घटनामा घाइते भएको सदाको उपचारको क्रममा ज्यान गएको हो । दुर्घटनामा घाइतेमध्ये त्रियुगा नगरपालिका–९ गैरुनका मृतक सदाका श्रीमती ४० वर्षीया नारायणवति सदा, १६ वर्षीय सकुन सदा, त्रियुगा नगरपालिका–१० करमगाछीका ट्याक्टर चालक २० वर्षीय दिवस सार्की गम्भीर घाइते भएका छन् । गम्भीर घाइते तीनै जनालाई जिल्ला अस्पताल गाईघाटमा उपचारपछि थप उपचारका लागि विराटनगर पठाएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । 

अन्य १५ जना सामान्य घाइतेहरूलाई उपचारका लागि घटनास्थलबाट जिल्ला अस्पताल ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ । उनीहरू सबै गाईघाटबाट ताप्ली गाउँपालिका रुपाटारमा भवन ढलानको लागि जाँदै गरेको अवस्थामा ट्याक्टर अनियन्त्रित भई दुर्घटना भएको थियो ।

Logo