एउटै कोठामा सुतेका सातमध्ये चार जनाकाे मृत्यु, तीन जनाकाे अवस्था गम्भीर

एउटै कोठामा सुतेका सातमध्ये चार जनाकाे मृत्यु, तीन जनाकाे अवस्था गम्भीर


नेपालगञ्जमा बिहीबार बिहान एकै परिवारका एउटै कोठामा सुतेका सात जनामध्ये चार जनाको निसास्सिएर मृत्यु भएको छ भने तीन जना गम्भीर अवस्थामा भेटिएका छन्।

कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालय खरिद तथा आपूर्ति शाखा हाल नेपालगञ्जमा कार्यालय सहयोगी तथा लोडर प्याकरको रुपमा कार्यरत कालीकोट खांडचक्र-६ निवासी २३ वर्षीय धर्मप्रसाद भट्टराईसहित चार जनाको मृत्यु भएको बाँके प्रहरीले जनाएको छ।
 
भेरी अस्पताल परिसरमा रहेको मृतक भट्टराईको क्वाटरको एउटै कोठामा सुतेका सात जनामध्ये चार जना बिहीबार बिहान मृत अवस्थामा भेटिएका छन् भने तीन जना बेहोसी अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय बाँकेका सहप्रवक्तासमेत रहेका प्रहरी निरीक्षक खिमबहादुर घर्तीमगरले जानकारी दिए।

सो घटनामा परेर मृत्यु हुनेमा मृतक भट्टराईको तीन महिनाको छोरा इप्सन भट्टराई, आमा ४५ वर्षीया कोकीला भट्टराई, २७ वर्षीय दिदी नन्दकली भट्टराई मृत्यु भएको अवस्थामा भेटिएको उनले बताए।

सो घटनामा परेर गम्भीर अवस्थामा रहेकी २४ वर्षीया सुशीला भट्टराई, तीन वर्षीय दिवश भट्टराई र १८ वर्षीय नरेन्द्र भट्टराईको भेरी अस्पतालको सघन कक्षमा उपचार भइरहेको छ। सुशीला मृतक भट्टराईकी श्रीमती, नरेन्द्र भाइ र दिवश छोरा हुन्।

प्रहरीले घटनास्थललाई नियन्त्रणमा लिएर कुकुरसहितको टिमले अनुसन्धान गर्दा टिनको बाकसमा कोइला बालेर सकिएको अवस्थामा भेटिएको  प्रहरी निरीक्षक घर्तीमगरले बताए। उनले घटनाको अनुसन्धान सुरु गरको जानकारी दिए।

बुधबार बिहानैदेखि परेको झरीका कारण जाडो बढेसँगै कोइला बालेर एकै कोठामा सात जना सुतेकोमा कार्बन मोनोअक्साइड जस्तो ग्याँसका कारण अक्सिजनकाे मात्रा घटन गई श्वासप्रश्वासमा समस्या भई निस्सासिएर मृत्यु भएको हुनसक्ने भेरी अस्पताल नेपालगञ्जका प्रमुख कन्सल्टेन्ट फिजिसिएन तथा मेडिसिन विभाग प्रमुख डा राजन पाण्डेले जानकारी दिए।

उनले भने, ‘घटनाको कारण मृतकको पोष्टमार्टमले पनि खुलाउनेछ। तर, प्रारम्भिक अवस्थामा हेर्दा अक्सिजनको अभावको कारण मृत्यु भएको देखिएको छ।’ उनले उपचारमा रहेका तीनमध्ये एकको अवस्था गम्भीर रहेको र तीनै जनालाई भेरी अस्पतालको सघन कक्षमा राखेर उपचार सुरु गरिएको बताए ।

मृतक भट्टराई कार्यरत कार्यालयका फार्मेसी अधिकृत धर्मेन्द्र न्यौपानेले कर्णाली प्रदेशको मेडिकल स्टोरमा तापक्रम यथावत राख्नको लागि जेनेरेटर चलाई राख्नु पर्ने अवस्था रहेको र बिहीबार बिहान साढे ५ बजेतिर मृतक भट्टराईलाई तेल राख्नको लागि फोन गर्दा नउठेपछि क्वाटरमा जाँदा गम्भीर अवस्थामा रहेकी श्रीमतीले ढोका खोलेपछि घटना बाहिर आएको बताए।

उनले भने, ‘ जेनेरेटरमा डिजेल सकियो डिजेल हालौँ भनेर धेरैपटक भट्टराईलाई फोन गर्दा नउठेपछि क्वाटरमै गएर बोलाउँदा अर्धचेत अवस्थामा भट्टराई पत्नी सुशीलाले ढोका खोलेपछि सबैको अवस्था गम्भीर रहेको थाहा भयाे।’

दुई छोरा र पतीपत्नीसहित बस्दै आएका मृतक भट्टराईको घरमा पाहुना आएका आमा, भाइ र दिदी गरी सात जना कोइला बालेर सुतेको अवस्थामा चार जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर बिरामी भएका छन्।न्युज कारखाना

Skip This
Logo