साढे ९ केजी चाँदीका गहनासहित जनकपुरधामबाट एक युवक पक्राउ

साढे ९ केजी चाँदीका गहनासहित जनकपुरधामबाट एक युवक पक्राउ


८ लाख मूल्य बराबरको चाँदीको गहनासहित जनकपुरधामबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ। 

जनकपुरधाम–५ स्थित एक युवकलाई ९ केजी ७६७ ग्राम चाँदीको गहनासहित प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा सुनसरीको इटहरी उपमहानगरपालिका वडा नं. ५ शिवालयका ३० वर्षीय कुमार खातीलाई पक्राउ गरेका छन्।

सवारी साधनहरू चेकजाँच गर्ने क्रममा प्रदेश नं. १–०२–०४५ प. ८२७ नम्बरको २२० सी.सी.को पल्सर मोटरसाइकलमा सवार रहेका खातीलाई मोटरसाइकल तथा शरीरमा खानतलासी गर्दा झोलामा चाँदीबाट बनेको ७ लाख ८३ हजार २९८ रुपैयाँ बराबरको गहना र १ लाख १२ हजार ६ सय रुपैयाँ तथा ३ लाख बराबरको मोटरसाइकल बरामद भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिए।

प्रहरीले ब्रास्लेट १८४ थान, वाला २५ थान, लकेट नगदार ८५ थान, लेडिज औंठी नगदार ६८ थान, हसुलीको टुक्रा पुरानो ४ थान, सिल टुक्रा ७ थान र चाँदीका बुनियाँ दाना १ प्याकेट बरामद गरेको छ।

पक्राउ परेका खातीलाई आवश्यक कारवाहीको लागि जनकपुरधामस्थित भन्सार कार्यालयमा पठाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

Logo