वर्षाैंसम्म कटेरोमा गुजारा गर्ने रन्जिताले जब चिटिक्ककाे घर पाइन्…

वर्षाैंसम्म कटेरोमा गुजारा गर्ने रन्जिताले जब चिटिक्ककाे घर पाइन्…


बर्दिबास-३ की रन्जिता विकले बालख छोराछोरीसहित कटेरोमा वर्षाैं गुजारा गरिन् । कटेराेमा हिउँदकाे चिसाे र बर्षायामकाे झरी झेलेकाे पीडा उनीसँग सम्झिनसक्नुको छ। परिवारकाे कमजाेर आर्थिक अवस्थाका कारण उनी अर्काे घर बनाउन सक्ने अवस्थामा पनि थिइनन्। छोराछोरी पढाउन र बिहान बेलुकीकाे छाक टार्न नै उनलाई धौधौ हुन्थ्याे । कटेराेकाे छानामा चित्रा राखेर भए पनि उनी जेनतेन परिवारकाे सुरक्षा गर्दै आएकी थिइन् । 

उनकाे याे पीडामा जनता आवास कार्यक्रमले मल्हम लगाइदिएकाे छ। जनता आवासअन्तर्गत प्रदेश सरकारले घर बनाइदिएपछि उनी  हिजाेआज ढुक्कले निदाउँछिन् । दुई कोठा र एउटा ट्वाइलेटसहित करिब तीन लाखमा बनेकाे उनकाे घरले उनलाई अघिल्ला हिउँद बर्षाकाे पीडा बिर्साइदिएकाे छ।

'मेरो श्रीमान पनि हुनुहुन्न, अर्कै श्रीमती ल्याएर बसेका छन् भन्ने सुनेको छु। घरविहीन लालाबालासहितकी महिलाकाे पीडा मैले भाेगेकी छु। मेराे रोइकराइ कसैले सुन्दैन थिए,' प्रदेश सरकारले बनाइदिएको घरतर्फ हेर्दै उनले खुसी हुँदै भनिन्, ' अब त पीडा भुलिसकेँ।' 

रन्जिता विक मात्र हैन उमेरले डाँडा काटिसकेका उनका ससुरा चतुरमान विकको पीडा पनि कम छैन। छोराले बुहारीसहित बुढेसकालका बाआमालाई छाडेर हिँडेपछि कयौं रात जागा नै बसेर बिताएकाे सुनाए। 'छानो छिचोलेरभित्र चुहिएको पानी थाप्दाथाप्दै  रात बित्थ्याे,' उनले भने,  'सरकारले नयाँ पक्की घर बनाइदिएपछि अब हामी राम्ररी निदाउन थालेका छाैं। यसपालि भने सरकारले ठूलो गुन लगाएको छ हजुर।' 

सरकारले घर बनाउन पैसा त दियाे तर घर निर्माण गर्ने श्रमिक नपाउँदा केही परिवारले निकै समस्या भाेगेका थिए। यही कारण कतिपयलाई जनता आवास निल्नु र ओकल्नु बनेकाे थियाे। श्रमिकलाई दिने पैसा नहुँदा सबै काम आफैँले गर्नु परेकाे सर्वसाधारणको गुनासो छ। बर्दिबास नगरपालिकामा जनता आवासबाट १३ वटाभन्दा बढी घर बनेका छन्।

इँट्टा, बालुवा तथा सामानहरू सडकको किनारमा ल्याएर छोडिदिने र निर्माणस्थलसम्म पुर्‍याउन मान्छे नहुँदा समस्या भोगेको चतुरमान विकले बताए। 'हामी बुढाबुढीको इँट्टा बोक्दाबोक्दै पछाडिको छाला गएको छ। कसैलाई काम गर्न बोलाउँ, पैसा छैन । श्रमदान गर्न बोलाउँ कोही मान्दैनन् । त्यसैले सरकारले दिएको यो घर बनाउन सकिँदैन जस्तो लागेको थियो । जे होस् बनाइयो,' उनले भने ।

जनता आवास निर्माणमा सरकारले सामग्रीबाहेक अन्य सहयाेग गरेकाे थिएन । अझ दलितको लागि मात्र छनोट गरिएको कार्यक्रम आफैँमा विवादितसमेत भएको प्रदेशसभा सदस्य शारदादेवी थापाले बताइन् । 'कतिपय गैरदलितको पनि दलितको भन्दा आर्थिक स्थिति अत्यन्त कमजोर छ। अनि क्षेत्री, ब्राह्मण भएकै आधारमा त्यस्ता सुविधाबाट बन्चित गर्नु ठिक हाेला र ?'  थापाकाे प्रतिप्रश्न छ।

बर्दिबासबाहेक अन्यत्र कार्यक्रम अलपत्र

बर्दिबास नगरपालिकाबाहेक महोत्तरीको अन्य पालिकामा याे कार्यक्रम अलपत्र परेकाे छ। आवास निर्माण सुरू भए पनि सर्वसाधारण जग हेरेर बस्न बाध्य छन्। साढे दुई वर्षदेखि थप काम भएकाे छैन। गौशाला नगरपालिका-४ मा मात्र ९१ वटा घर बनाउन सुरू भएकाे थियाे। 

सर्वसाधारणले नयाँ घर बन्ने आशामा भएको घरसमेत भत्काएका थिए। नयाँ घर नबन्दा उनीहरू अस्थायी टहरामा कष्टकर गुजारा गर्दै आएका छन्। काम भइरहँदा एक्कासि राेकिँदा अलमलमा परेकाे सुनिल सादाले बताए। 

यता, जनप्रतिनिधिहरू भने कोरोनाको कारणले जनता आवास कार्यक्रम रोकिएको बताउँछन्। गौशाला नगरपालिका-४ का वडाध्यक्ष रामबाबु साहले दुई वर्षसम्म रोकिएको कामलाई निरन्तरता दिन सम्बन्धित निकायलाई झक्झकाइरहेको बताए।

'अब काम अगाडि बढ्छ, इँट्टा र निर्माण सामग्री ल्याउने काम सुरू भएको छ', अध्यक्ष साहले भने, 'ढिलै भए पनि मुसहर समुदायका लागि गौशाला नगरपालिकामा मात्र ९२ वटा घर बन्नेछन्।'न्युज कारखाना

Logo