बैतडीको मेलौली नगरपालिका-५ का किसानले पालेका बाख्रा मर्दै गएका छन् । केही दिनसम्म खोक्ने, हाच्छ्युँ गर्ने, टाउको सुन्निने, आँखामा पिप्रा आउने तथा र्याल काढ्ने लक्षण देखिएपछि मर्न थालेको मेलौली-५ का गंगा पोख्रेलले बताए।
‘एक महिनाको अवधिमा मैले पालेका पाँच बाख्रा मरिसकेका छन् । एक खसी त करिब ४० किलोको थियो। बेच्न ठिक्क भएका खसी बाख्रा मरेपछि मलाई झण्डै एक लाख रुपयाँ बराबरको नोक्सान भयो । बाख्रा मर्न थालेपछि व्यवसाय संकटमा परेको छ।’
गत एक महिनाको अवधिमा मेलौली-५ का करिब २० बाख्रा मरिसकेको स्थानीय किसान भरत पोख्रेलले बताए । उनले भने,‘कसैका एक/दुई बाख्रा मरेका छन् भने, कसैका चार/पाँच बाख्रा मरेकाछन् । अधिकांश किसानका बाख्रा अझै पनि बिरामी भएका छन् ।’
बाख्रामा एक्कासि आएको रोगले पशुपालन व्यवसाय नै संकटमा परेको अर्का किसान वीरेन्द्र पोख्रेलले बताए। नगरपालिकाको पशु शाखामा खबर गरेर खोप लगाएको र खोप लगाए पनि केही बाख्रा मरेको उनले बताए।
केही बाख्रामा समस्या देखिएपछि वडामा रहेका पशु प्राविधिकलाई समस्याबारे जानकारी लिन गाउँमा पठाएको नगरपालिकाका कृषि शाखा प्रमुख कमलापति भट्टराईले बताए। बाख्राहरूमा निमोनियाका जस्ता लक्षण देखिएको उनले बताए ।
बाख्रामा जटिल समस्या देखिएको मेलौली-५ का वडाध्यक्ष बलभद्र दयालले बताए। बाख्राहरूमा देखिएको समस्या समाधानका लागि प्रदेश सरकार र संघ सरकारको कृषि मन्त्रालयसँग उनले आग्रह गरे।
समाजप्रकाशित: ११ माघ २०७८ ०७:४६ मंगलबार