बर्दिबासका सुकुम्बासीहरू भन्छन्, ‘कृषिले अब हाम्राे पनि आर्थिक अवस्था सुधार हाेला’

बर्दिबासका सुकुम्बासीहरू भन्छन्, ‘कृषिले अब हाम्राे पनि आर्थिक अवस्था सुधार हाेला’


बर्दिबास-७ पशुपतिनगरका हेमबहादुर खपांगीसँग  उत्पादनका लागि आफ्नै जग्गा नहुँदा जीविकोपार्जनमा नै धौ धौ बनिरहेको थियो। वर्षौंदेखि गाउँमा ब्लक जग्गामा बस्दै आएका खपांगीसँग आफ्नो नाममा सानो झुपडीबाहेक केही नै थिएन। तर, अहिले खपांगीजस्तै १५ घरपरिवारलाई सामुदायिक परिवार कल्याण संघ नामक एक गैरसरकारी संस्थाले स्वरोजगार बनाएर आफ्नै खुट्टामा उभिन सक्ने बनाएको छ।

संस्थाले जमिनदारसँग करिब ३३  कठ्ठा जग्गा भाडामा लिएर १५ सुकुम्बासी घरपरिवारका लागि स्वरोजगार र आत्मनिर्भर बनाएपछि अहिले जुरेटोलस्थित सुकुम्बासीहरूमा खुसी छाएकाे छ।

जीविकोपार्जनको लागि बनिबुतो गर्न टाढा-टाढा जानुपर्ने सुकुम्बासीहरू अहिले बिहानदेखि बेलुकासम्म खेतमा नै व्यस्त हुन्छन्। उनीहरूले आयआर्जनमा वृद्धि गर्न विभिन्न व्यवसायिक खेती गरेका छन्।

'हामीसँग जमिन थिएन, गरिखानका लागि मजदूरी गर्नै पर्ने बाध्यता थियो। तर, अहिले संस्थाले दिएको यो खेतबाट भरिपूर्ण छ। खपांगीले १५ घर परिवार सुकुम्बासीको नेतृत्व गरेका छन्। 

जुरे टोल मिश्रित कृषक समूह नामक यो समूहले अहिले खेतमा काउली, टमाटार, आलु, खुर्सानी, बोडी रोपेकाे छ। अघिल्लो वर्षको असारदेखि खेतीपाती गर्न सुरु गरेकाे यो समूहले एकपल्ट उत्पादन गरेर बजारमा बेचिसकेको छ। संस्थाले लगानी गरेबापत किसानबाट केही अपेक्षा नगरेकाे सामुदायिक कल्याण संघका कृषि प्राविधिक तथा फिल्ड अफिसर प्रकाश  सुनुवार बताउँछन्।

'हामीले यो समूहलाई लगानी गरेबापत केही पनि मुनाफाको अपेक्षा गरेका छैनौँ। मात्र उहाँहरूको भविष्य राम्रो होस्, खेतीबारीबाट जीविकोपार्जनमा टेवा पुगोस्,' उनले भने। 

माटो परीक्षणदेखि  कृतिम कम्पोस्ट मल बनाउन महिलाहरूलाई तालिम प्रदान गरेपछि अहिले यो समूहले उत्पादन बढाउने नाममा रासायनिक मललाई विस्थापन गराउँदै अर्गानिक खेतीपतीमा नै ध्यान दिइरहेका छन्। 

संस्थाले ३२ कठ्ठा जग्गाको वार्षिक एक लाख ९२ हजार अर्थात मासिक १६ हजार रुपैयाँ तिर्दै आएको छ।

Skip This
Logo