दलित आयोगले एक वर्षमा गरेका काम सार्वजनिक

दलित आयोगले एक वर्षमा गरेका काम सार्वजनिक


राष्ट्रिय दलित आयोगका केन्द्रीय सदस्य तथा प्रवक्ता सुन्दर पुर्कुटीले दलित समुदायको समस्या समाधान गर्न राष्ट्रिय दलित आयोग गठन भएको बताएका छन् । समाजमा दलितप्रति हुने विभेद र असहायहरूप्रति सजक रहँदै यस्ता समस्या समाधान गर्न आयोग गठन भएको उनको भनाइ छ । 

आयोग गठन भएको एक बर्ष पूरा भई रहँदा दलितहरूको थुप्रै समस्या समाधान एजेन्डाको रूपमा समावेश गरिएको उनले जनाएका छन् । शनिवार गाईघाटमा पत्रकारहरूसँग भेटघाट गर्दै उनले एक बर्ष पूरा भई रहँदा आयोगका काम, कार्यविधिहरूलाई १६ बुँदा समेटेर प्रस्तुत गरेका छन् ।

आयोगले मुख्यतया दलित समुदायको समग्र स्थितिको अध्ययन तथा अन्वेषण, नीतिगत कानुनी र संस्थागत सुधारका लागि सरकारलाई सिफारिस, जातीय छुवाछुत साथै विभेदको अन्त्य गर्न अनुगमनको काम अगाडी बढाएको उल्लेख छ ।

आयोगको बैठक सञ्चालन कार्यविधिको कार्यान्वयन, दलितहरूको विभिन्न घटना समस्याहरूलाई कारबाहीको सिफारिस, दलितहरूको मुख्य समस्या र राष्ट्रियस्तरको ४३ वटा घटनाका उजुरी सम्बन्धमा आवश्यक छानबिनको लागि पत्र, राजनीतिक दलहरूमा दलित समावेशीका लागि पत्र, विभेदका घटना अन्त्यका लागि सचेतनामूलक कार्यक्रम जस्ता महत्त्वपूर्ण क्रियाकलाप गरिरहेको उल्लेख गरिएको छ ।

नेपालमा राष्ट्रिय दलित आयोग ढिलो गठन भएको समेत उनले जनाए । आयोग समयमै गठन नहुँदा दलितहरूको विभिन्न समस्याहरू संविधानमा लेख्न छुटेको समेत उनले जनाए । पहिल्यै आयोग गठन भएको भए दलितहरूले पछिल्लो समयसम्म विभेद भोगी राख्नुपर्ने अवस्था नआउने उनले जनाए ।

Logo