नाग्म-गमगढी खण्डको ५२ किलोमिटर सडक ग्राभेल

नाग्म-गमगढी खण्डको ५२ किलोमिटर सडक ग्राभेल


कर्णाली राजमार्गअन्तर्गतको नाग्म गमगढी खण्डको ५२ किलोमिटर सडक ग्राभेल भएको छ । डिभिजन सडक कार्यालय जुम्लाले अलपत्र परेको तल्लो क्षेत्रको खण्ड ग्राभेल सकेको हो । डिभिजन सडक कार्यालय जुम्लाका इन्जिनियर सन्तोष भण्डारीले नाग्म गमगढी राजमार्गको ९३ किलोमिटर सडकको स्तरवृद्धि भइरहेको बताए । 

जुम्ला र कालिकोटको सीमा नाग्मदेखि हिमा गाउँपालिकासम्मको खण्डमा पनि काम भइरहेको छ । सो क्षेत्रको ठेक्का पाँच वर्षदेखि बाँकी ६ किलोमिटरसम्म काम हुन सकेको थिएन । अहिले स्थानीय निर्माण व्यवसायी बलीबहादुर शाहीले निर्माण गरिरहेका छन् । अब सो काम अन्तिम टुंगो लाग्दैछ । 

राजमार्गको विभिन्न स्थानमा गरी अहिले ५२ किलोमिटर ग्राभेल कार्य भईसकेको र अन्य काम अगाडि बढाईने डिभिजन सडकले जनाएको छ । सो क्षेत्रमा अप्ठ्यारो स्थान निर्माणका लागि अगाडि बढाइएको छ । मुगुको गमगढीबाट ताल्चासम्मको सडक कङ्क्रिट सिमेन्टले निर्माण गर्न थालिएको डिभिजन सडकले जनाएको छ ।

त्यस्तै डिभिजन सडकका  प्रमुख राजेन्द्र श्रेष्ठका अनुसार नाग्म गमगढी राजमार्ग स्तरवृद्धिका लागि प्रथामिकताका साथ काम भइरहेको छ  । उनले अब त्यहाँको काम तीव्रगतिमा  अगाडि बढ्नेमा  जोड दिए  ।  

१० वटा पुलको सम्झौता 

नाग्म गमगढी अर्थात रारा सिञ्जा राजमार्गका विभिन्न क्षेत्रमा १० वटा पुलहरू पनि बन्ने भएका छन् । इन्जिनियर सन्तोष भण्डारीका अनुसार सडक विभागको पुल महाशाखा अन्तर्गत नाग्म, बाजागाडासहित विभिन्न खोलाका १० वटा पुल ठेक्का प्रक्रियामा गई सम्झौता समेत अगाडि बढेको बताए  ।  

२० किमी कालोपत्रे हुने
 
नाग्म गमगडि राजमार्गकोे २० किलोमिटर क्षेत्र कालोपत्रे हुने भएको छ । डिभिजन सड्क कार्यालयका अनुसार सरकारको यो बर्षको बजेट योजनाअनुसार २० किलोमिटर क्षेत्रमा कालोपत्रे गर्ने योजना छ । यो बर्ष सो योजनालाई प्रथामिकता दिने कार्यालयको जोड रहेको कार्यालय प्रमुख श्रेष्ठले बताए । उनले भने, ुकालोपत्रेका लागि अर्थ मन्त्रालयमा स्वीकृत मागिएको छ  । 

सडककै कारण  पर्यटकलाई सास्ती 
राराताल  जाने सडक र खस सभ्यताको उत्पतिस्थल भनेर चिनिने  सिञ्जा क्षेत्रमा जाने  पर्यटकले वर्षेनि सास्ती भोग्दै आएका छन् । पर्यटकीय दृष्टिकोणले यही राजमार्गमार्फत आवतजावत गर्नु पर्ने तर सडकको स्तरवृद्धि नहुँदा बर्षौदेखि नागरिकले सास्ती पाएका हुन् । अहिले पनि पानीमा हिलो र घाममा धुलो यस राजमार्गका यात्रुहरूले सास्ती भोग्ने गरेका छन् ।

अब ग्राभेलसहित कालोपत्रे भएमा भने सजिलो हुने भएको छ । सडककै कारण त्यहाँ उत्पादिन  कृषि बाली तथा स्याउ ओखरसहित फलफूल निर्यात गर्न कठिन हुने गरेको  स्थानीयको गुनासो छ । 
 
 

Logo