मौसमी र बेमौसमी खेतीले थारु महिलामा खुसी भर्दै

मौसमी र बेमौसमी खेतीले थारु महिलामा खुसी भर्दै


महोत्तरी बर्दिबासकी हेमलता सिंह आचेल खुसी छिन् । पाँच वर्ष अघिको अभाव र अहिलेको अवस्था तुलना गर्दा आनन्द आउने गरेको उनी सुनाउँछिन् । उनमा यो खुसी ल्याउने औजार भने उनी आफै हुन् । उनको प्रयासमा नगरपालिकाले केही सहयोग र भरथेग भने गरिरहेकै छ ।

नगरपालिकाले यहाँका थारु महिलालाई मौसमी र बेमौसमी खेतीपाती कसरी लगाउने भन्ने विषयमा सिकाएको थियो । यही सिकाइलाई हेमलताले पनि सदुपयोग गरेकी छिन् । उनी आजकाल दिनभरि खेतबारीमै हुन्छिन् । उनले खेतमा खर्बुजा र तरकारी फलाएकी छिन् । ‘हुन त केही वर्ष अगाडि पनि खेती गथ्यौं, तर बजार पाउन कठिन थियो । आजकाल घरघरमै टेम्पो आइपुग्छ ।’ उनले भनिन् ।

नगरपालिकाले हेमलताको टोलसम्म पुग्ने सडक निर्माण गरिदिएको छ । वडा अध्यक्ष रामकिशोर साहको पहलमा करिब ६० घरधुरी बस्ने चौधरी टोलमा विभिन्न शाखा र नगरपालिकासम्म जोड्ने मुख्य सडक सञ्जाल विस्तार भएको छ ।

हेमलता जनप्रतिनिधिहरूको सक्रियताप्रति निकै खुसी छिन् । आजकाल हेमलताको मात्र हैन बर्दिबास नगरपालिका–१२ स्थित यस वडाका थारु समुदायको दिनचर्या फेरिएको छ । नगरपालिकाले महिला उद्यमीबीच सहजकर्ताको भूमिका खेलेका कारण थारु महिलाहरु स्वरोजगार र सीपयुक्त भएका छन् । 

हेमलता जस्तै २६ महिलाले तरकारी खेतीसम्बन्धी तालिम लिएका छन् । अहिले सबै २६ जना सामूहिक खेती गरिरहेका छन् । पहिला उत्पादन भएका सामान राख्न समेत यहाँ निकै समस्या थियो । स्थानीय सरकारले झन्डै ६ लाख खर्चेर साझा सुविधा केन्द्रको स्थापना गरिदिएको छ । अब भण्डारणको समस्या पनि समाधान भएको छ ।

दुई कोठे साझा सुविधा केन्द्रमा थारु समुदायले उत्पादन गरेको वस्तुले पनि सहजै स्थान पाउन थालेको छ । महिलाहरू सीप सिकेर आफै स्वरोजगार बनेपछि समुदायका पुरुषहरू पनि खुसी छन् । समुदायमा पुरुषभन्दा महिला बढी व्यस्त हुने गरेको उनीहरू बताउँछन् ।

‘महिलालाई आयअर्जनमा सहभागिता बढाउन नगरका उद्यम सहजकर्ताहरूले खेलेको भूमिका सुन्दर छ ।’ हिमलाल चौधरीले भने । नगरपालिकाले परिचालन गरेका उद्यमी सहजकर्ताहरूले वडा नम्बर १२ मा मात्र नभइ अन्य वडामा पनि विभिन्न सिपमुलक कार्यक्रम गरिरहेका छन् । विभिन्न वडामा अहिलेसम्म एक १७ जना महिला उद्यमी बनिसकेका छन् ।

महिलाहरूलाई अगाडि बढाए मात्र सामाजिक र पारिवारिक आर्थिक स्थिति बलियो हुने बिषयलाई मध्यनजर गरी टोलटोलबाट महिलालाई जागरूक बनाएको नगरप्रमुख विदुर कार्की बत्ताउँछन् । गरिबी उन्मुलनमा नगरपालिका औपचारिक रूपमा लागेको उनको भनाइ छ । 

नगरपालिकाले नगरभरीका करिब २४ सय घरपरिवारलाई गरिबीको रूपमा पहिचान गरेको छ । तीन महिना अगाडि हेफर इन्टरनेसनल नामक संस्थासँग सम्झौता गरी नगरपालिका गरिबी उन्मुलनको दिशातर्फ उन्मुख भएको नगरप्रमुख कार्कीले बताए ।

गरिबी उन्मुलनको लागि पहिला किसानहरूलाई पशु तथा कृषिमा आत्मनिर्भर बनाउने र त्यसपछि आर्थिक उपार्जनको लागि २४ सय घरधुरीलाई गरिबीबाट मुक्त बनाउने नगरको योजना छ ।

Logo