‘युट्युबमा हेरेर अचार बनाउन सिकेँ, अहिले विदेशमा पनि निर्यात गर्छु’

‘युट्युबमा हेरेर अचार बनाउन सिकेँ, अहिले विदेशमा पनि निर्यात गर्छु’


सीप र क्षमता भए थोरै लगानीबाट जिविकोपार्जन गर्न सम्भव छ। काम जस्तोसुकै भए पनि कहिल्यै लाज मान्नु हुँदैन। हातमा सीप भए काम गर्न किन लाज ? आफ्नो हातमा सीप भएपछि घर बसेरै पनि राम्रो आम्दानी गर्न सकिन्छ। हामीले दैनिक उपभोग्य सामानबाट घरैमा बसेर सजिलै बनाइएको सामानबाट पनि आम्दानी गर्न सकिन्छ। घरमा केही नगरी बस्नुभन्दा आफूले गर्न सक्ने काम र सीपबाट पनि आम्दानी गर्न सकिन्छ भन्ने एक उदाहरण हुन् , लक्ष्मी सिवाकोटी ।

काठमाडौँको असन चोकको बाटैमा उनलाई हामीले विभिन्न परिकारको अचार बेच्दै गरेको भेट्न सक्छौं । सजिलैसँग घरमा आफैंले बनाएका अचार बेच्दै गरेको असनचोकमा भेट्न सकिन्छ। उनी अकबरे खुर्सानी, मुला, मुला/अकबरे खुर्सानी, तामा, गुन्द्रुक, भटमास, लप्सी, टिमुर, अमला, आँप, करेला, मेथी, मेथीको टुसा र मिक्स लगायत अन्य विभिन्न स्वादका अचार बनाउँछिन् । त्यसका साथै उनी रायो तथा तोरीको गुन्द्रुक, भिजेको चना, तामा, मेथीको टुसा तथा अन्य गेडागुडीसमेत भिजाएर बेच्दै आएकी छिन् । उनी कुनै मेसिनबाट हैन आफ्नै हातबाट मिहेनतका साथ अचार बनाउँछिन् ।

लक्ष्मी भन्छिन्, “म कसैको सहाराबिना नै आफैं जतिसक्छु अचार बनाउँछु, त्यसबाटै राम्रो आम्दानी भएको छ, घाटा खानु परेको छैन । धेरैजसो त मलाई बनाउन आउँथ्यो । नआएको कुरा युट्युवमा हेरेर बनाउन सिकेकी हुँ ।”

उनले अचार बनाउन थालेको एक वर्षमात्र मात्र भयो । एक बर्षकै अन्तरालमा उनले बनाएको अचार विभिन्न पसल, सुपरमार्केट, विगमार्ट लगायत अन्य स्टोरमा अर्डर गरेर लैजान्छन् । त्यतिमात्र होइन उनले बनाएको अचार बिक्रीका लागि विदेशमा समेत पठाउने गरिएको छ ।

उनी भन्छिन्, “मैले बनाएको अचारको सबैले प्रशंसा गर्नुहुन्छ, प्रायजसो सधैं आउने ग्राहकले मिठो छ भन्नुहुन्छ ।” सधैं यस्तै हन्छ तर शनिबार भने अलिक भिड हुने गर्छ ।” उनी थप्छिन्, “मैले बनाएको अचार स्वदेशमा मात्र नभएर विदेशमा पनि लैजानुहुन्छ ।”

लक्ष्मीको ४ जनाको परिवार छ । दुई छोरा उनी र श्रीमान् । उनका श्रीमान् पहिले सागको व्यापार गर्थे भने अहिले उनले शिक्षकमा नाम निकालेर यसै पेसातिर लागेका छन् । त्यतिबेला लक्ष्मी सिवाकोटी पनि श्रीमानसँगै साग व्यापार गर्थिन् । तर उनका मनमा आफैँ अचार बनाएर बेच्ने सोच आयो । “आफूले त्यस्तो जानेको सिप किन खेर फाल्ने भनेर अचार बनाएर बेच्न सुरु गरें ।” उनले भनिन् ।  उनी अचार बनाएर दैनिकरुपमा २ हजार रुपैयाँसम्म कमाउँछिन् । उनी दैनिक खर्च गरेर पनि महिनामा २५ हजार बचाउँछिन् । 

उनी तामा हेटौँडाबाट र खुर्सानी गाउँबाट मगाउँछिन् भने अरु सामान सबै यताकै हुन्छ। गुन्द्रक आफैं बनाउँछिन् । उनले गाउँबाट ल्याएको तामा पनि राम्रोसँग बिक्री हुन्छ। अचार तथा अन्य सामान एकचोटी लगेपछि फेरि त्यहीँ आउने गर्छन् । 

लक्ष्मी अचारको अब छुट्टै स्टोरसमेत खोल्ने सोच रहेको बताउँछिन् । उनी भन्छिन्,“ अब अचार बनाउँदै जान्छु पछि आफ्नै छुट्टै स्टोर पनि खोल्ने सोचमा छु, दैनिकरुपमा खर्च गर्न मज्जाले पुग्छ ।” खानलाई केही दुःख छैन, महिनामा २०/२५ हजार जम्मा गर्छु। अचार बनाउन पहिलादेखि नै जानेको हुनाले पनि सजिलो भयो।”

महिलाहरुले आफैंले केही सिप सिकेर काम गर्न सके धेरै राम्रो हुने उनी बताउँछिन् । आफूले जानेको सिकेको सिप काहीँ खेर नजाने र आफूलाई खर्चको अभाव भएको बेलामा खाँचो नहुने समेत उनी बताउँछिन् । “यसरी नै हरेक महिलाले आफूले जानेको कुरालाई लाज नमानी गर्दै जानुपर्छ । लाज मान्नु हुँदैन काम सानो ठूलो केही हुँदैन ।”

Logo