सेन्ट लरेन्सले मनायो २५ औं वार्षिक उत्सव, शिक्षक तथा विद्यार्थी सम्मानित

सेन्ट लरेन्सले मनायो २५ औं वार्षिक उत्सव, शिक्षक तथा विद्यार्थी सम्मानित


चाबहिलस्थित सेन्ट लरेन्स कलेजले आफ्नो कलेजको २५ वर्ष पुगेको अवसरमा शनिबार स्वागत तथा विदाई कार्यक्रम आयोजना गरेको छ। कार्यक्रमको उद्घाटन त्रिभुवन विश्वविद्यालयकी डिन प्रोफेसर डाक्टर कुसुम शाक्यले गरेकी थिइन्।  

कार्यक्रममा सभापतिका रुपमा कलेज अध्यक्ष केशवप्रसाद दंगाल र प्रमुख अतिथीमा प्रोफेसर डाक्टर कुसुम शाक्य, शक्ति समूहकी अध्यक्ष चरिमाया तामाङ्ग र कलेज प्रमुख पुरुषोत्तम महर्जनसमेतको उपस्थिती थियो । कार्यक्रममा विशेष पाहुनाका रुपमा काठमाडौं महानगर वडा नं ७ का अध्यक्ष शुद्धकुमार डंगोल उपस्थित भएका थिए। 

कार्यक्रमको औपचारिक सुरुआतमा कलेज प्रमुख पुरुषोत्तम महर्जनले उपस्थित प्रमुख अतिथी, नयाँ तथा पुराना विद्यार्थीहरु लगायत सम्पूर्ण कलेज परिवारलाई स्वागत मन्तव्य दिँदै भाबी दिनहरुमा अझै प्रगति गर्न विद्यार्थीहरुलाई प्रेरणा दिए ।

काठमाडौं महानगर वडा नं ७ का अध्यक्ष शुद्धकुमार डंगोलले कार्यक्रममा उपस्थित सम्पूर्णलाई नयाँ वर्षको शुभकामना दिँदै सेन्ट लरेन्स कलेज काठमाडौं महानगर वडा नं ७ कै नमुना कलेजका रुपमा रहेको बताए। उनले विद्यार्थीहरुलाई विदेश पलायन हुनबाट रोक्न विद्यार्थीहरुलाई शिक्षाको आवश्यकता रहेको पनि बताए। 

कलेजको २५ औं वार्षिक उत्सवको अवसरमा विभिन्न संकायतर्फका विशिष्ट विद्यार्थीहरुहरुलाई सम्मानसँगै खेलकुद विधामा विजयी खेलाडीहरुलाई पनि सम्मान गरियो । सो अवसरमा हाल विभिन्न क्षेत्रमा प्रसिद्वि कमाएका आफ्ना पूर्व विद्यार्थीहरुलाई पनि सम्मान गरिएको थियो । कार्यक्रमकै अवसरमा लामो समयदेखि अध्यापनरत शिक्षकहरुलाई पनि सम्मान गरियो । 

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयकी डिन प्रोफेसर डाक्टर कुसुम शाक्यले सेन्ट लरेन्समा पढ्ने सम्पूर्ण विद्यार्थीहरुलाई शुभकामना दिँदै मिहेनत गर्नेलाई एक दिन सफलता मिल्ने बताइन् । शाक्यले सेन्ट लरेन्स कलेजले दिँदै आएको कोटा सिस्टमको पनि तारिफ गरिन् । उनको मन्तव्यपछि कलेजका प्रमुख लगायतले उनलाई सम्मानस्वरुप टोकन अफ लभ प्रदान गरेका थिए ।  

अतिथिका रुपमा शक्ति समूहकी अध्यक्ष चरिमाया तामाङ्गले कार्यक्रममा उपस्थित सबैलाई स्वागत गर्दै आफ्ना जीवनका भोगाई, संघर्ष र शिक्षाको महत्वको बारेमा बताइन् । उनले हाल आफ्नो घर परिवार र संस्थासँगै आफ्नो शैक्षिक यात्रामा पनि अघि बढदै गरेको बताइन् ।

कार्यक्रमको अन्त्यमा कलेजका अध्यक्ष केशवप्रसाद दंगालले कार्यक्रममा उपस्थित सम्पूर्ण विद्यार्थीहरुलाई सेन्ट लरेन्स परिवारका बारेमा (स्कुल, कलेज, उपस्थित सम्पूर्ण विद्यार्थीहरुलाई जानकारी हुनु आवश्यक भएको बताउँदै सम्पूर्ण कलेज परिवारलाई धन्यवाद दिएका थिए।

Logo