चौरीसँग जोडिएको पर्यटन, सम्भावना, तथ्य र चुनौतीहरु

चौरीसँग जोडिएको पर्यटन, सम्भावना, तथ्य र चुनौतीहरु


जोरपोखरीबाटै वैशाखमा गुराँस फूलेर आगन्तुकहरुलाई स्वागत गरिरहेको  हुन्छ । भञ्ज्याङ, त कहिले भीर देखिने अग्ला पहाडहरुमा चरिरहेका चौरीहरु अनि तिनीलाई हेरिदिन आएका पर्यटकहरुको भिड । वातावरण निकै रोचक लाग्छ ।

पाँचथरको फालेलुङ गाउँपालिका चौरीसँग मात्र जोडिएको छैन् । ढपक्क फूलेका विभिन्न प्रजातिका गुराँस तथा वनमा रहेका चरा चुरुङ्गीले फालेलुङको वातावरण मनमोहक बनाउँछ । सो गाउँपालिकाको वडा नं ४ को  चाररातेमा पाँचौं फालेलुङ चौंरी महोत्सव मनाईंदैछ ।

परम्परादेखिनै व्यवसायका लागि पालिँदै आएका चौरी पाँचथरको फालेलुङ गाउँपालिकाको एउटा पहिचान हो । लेकाली शितल हावापानी तथा सुन्दर घाँसे मैदानमा चरिरहेका चौरीहरुले यहाँ पुगेका पर्यटकको ध्यान अन्त जानै दिदैन् । यहाँ पुगेपछि माथिमाथि शैलुंगेमा चौरी डुलाउनेहरुसँगको आत्मियता साटासाटले मन खुव रमाएको हुन्छ । 

छिमेकी भारतका डाँडाकाँडा देखिने फराकिलो भूगोल, अनि नेपालका जमिनमा देखिएको चौरीको चरन क्षेत्र । सररर…चलिरहेको तिखो हावाले यहाँको वातावरण सुन्दर लाग्छ । घाँसे मैदानले भरिएको फालेलुङ गाउँपालिकाको चारराते र तीनसीमाना क्षेत्र चौरीपालनको पकेट क्षेत्र हो । चौरीसँग जोडिएका यहाँका किसानको जीवन चौरी गोठमा डुल्दै घुम्दै तिनीका स्याहारमा बित्ने गरेको छ । 

चौरीलाई कस्तो हावापानी अनुकूल हुन्छ ?
चौरी गाईको एक प्रजाती हो । समुन्द्री सतहबाट तीनदेखि छ हजार मिटर उचाइको हावापानी रुचाउने चौरीलाई फालेलुङको चारराते र तीनसिमाना अत्याधिक राम्रो मानिने गर्छ । यहाँ पालिएका चौरीहरु स्वास्थ्यकर हुन्छन् । चौरीहरु पनि घरपालुवा र जंगली गरि दुई प्रकारका हुन्छन् । उराङ जातको चौरीलाई घरमा पाल्ने गरिएको छ । फालेलुङमा पनि हरेकका गोठमा उराङ जातका चौरीहरु बढि देखिन्छन् । चौरीलाई चिसो ठाउँको हावापानी सुहाउँदो मानिन्छ । पहाडी गाई (किर्खो)बाट जन्मिने चौंरीलाई ‘उराङ’ र पहाडी गोरु याकको संसर्गबाट जन्मिने सन्तानलाई ‘डिम्जो’ भनिन्छ । डिम्जो चौरी जस्तै दूधालु हुन्छ तर, झोप्क्यो (भाले) भने नपुंसक हुन्छ र भारी बोक्ने काममा लगाइन्छ ।

झोप्क्योलाई हेरचाह गरिरहनु पर्दैन, उसलाई दानापानी बेलाबेला दिए पुग्छ । यसलाई खुला रुपमा नै छाडिने गरिन्छ । उराङको दूध सामान्य घरपालुवाको झैं आउँछ । तर यसको दूध, घ्यू, छुर्पी भने घरपालुवा गाईको तुलनामा महंगो मूल्यमा बिक्री हुन्छ । चौरीको दूधबाट मात्र होइन रौंबाट पनि राम्रो आम्दानी हुन्छ । चौरीको मुख्य चरनक्षेत्र जङ्गली रूखबिहीन घाँसे मैदान हो । चौंरीले नुन र दानापानीसमेत रुचाउने किसानहरुले बताएका छन् ।

युवाको आकर्षण 
फालेलुङका एक वृद्ध शरमति राई आफूले जानेबुझे देखि नै चौरीपालन गर्दै आएको बताउँछिन् उनलाई आफ्ना छोरा नातीले यो पेशालाई अनुशरण गर्दैनन् कि भन्ने थियो तर अहिले उनका छोरा नातीले यो व्यवसायलाई निरन्तरता दिएकोमा उनी खुशीछिन् । खासगरि वैदेशिक रोजगारमा जानुको सट्टा यहाँका युवाहरु उमेर पुगेपछि चौरीको हेरचारमा लाग्ने गरेको पछिल्ला केही उदाहरण छन् । व्यवसायमा युवाको आकर्षण बढ्नु देशका लागि एउटा गौरवको पाटो रहेको राईको बुझाइ छ । यहाँका युवाले चौरी पालन गरेर राम्रो आम्दानी गरिरहेका छन् । आन्तरिक तथा बाह्य पर्यटकसमेतको बाक्लो उपस्थिती हुने यो क्षेत्रमा पछिल्लो समय केही मात्रामा पूर्वाधारको समेत निर्माण भएको छ । स्थानीय जंग राईका अनुसार अहिले यहाँका चौरीपालक किसानको गोठमा २५देखि ३५ वटासम्म चौरीहरु छन् ।

पहिचान र पर्यटन 
पाँचथरको पहिचान धेरै क्षेत्र तथा परिकारसँग समेत जोडिएको छ । त्यो मध्ये बढि चर्चा हुने तथा परम्परागत पहिचान तथा व्यवसायसँग जोडिएको एउटा व्यवसाय चौरी हो । यो प्रत्यक्षरुपमा पर्यटनसँग जोडिएको छ । भारतको छिमेकी रहेको फालेलुङमा बढि मात्रामा भारतको सिलगुढी हुँदै उकालो माने भन्झङको बाटो भएर दार्जलिङ, सिक्किमका पर्यटकहरुको उपस्थित हुने गरेको छ । पछिल्लो समय त यहाँ अध्ययन अनुसन्धानकर्ताको समेत उपस्थित हुने गरेको खोज तथा संरक्षणकर्ता सुनिल वान्तबा बताउँछन् । वान्तवाका अनुसार सिजनमा यस क्षेत्रमा पर्यटकको व्यवस्थापन गर्न सकस नै हुने गरेको छ । ०७४ सालबाट यहाँ चौरी महोत्वसव हुँदै आएको छ । वान्तबाका अनुसार महोत्सवको आयोजना गरेर यहाँको पहिचान देशभर बाँढ्न पाइएको छ । सो स्थानमा जाँदा अघिपछि पनि गोठस्टेहरुमा बस्नुपर्ने सो क्षेत्रमा महोत्सवको बेला भने गोठस्टेहरु भरिभराउ हुने गरेका छन् । महोत्सवको बेला भने यहाँ इलाम, तात्लेजुङ तथा पाँचथरका चौरीहरु प्रदर्शनी हुने गरेका छन् । 

सहज छैन
भारतसँग प्रत्यक्षरुपमा जोडिएको यो क्षेत्रमा चौरी तथा पर्यटनलाई व्यवस्थापन गर्न भने सहज छैन । विशेषगरि भारत तथा नेपालका दुबै नियमहरुको पालना गर्नुपर्ने भएकाले विभिन्न समयमा समस्याहरुसमेत आउने गरेका छन् । वर्षको तीन महिना भने भारतको सीमाना हिँड्डुल बन्द हुने कारण यहाँको पर्यटन व्यवसायलाई असर गर्ने गरेको छ । भारतको सबैभन्दा ठूलो पार्क सिहलिला नेश्नल पार्कलाई स्पस्ट देख्न सकिने यो क्षेत्र पछिल्लो समय पर्यटनमा लागि रुचाइएको छ । यहाँको पर्यटनसँग काम गरिरहेका डिल्ली केरुङ भन्छन्, ‘पर्यटकको प्रचुर सम्भावना छ । तर नेपालको बाटो नबनिसकेको अवस्था भएकाले भारतको बाटो प्रयोग गर्नुपर्ने हुन्छ । नेपालमा पूर्वाधारको निर्माण गर्न सके १२ महिना पर्यटकका लागि उपयुक्त गन्तव्य बन्ने थियो । हाल असार, साउन र भदौ तीन महिना यो क्षेत्रमा पर्यटकको आवत जावत हुँदैन । उनका अनुसार ९ महिना पर्यटन व्यवसाय चित्तबुझ्दो तरिकाले चल्ने गर्छ । यात्रामा पर्यटकहरु भारतबाट सिलगुढी हुँदै माने भञ्ज्याङको बाटो भएर सन्दकपुर चारराते हुँदै फालोट तीनसिमाना पुग्ने गर्छन् । छिटो बाटो जाने हो भने चाररातेबाट ४ घण्टामा दार्जलिङ पुगिने केरुङ बताउँछन् । टुरिजमको स्वाद सरकारले नचाखेको भन्दै सम्भावना राम्रो भएको यो क्षेत्रमा पर्यटक बस्ने भवन, यात्रा सहज बनाउन सके राम्रो आम्दानी हुने केरुङ बताउँछन् । 

किन हुन्छ महोत्वसव ?
परम्परागत चौरीपालनलाई व्यवस्थित र व्यवसायिक तरिकाले पालन गरि दिगो आयआर्जन वढाउने उद्देश्यले ०७४ सालबाट यो क्षेत्रमा चौरी महोत्वसव हुने गरेको छ । यस वर्षपनि  वैशाक १ गतेदेखि ३ गतेसम्म महोत्वसव हुँदै छ । जैविकविविधता वातावरण संरक्षण तथा चौरीमा आधारित पर्या पर्यटनको दिगो विकास गर्ने महोत्वसवको मुल विशेषता हो । विश्वमा दुर्लभ अवस्थामा रहेको रेडपाण्डा साथै संरक्षित अन्य वन्यजन्तु, वनस्पतिहरुको संरक्षणमा सचेतना जगाउने उद्देश्यले २०७४ साल वैशाख १ गते पहिलो पटक नेपालमै फालेलुङ ४, चाररातेमा चौरी महोत्सवको आयोजना गरिएको थियो । त्यसले यहाँको व्यवसायमा राम्रो उपलब्धि गरेपछि यसको निरन्तरता दिन थालिएको हो । 


 
 

Logo