जुवाडेबाटै १३ करोड नगद बरामद, सूरक्षा निकायलाई चुनाैती

जुवाडेबाटै १३ करोड नगद बरामद, सूरक्षा निकायलाई चुनाैती


प्रहरीले पछिल्लो साढे तीन वर्षको अवधिमा नेपालका विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा साढे १२ हजारभन्दा बढी जनालाई पक्राउ गरेको छ। 

आर्थिक वर्ष २०७५/७६ देखि २०७८/७९ को फागुनसम्मको अवधिमा उनीहरुलाई पक्राउ गरिएको नेपाल प्रहरीले जनाएको छ। 

प्रहरीका अनुसार चालु आर्थिक वर्ष २०७८/७९ को आठ महिना (साउनदेखि फागुनसम्म) को अवधिमा २ हजार ७ सय जना जुवातास खेलिरहेको अवस्थामा पक्राउ परेका छन्।

यस आर्थिक वर्ष पक्राउ पर्नेमा २ हजार ५८२ जना पुरुष र ११८ जना महिला रहेका छन् । सोही अवधिमा ६१ जनाविरुद्ध मुद्दा चलाइएको प्रहरीले जनाएको छ।

चालु आर्थिक वर्षको आठ महिनामा जुवातास खेल्नेहरुबाट प्रहरीले ५ करोड ४८ लाख ४४ हजार २७५ रुपैयाँ नगद बरामद गरेको छ। प्रहरीले सबैभन्दा बढी नगद बरामद काठमाडौं उपत्यकाबाट गरेको छ। यसवर्ष उपत्यकाबाट मात्रै २ करोड ५७ लाख ७८ हजार ५४२ रुपैयाँ नगद प्रहरीले बरामद गरेको हाे। 

प्रहरीको तथ्याङ्क अनुसार प्रदेश १ बाट २६ लाख ९४ हजार ४८४ रुपैयाँ, मधेश प्रदेशबाट १५ लाख ११ हजार ८५९ रुपैयाँ, बागमती प्रदेशबाट ४० लाख ६८ हजार ६५० रुपैयाँ (काठमाडौं उपत्यका बाहेक), गण्डकी प्रदेशबाट १ करोड १३ लाख २ हजार ९५१ रुपैयाँ, लुम्बिनी प्रदेशबाट ४६ लाख ४५ हजार ७ सय रुपैयाँ, कर्णाली प्रदेशबाट १३ लाख २० हजार ४९९ रुपैयाँ र सदुरपश्चिम प्रदेशबाट ३५ लाख १७ हजार ५९० रुपैयाँ नगद बरामद गरिएको छ। 

प्रहरीका अनुसार पछिल्लो साढे तीन वर्षमा अर्थात आर्थिक वर्ष २०७५/७६ मा २ हजार ८६९, २०७६/७७ मा ३ हजार ५८४, २०७७/७८ मा ३ हजार ४५६ र २०७८/७९ को फागुनसम्मको अवधिमा २ हजार ७ सय गरि कूल १२ हजार ६०९ जना व्यक्ति जुवातास खेलिरहेको अवस्थामा पक्राउ परेका छन्। 

यस्तै, सोही अवधिमा पक्राउ परेकाहरुबाट १२ करोड ८४ लाख ७२ हजार ५५६ रुपैयाँ नगद प्रहरीले बरामद गरेको छ। 

आर्थिक वर्ष २०७५/७६ मा १ करोड ३२ लाख ८२ हजार ३८४ रुपैयाँ, २०७६/७७ मा ४ करोड ३५ लाख ७८ हजार ४३७ रुपैयाँ, २०७७/७८ मा १ करोड ६७ लाख ६७ हजार ४६० रुपैयाँ र २०७८/७९ को फागुनसम्म ५ करोड ४८ लाख ४४ हजार २७५ रुपैयाँ जुवातास खेल्नेहरुबाट प्रहरीले बरामद गरेको छ। 

Logo