अपडेटः सगरमाथा अक्सिजन प्लान्टमा भएकाे विस्फोटमा मृत्यु हुनेकाे संख्या दुई पुग्याे

अपडेटः सगरमाथा अक्सिजन प्लान्टमा भएकाे विस्फोटमा मृत्यु हुनेकाे संख्या दुई पुग्याे


ललितपुरको सगरमाथा अक्सिजन प्लान्टमा विस्फोट हुँदा मृत्यु हुनेकाे संख्या दुई पुगेकाे छ। घटनामा ६ जना घाइते भएका छन् । 

ललितपुर प्रहरीका प्रवक्ता एसपी सिद्धिविक्रम शाहले मृत्यु हुनेको पहिचान खुल्न नसकेको जनाएका छन्। 

घाइतेको संख्या अझै धेरै हुन सक्ने एसपी शाहको भनाइ छ। घाइतेहरूको उपचार बिएण्डबी र पाटन हस्पिटलमा भइरहेको छ।

विस्फोट भएको सगरमाथा अक्सिजन प्लान्ट ललितपुर औधोगिक क्षेत्रमा रहेको छ। विस्फोट आज बिहान १० बजेको आसपासमा भएको हो। सिलिन्डर भर्ने क्रममा विस्फोट भएको जनाइएको छ। 

यसैबीच गृहमन्त्री बालकृष्ण खाणले ललितपुरको सगरमाथा अक्सिजन प्लान्टमा आज भएको विस्फोट घटनाको छानबिन गर्न निर्देशन दिएका छन्। 

गृहसचिव टेकनारायण पाण्डे, ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय, महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी यज्ञविनोद पोखरेल र ललितपुरका सशस्त्र प्रहरी प्रमुख विकास घिमिरेलाई टेलिफोनमार्फत घटनाको छानबिन गर्न निर्देशन दिएका हुन्।

घाइतेहरूको तत्काल उपचारको व्यवस्था मिलाउन पनि गृहमन्त्री खाणको निर्देशन छ।

सांकेतिक तस्बिर

Logo