राजदूत खत्रीद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

राजदूत खत्रीद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत


अमेरिकाका लागि नेपालका राजदूत श्रीधर खत्रीले अमेरिकी राष्ट्रपति जोसेफ वाइडेन समक्ष ओहोदाको प्रमाणपत्र पेश गर्नुभएको छ ।

राजदूत खत्रीले यही अप्रिल १९ मा पेश गर्नुभएको प्रमाणपत्र अमेरिकी राष्ट्रपति जोसेफ वाइडेनले ग्रहण गर्नुभएको वासिङ्टन डिसीस्थित नेपाली राजदूतावासले जनाएको छ । यसअघि ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्न भौतिकरुपमा उपस्थित हुने व्यवस्थालाई परिमार्जन गरी कोरोना महामारीका कारण पत्रमार्फत ओहोदाको प्रमाणपत्र पेश गरिएको थियो ।

सोहीबमोजिम राजदूत खत्रीले अमेरिकी विदेश मन्त्रालयमार्फत ह्वाइट हाउसमा आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभएको थियो । सो प्रमाणपत्र ग्रहण गर्दै राष्ट्रपति वाइडेनले खत्रीलाई डिसीको कूटनीतिक समुदायम स्वागत गर्नुका साथै आफ्नो सरकार दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध मजबुत पार्न इच्छुक रहेको बताउनुभएको दूतावासको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

खत्रीले प्रमाणपत्र पेश गर्दै राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाली जनताको तर्फबाट राष्ट्रपति जो वाइडेनको सफल कार्यकाल र सुस्वास्थ्यको कामना गर्नुभएको थियो । साथै नेपालको विकासको लागि निरन्तर सहयोग गर्दै आएकामा राजदूत खत्रीले अमेरिकी जनता र अमेरिका सरकारलाई आभार व्यक्त गर्नुभयो । खत्रीले आगामी दिनमा दुई देशबीच मैत्रीपूर्ण सम्बन्ध थप मजबुत र विस्तारित हुनेमा आफ्नो विश्वास रहेको पनि सो पत्रमार्फत उल्लेख गर्नुभएको छ ।

Logo