ज्योतिष कर्मबाटै काडाँघारीमा २ वटा घर र गाडी

ज्योतिष कर्मबाटै काडाँघारीमा २ वटा घर र गाडी


मेरो भविष्य अब के होला । म पछि गएर सफल हुने कि नहुने होला । मैले गर्न लागेको काम सफल होला कि नहोला भन्ने कुरा सबैको चिन्ताको विषय हुन्छ ।  विदेश जान लागेकाहरू विदेशमा काम कस्तो हुने हो भनेर आउँछन् भने कोही छोराछोरी नभएर चिन्ता लिएका हुन्छन् त कोही जागिर पाइन्छ या पाइँदैन भनेर सोची रहेका हुन्छन् ।  अनि त्यही आ-आफ्नो पीर व्यथा लिएर धाउने गर्छन् ज्योतिषकोमा । भविष्यमा हुने कामको लागि सबैले ज्योतिषीको विश्वास गर्छन् । अनि आफ्नो भाग्य रेखा हेराउनको लागि टाढा टाढाबाट पनि आइपुग्छन्/आउँछन् ज्योतिषीकोमा आइपुग्छन् । ज्योतिषीलाई आँखा चिम्लेर विश्वास गर्छन् । अनि कोही त ज्वतीषको विश्वास नै गर्दैनन् । तर काठमाडौँको वीर अस्पताल नजिकै एक जना यस्ता व्यक्ति छन् जसको हात हेर्नको लागि सडकमा हिँड्ने बटुवा देखि उच्च पदमा रहेका व्यक्तिहरूले समेत हात हेराउँछन् । ती ज्योतिष हुन् भरत सुवेदी । 

सुन्दरीजलमा जन्मिएका सुवेदीलाई ७ वर्षकै उमेरदेखि देवता आइसकेको थियो । तर उनी १२ वर्षको उमेरदेखि मात्र काठमाडौं झरेर निरन्तर रूपमा काम गरिरहेको छन् । अहिले उनी ७६ वर्षका भए । उनले अरूको भविष्य हेरेको पनि ६३ वर्षभन्दा बढी भैसक्यो । यही व्यवसाय गरेर भरतको परिवार चलेको छ । यतिमात्र होइन भरतले छोराछोरीलाई उच्च तहको शिक्षा हासिल गराएका छन् ।  हाल  छोराछोरीको पढाइपनि राम्रो भएकोमा उनी खुसी छन् । उनी भन्छन्,“राजाको पालादेखि यहाँ बसेर हात हेरेको हुँ । मैले भनेको कुरा पुगेको पनि छ । भित्र (हस्पिटलमा) बिरामी भएर जान्छन् । निको नभएपछि फेरि यहीँ आउँछन् । आफ्नो भाग्यमा जे लेखेको छ त्यो म साँचो साँचो भन्छु । भनेको कुरा  पुगेको पनि छ । कुनै कुनै कुरा नपुग्नु भनेको आफ्नो ठाउँमा छ नत्र भए सबै पुग्छ नै ।” उनी त्यहाँ भएको एउटा फोटो देखाउँदै फेरि थप्छन्, “यो नानीको भविष्य पनि मैले नै हेरिदिएको हो । अहिले ठ्याक्कै त्यहीँ भएको छ । म सँग पछि आएर सुनाउँदै थिइन् तपाईँले त ठ्याक्कै देख्नु हुँदो रहेछ त भनेर । अहिले उनी आफै व्यवसाय गरिरहेकी छिन् ।”

सुवेदीलाई हामी वीर हस्पिटल अगाडी भित्ताका आफ्नै परिचय सहितको बोर्ड टाँगेर बसिरहेको भेट्न सकिन्छ । उनी दिउँसो १२ बजेदेखि बेलुका ५ बजेसम्म त्यहीँ नै बसिरहन्छन् । अनि अरूको भविष्य बताइरहन्छन् । घरबाट आएर सबैभन्दा पहिले उनी पूजा गर्छन् अनि कुरिरहन्छन् आफ्ना ग्राहकलाई । 

सुवेदीको भाग्य हेराउने ठाउँमा कहिलेकाहीँ त आफ्नो भविष्य हेराउनको लागि आउने मानिसको घुइँचो नै लाग्छ भने कहिलेकाहीँ शून्य पनि हुन्छ । अहिले यहीँ काम गरेर काडाँघारीमा २ वटा घर बनाइसके । उनी भन्छन्,“ यति उत्ति आउँछन् भन्न सकिँदैन । भएको बेला कहिलेकाहीँ ३ हजार पनि हुन्छ । कहिलेकाहीँ १ हजार मात्र पनि । कहिलेकाहीँ मान्छे नै आउँदैनन् । अब भगवानले कति पठाउनुहुन्छ । यति भए पुग्छ तँलाई भनेर उहाँलाई थाहा छ । त्यसैले म भगवान् प्रति आस्था राख्छु । आफ्नो भविष्य हेराउन प्रायः जसो चाहिँ हस्पिटलमा भएका मान्छे आउँछन् । उसको बिरामीको अवस्था कस्तो हुने हो । बेहोस छ भने होस् आउने हो कि नआउने हो भनेर । यस्ता मान्छे पनि आउँछन् कि यहाँ जो ठुला ठुला पोस्टमा जागिर खान्छन् उनीहरू यहाँ आएर आफ्नो भविष्यको बारेमा सोधिरहेका हुन्छन् । अनि भित्र भएका डाक्टर पनि आउँछन् आफ्नो भविष्यमा हुने काम, आपत् विपतको विषय लिएर ।” उनी हाँस्दै फेरि थप्छन्, “म त अहिले डाक्टरको पनि डाक्टर भइसके । ”

भरत यस ठाउँमा राजाकै पालादेखि बसेको बताउँछन् । उनी त्यहाँ हुँदा राजाका छोराको समेत उनले भविष्य बताइदिएका थिए ।

भरतले सानैबाट अरूको भविष्य हेरे पनि आफ्नो भविष्य नै हेर्न बिर्से । घरमा परिवारको बारेमा सोच्दा र अरूको भविष्य बताउँदा बताउँदै उनको उमेर गएको थाहै नभएको कुरा बताउँछन् । 

उनी १ जनाको भविष्य (हात) हेरेबापत ३ सय ३० रुपैयाँ शुल्क लिने गर्छन् । भन्छन्,“मैले न्यूनतम लिने शुल्क भनेको ३ सय ३० रुपैयाँ हो । आफ्नो इच्छाअनुसार बढी पनि दिन सक्छन् । दिन्छन् पनि । मैले काडाँघारीमा २ वटा घर बनाइसके छोराहरूलाई गाडी किन्दिए । अझै पनि सकुन्जेलसम्म यहीँ काम गर्छु ।”

भरत त्यहाँ मात्र होइन, उनलाई सम्पर्क गरेर दिनहुँ घरमा ठेगाना सोध्दै मानिसहरु आउँने गर्छन् ।  २०७२ सालको भूकम्पको आएको बेला उनी त्यहाँ आएनन् । केही दिन त काम नै गरेनन् । भन्छन्, “०७२ सालको भूकम्पमा मैले केही दिन त कामै गरिन किनकि ज्यान भन्दा ठुलो पैसा हैन । तर त्यति बेला मान्छे पनि हुँदैन थिए । अनि फेरी कोरोना भाइरस आयो पोहोर/परारदेखि त्यति वेला लकडाउन भएर यहाँ आउने कुरै भएन । घरबाट नै गरे काम । त्यति बेला पनि कोरोनाबाट मान्छे त्रसित थिए । आत्तिएर मेरो परिवारलाई केही हुन्छ कि भनेर हेर्न आइपुग्थे । मैले देखेको/जानेको भनिदिन्थेँ । त्यति बेला पनि राम्रो नै कमाई भएको थियो । यो त मलाई भगवानले दिएको वरदान हो । सधैँ गरिरहन्छु । ”

उनी मानिसले जे काम भए पनि कसैको लाज धाक नमानी गर्नुपर्ने बताउँछन् । आफूले जानेको बुझेको कामलाई पछाडि पार्दै गयो भने कहिल्यै प्रगति नहुने उनको भनाई छ । 

Logo