अबदेखि मौसम सफा नभए आन्तरिक उडान गर्न नपाउने

अबदेखि मौसम सफा नभए आन्तरिक उडान गर्न नपाउने


अबदेखि मौसम सफा नभए आन्तरिक उडान गर्न नपाउने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानले मौसम सफा नभए आन्तरिक उडान गर्न नपाउने निर्णय गरेको हो । 

प्राधिकरणले तारा एयरको विमान दुर्घटना भएसँगै यस्तो निर्णय गरेको हो । अबदेखि उड्ने र पुग्ने स्थानको मौसम सफा हुनुपर्नेछ । दुवै ठाउँको मौसम सफा नभएको खण्डमा उडान अनुमति नदिइने निर्णय गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता उपमहानिर्देशक देवचन्द्र लाल कर्णले जानकारी दिए । 

‘अबदेखि हामीले इनरुट मौसम सफा नभएको अवस्थामा उडानको अनुमति नदिने निर्णय गरेका छौं,’ प्रवक्ता कर्णले भने । अहिलेसम्म विमान उड्ने विमानस्थल र विमान पुग्ने विमानस्थलको मौसम सफा भएमा उडान अनुमति दिँदै आएको थियो ।

अबदेखि भने इनरुट मौसम पनि सफा हुनुपर्ने निर्णय गरिएको उनको भनाइ छ । इनरुट भन्नाले विमान उड्ने स्थान, विमान पुग्ने स्थान र उडानको बाटो समेतलाई जनाउँछ । ती सबै स्थानको मौसम सफा नभएसम्म उडानको अनुमति नदिइने निर्णय प्राधिकरणले गरेको हो । यो निर्णयले हवाई दुर्घटना कम गर्न मद्दत मिल्ने उनको भनाई छ । 

यस्तो निर्णय भिएफआर भिजुअल फ्लाइट रुल्स० बाट उडान गर्ने विमान र विमानस्थलका लागि मात्रै लागु हुनेछ । भिएफआर भन्नाले आँखाले हेरेर विमान उडाउने र ल्याण्ड गर्ने विधि हो । तर, आईएफआर इन्स्ट्रुमेण्ट फ्ल्याइट रुल्स विधि जडान भएको विमान र विमानस्थलमा भने यो नियम लागु नहुने उनको भनाइ छ । 

आइतबार मुस्ताङमा तारा एयरको विमान दुर्घटनामा परेसँगै प्राधिकरणले विमान उडानसम्बन्धि कडा नियम ल्याएको हो । 

Logo