मनसुन सुरु भएपनि सुदूरपश्चिममा छैन सम्भावित विपद् नियन्त्रण गर्ने पूर्वतयारी

मनसुन सुरु भएपनि सुदूरपश्चिममा छैन सम्भावित विपद् नियन्त्रण गर्ने पूर्वतयारी


यस वर्षको मनसुन सुरु भइसक्दा समेत सुदूरपश्चिम प्रदेश सरकारले मनसुनका कारण हुनसक्ने विपद् नियन्त्रण र उद्धारसम्बन्धी पूर्वतयारी सुरु गरेको छैन।

गत कार्तिकमा सुदूरपश्चिममा आएको बेमौसमी वर्षाका कारण ठुलो क्षति भएको थियो। वर्षाका कारण अर्बौँको भौतिक संरचनामा क्षति हुनुको साथै ३३ भन्दा बढीले बाढी पहिरोका कारण ज्यान गुमाएका थिए। जसको प्रमुख कारण सरकारको पूर्वतयारी अभाव नै हो।

यस वर्ष पनि मनसुन भित्रिसक्दा समेत प्रदेश सरकारले पूर्व तयारीमा चासो समेत देखाएको छैन। सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव विश्वदीप वेश्राका अनुसार विपद् पूर्व तयारीका बारेमा अहिलेसम्म सामान्य छलफल मात्रै भएको छ। तर, कसरी काम गर्ने, स्रोतको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा कुनै निर्णय नभएको उनले बताए।

उनका अनुसार अहिलेसम्म सुदूरपश्चिममा विपद्को पूर्वतयारी तथा विपद्पछि उद्धारका लागि के कति स्रोत साधन छ भन्ने समेत यकिन तथ्यांक छैन। सो तथ्यांक स्थानीय तहसँग माग गरेको भए पनि उपलब्ध नभएको उपसचिव वेश्राले बताए। ‘विपद न्यूनिकरणका लागि पूर्व मनसुन तयारी कार्ययोजनाको ड्राफ्ट बन्दैछ,’ उपसचिव वेश्रोले भने, ‘असारसम्ममा सो कार्ययोजना बन्छ होला, त्यसपछि पूर्व तयारीका लागि जुट्नेछौं।’

यसअघि स्थानीय तहसँग समन्वय नहुँदा विपद्का वेला स्थानीय स्रोतसाधन परिचालन गर्न नसकेको उनले बताए। उनले आगामी दिनमा भने स्थानीय तहसँग समन्वय गर्दै स्थानीय स्रोत साधनको बढीभन्दा बढी प्रयोग गरी विपद् न्यूनिकरण गरिने बताए। तर, अहिलेसम्म स्रोतको पहिचान भने भइनसकेको उनी बताउँछन्। ‘स्थानीय तहले दिने सूचनाका आधारमा एकीकृत श्रोतको परिचालन गर्नेगरी योजना तयार हुँदैछ,’ उनले भने, ‘यस वर्ष हेलिकोप्टर प्रयोगलाई प्राथमिकता नदिने की भन्ने सोच छ।’

तत्कालै प्रकोप सम्भावित क्षेत्रमा पूर्वतयारीका लागि सचेतना कार्यक्रम सञ्चालन गर्नेगरी संघसंस्थासँग सहकार्य भइरहेको उनले बताए। मर्सीकोर, आइओएनलगायत अन्तराष्ट्रिय संस्थासँगको सहकार्यमा पूर्वतयारी सचेतना कार्यक्रम सञ्चालन गर्नेगरी छलफल भइरहेको उनको भनाइ छ। सचेतना कार्यक्रममा विपदबाट बच्न के–के गर्ने? सावधानीका उपाय कसरी अपनाउने? विपद आइहाले कसरी सुरक्षित बन्ने? भन्ने बारेमा नागरिकलाई जानकारी गराइने उनले बताए। प्रदेश सरकारले नदीमा पानीको वहाव मापन गर्ने 'रेनगेज'को सूचना दिने स्वयंसेवकहरूको क्षमता अभिवृद्धि गर्ने कार्यक्रम रहेको समेत बताए।

कैलालीमा बल्ल छलफल सुरु

कैलालीमा विपद्को पूर्वतयारीका लागि जिल्ला प्रशासन कार्यालय कैलालीले छलफल सुरु गरेको छ । प्रशासनले पूर्वतयारी स्वरुप १३ वटै पालिकाका जनप्रतिनिधिसँग छलफल गरिसकेको कार्यालयका सूचना अधिकारी शिवराज जोशीले बताए।

वर्षायाममा आउनसक्ने बाढी तथा पहिलोबाट बच्न बाढीको पूर्व मनसुन प्रतिकार्य योजना तयार भइरहेको उनले बताए। ‘मनसुन प्रतिकार्य योजना जेठ अन्तिमसम्म वा अषार पहिलो साताभित्रै तयार हुन्छ,’ सूचना अधिकारी जोशीले भने, ‘सो योजना बनेपछि हामी पूर्व तयारीका लागि थप गतिविधि गर्नेछौं।’ विपद्बाट बच्न पूर्व तयारी स्वरुप सम्भावित जोखिम भएका स्थानमा नागरिकलाई कृत्रिम अभ्यास गराइने उनले बताए। ‘यसबर्ष कैलालीमा अति बर्षाको सम्भावना रहेको मौसम विभागले जानकारी गराई सकेको छ,’ उनले भने, ‘सो जनाकारीपछि अब पूर्व तयारी बढी आवश्यक देखिएको छ, जोखिम न्यूनीकरण गर्न प्रतिकार्य योजना महत्वपुर्ण हुनेछ, हामी त्यसैलाई प्राथमिकता दिनेगरी अघि बढेका छौं।’

सूचना अधिकारी जोशीले स्थानीय तहलाई स्रोतसाधन सम्पन्न बनाएर मात्रै जोखिम न्यूनिकरण तथा उद्वार र कार्य छिटो हुन सक्ने बताए। त्यसका लगि प्रशासनसँग भएका उद्वार सामग्री पनि स्थानीय तहलाई नै जिम्मा लगाउने विषयमा पनि छलफल भइरहेको उनले बताए। ‘विपद् पर्दा जिल्लाका सवै ठाउँमा प्रशासन छिटो पुग्न सक्दैन,’ उनले भने, ‘छिटो पुग्ने भनेको स्थानीय जनप्रतिनिधि र नजिकको सुरक्षा निकाय हो, त्यसैले हामीले स्थानीय तहलाई स्राेतसाधन सम्पन्न बनाउने गरी तयारी गरिरहेका छौं।’

कैलालीका सबै स्थानीय तहमा विपद् व्यवस्थापन समिति बनिसकेका कारण सो समितिलाई सक्षम बनाउन सके मात्रै जोखिम न्यूनीकरण र उद्धार कार्यलाई प्रभावकारी बनाउन सकिने उनको बुझाइ छ।

Logo