वर्षायाम सुरु भएसँगै कच्ची सडक ठप्प

वर्षायाम सुरु भएसँगै कच्ची सडक ठप्प


वर्षायाम सुरु भएसँगै खोटाङका अधिकांश कच्ची सडक ठप्प भएको छ ।

वर्षाको सिजन सुरु भएसँगै कच्ची सडक हिलाम्मे भएपछि काठमाडौं-लामीडाँडा-खार्पा-दुबेकोल-ऐसेलुखर्क, दिक्तेल-मात्तिम-टेम्मा-याम्खा-पञ्चमी-खोटाङबजार, दिक्तेल-राजापानी-रेग्मीटार-रसुवा, दिक्तेल-जालपा-हौंचुर-फेदी माक्पा-ऐसेलुखर्क, दिक्तेल-पाथेका, दिक्तेल-खार्मी-बालाबेँसी, रसुवा-सिमपानी-खोटाङबजार, रसुवा-रोक्सिङ-पञ्चमी-याम्खा-मात्तिम र रसुवा-टेम्मा-छितापोखरी सडक अवरुद्ध भएका हुन् ।

पानी पर्दा विभिन्न ठाउँमा सडक बिग्रेकाले ग्रामीण क्षेत्र जोड्ने सडकमा बस तथा जीप चल्न छाडेको खोटाङ यातायात प्रालिले जनाएको छ । वर्षाका कारण कच्ची सडकमा बनेको खाल्डाखुल्डी र हिलोमा सवारी साधन भासिने समस्याका कारण अर्को सूचना जारी नभएसम्मका लागि कच्ची सडकमा सवारी साधन चलाउन छाडिएको प्रालिका महासचिव रामकुमार हिङमाङले बताए । हिलाम्मे बनेका कच्ची सडकमा बस तथा जीप हिँड्न सक्ने अवस्था छैन । 

सवारी साधन सञ्चालन नहुँदा आकस्मिक कामका लागि यात्रा गर्नुपर्ने स्थानीय मारमा परेका छन् । सडक सञ्चालन नहुँदा गाउँबाट बिरामी ओसार–पसार गर्ने एम्बूलेन्स सेवा सबैभन्दा बढि प्रभाबित भएको छ । एम्बूलेन्स हिँड्न नसक्ने अवस्थामा कतिपय बिरामीलाई अस्पताल लैजान हेलिकोप्टर चार्टर गर्ने गरिएको छ । 

हाल जिल्लाका कच्ची सडकमा ट्याक्टर र बाईक जवरजस्त चलाउने गरिएको छ । मोटरसाइकल हिलोमा भासिँदा सकसका साथ निकाल्ने गरिएको प्रतिक्रिया सामाजिक सञ्जालमा छ्याप-छ्याप्ती देखिन्छ । हिलाम्मे सडकमा सकसपूर्ण यात्रा गरेका स्थानीयले स्थानीय तह, प्रदेश र संघका जनप्रतिनिधिमाथि आक्रोश पोख्ने गरेका छन् ।

अधिकांश बजेट कच्ची सडक खन्नमा खन्याउने स्थानीय तहले कच्ची सडक स्तरोन्नतीमा भने ध्यान दिएको देखिन्न । स्तरोन्नतीमा विनियोजन गरिएका बजेट पनि टालटुल पारेर सक्ने गरिएको स्थानीयको जनगुनासो छ । हाल कालोपत्रे भइसकेका मध्यपहाडी लोकमार्ग अन्तरगत दिक्तेल-हलेसी-जयराम तथा दिक्तेल चखेवाभञ्ज्याङ सडक खण्डमा मात्र सवारी साधन गुडिरहेका छन् । 

Logo