काठमाडौंमा बंगलादेशी फेसन शो

काठमाडौंमा बंगलादेशी फेसन शो


काठमाडौंको प्रदर्शनीमार्गमा सञ्चालन भएको नेपाल चेम्बर एक्स्पो २०२२ अन्तर्गतको तेस्रो दिनमा बंगलादेश फेसन शो शीर्षकमा बंगलादेशी फेसनका विभिन्न आयामलाई प्रस्तुत गरिएको छ । 

शनिबार साँझ प्रस्तुत गरिएको सो फेसन शोमा बंगलादेशी फेसनअन्तर्गत विभिन्न पहिरन शैली र हस्तकलाका अनुपम नमुनाहरु र्‍याम्पमाथि देख्न पाइयो ।

सात चरणमा प्रस्तुत गरिएको उक्त फेसन प्रस्तुतिमा साडी, सलवार कमीज, कुस्ती, सर्टस्, पन्जाबी स्टाइल, टिसर्टलगायतका पहिरनसँगै लेदर तथा फ्याब्रिकमा तयार पारिएका विभिन्न एक्सेसरिज पनि प्रदर्शन गरिएको थियो । सो फेसन कार्यक्रममा प्रस्तुत गरिएका फेसनका विविध नमुनाहरू मूलत: मस्लिन, सिल्क, कटन फ्याब्रिकमा तयार पारिएका थिए ।

फेसन शोको अन्तिम प्रस्तुति भने खाडी वेयर थियो ।काठमाडौंमा रहेको बंगलादेशी दूतावासको पहलमा प्रस्तुत गरिएको सो फेसन शो कार्यक्रमको संयोजन तथा कोरियोग्राफी फेसन कोरियोग्राफर रोजिन शाक्यले गरेका थिए भने मोडलहरूको मेकअप तथा हेयरस्टालिङ ब्युटी गार्डेन, द ग्रुमिङ स्टेसनले गरेको थियो ।

बंगलादेशी फेसन शो  अन्तर्गत प्रस्तुत भएका फेसनशैलीहरू मध्ये केही भने बंगलादेशी फेसन डिजाइनरका सृजनाहरू थिए भने केही रेडी टू वेयर शैलीहरू थिए । आठ युवती तथा चार युवा मोडलको सहभागीता रहेको उक्त फेसन शो प्रस्तुतिलाई पूर्व मिस नेपाल सुगरिका केसीले सञ्चालन गरेकी थिइन् ।

कार्यक्रममा नेपालका लागि बंगालादेशी राजदूत सलाउद्दीन नोमान चौधरीलगायत बंगालादेशी दूतावास तथा नेपाल चेम्बर अफ कमर्सका आमन्त्रितहरूको विशेष उपस्थिति थियो ।

Logo