कुहिने र नकुहिने फोहोर नछुट्याए काठमाडौं महानगरवासीलाई ५०० जरिवाना

कुहिने र नकुहिने फोहोर नछुट्याए काठमाडौं महानगरवासीलाई ५०० जरिवाना


काठमाडौं महानगरपालिकाले कुहिने र नकुहिने फोहोर एकै ठाउँमा मिसाउनेलाई साउन १ गतेदेखि कारबाही गर्ने भएको छ । 

महानगरपालिकाले सूचना जारी गर्दै फोहोर छुट्याएर नराख्नेलाई साउन १ गतेदेखि ५०० जरिवाना गर्ने जनाएको हो । फोहोर संकलनका क्रममा फोहोरको पृथकीकरण नगरेको पाइए हरेक पटक जरिवाना गरिने महानगरपालिकाको चेतावनी छ । 

फोहोर छुट्याउने जिम्मेवारी उत्पादनकर्ताकै भएकोले यस्तो निर्णय गरिएको महानगरपालिकाको भनाइ छ । काठमाडौं महानगरपालिकाले सिसडोल र बञ्चेरडाँडा ल्यान्डफिल साइटका प्रभावित स्थानीय र त्यहाँका स्थानीय तहसँग आगामी १ साउनदेखि फोहोर स्रोतमै वर्गीकरण गर्ने प्रतिवद्धता जनाएको छ ।

असार मसान्तसम्म मात्रै अहिलेकै अवस्थाको फोहोर फाल्न दिन नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनीबेसी नगरपालिका सहमत भएका छन् । तर, साउनबाट फोहोर नछुट्याइ अहिलेकै शैलीमा ल्यान्डफिल साइटमा लगिएमा फोहोर फाल्न रोक्ने उनीहरूको चेतावनी छ ।

Logo