बाँके, बर्दियामा बाघको आक्रमणः ५ वर्ष भित्र २९ जनाको मृत्यु

बाँके, बर्दियामा बाघको आक्रमणः ५ वर्ष भित्र २९ जनाको मृत्यु


पछिल्लो पाँच वर्षमा बाँके र बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको आक्रमणबाट २९ जनाको मृत्यु भएको छ । बाँके र बर्दिया राष्ट्रिय निकुञ्जका अनुसार पछिल्लो पाँच वर्षमा बर्दिया राष्ट्रिय निकुञ्जमा २३ र बाँके राष्ट्रिय निकुञ्जमा ६ जनाको मृत्यु भएको छ ।

बाघको संख्या बढेपछि बाघको आक्रमणका घटना बढेसँगै दुवै राष्ट्रिय निकुञ्जमा बाघको आक्रमणबाट मृत्यु हुनेको सङ्ख्या बढेको बताइएको छ ।

बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले चालू आर्थिक वर्षमा बाघको आक्रमणबाट पाँच जनाको मृत्यु भएको बताए । त्यसैगरी आर्थिक वर्ष २०७७/०७८ मा बाघको आक्रमणबाट १२ जनाको मृत्यु भएको छ । आर्थिक वर्ष २०७६/०७७ मा बाघको आक्रमणमा परेर ६ जनाको ज्यान गएको  थियो।

बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको संख्या बढ्दै गएको, वन अतिक्रमणका बढ्दो घटना र भौतिक पूर्वाधारको विकासले बाघको बासस्थान घटेको उनले बताए ।

श्रेष्ठका अनुसार पाँच वर्षे रणनीतिक योजना तयार गरी मानव र वन्यजन्तु दुवैको अस्तित्व जोगाउने काम सुरु भएको छ । बर्दिया राष्ट्रिय निकुञ्जमा सन् २०१८ मा ८७ बाघ रेकर्ड गरिएको थियो भने सन् २००९ मा १८ मात्रै बाघ रहेको थियो ।

राष्ट्रिय निकुञ्जले सन् २०१८ को जनगणनामा २१ वटा बाघ रहेको र यस वर्षको बाघ गणनामा यो संख्या बढ्ने अनुमान गरेको छ ।
 

Logo