निर्माण व्यवसायीले गौरवका आयोजनाको काम रोके

निर्माण व्यवसायीले गौरवका आयोजनाको काम रोके


निर्माण व्यवसायीले गौरवका आयोजनाको काम रोकेका छन ।

पेट्रोलियम पदार्थको महँगीका कारण, निर्माण सामग्रीको मूल्यवृद्धिका कारण राष्ट्रिय गौरवका आयोजनाको निर्माण कार्य ठप्प भएको निर्माण व्यवसायीले बताएका छन् ।

नेपाल निर्माण व्यवसायी महासंघले पटक पटक इन्धनको मूल्य बढेसँगै आयोजनाको लागत बढेकाले निर्माण कार्यमा सुस्ति हुने बताएको छ ।

महासंघले विज्ञप्ति जारी गर्दै सरकारले निर्माण व्यवसायीलाई कुनै राहत दिन नसकेको भन्दै समग्र निर्माण उद्योगको विकासमा सरकार उदासीन रहेको आरोप लगाएको छ ।

लगानी, ऋण लिँदा र सम्पत्ति धितोमा राख्दा मूल्यवृद्धिले परिवार प्रभावित भएको व्यवसायीले गुनासो गरेका छन् ।

महासंघका अध्यक्ष रवि सिंहले इन्धन चुहावटको समस्या समाधान हुनुको सट्टा अन्तर्राष्ट्रिय कारण देखाउँदै इन्धनको मूल्यवृद्धिले मुलुकको समग्र विकासमा प्रतिकूल असर पर्ने र इन्धन आयातमा लगाइने कर घटाउने बताए ।

पछिल्ला केही महिनादेखि भएको मूल्यवृद्धिका कारण निर्माण उद्योगमा देखिएको ठूलो समस्या समाधान गर्न महासंघले सार्वजनिक खरिद ऐन र नियमावली अनुसार मूल्य समायोजन निर्देशिका–२ जारी गर्न सरकारसँग माग गरेको उनले बताए ।

उनले मुलुकमा व्याप्त अन्योल, निर्माण कार्य र भ्रष्टाचारका कारण मुलुकले सुशासनको अनुभूति गर्न नसकेको बताए ।

निर्माण व्यवसायी अझै पनि समयावधि र भुक्तानी नपाउने जटिलताबाट पीडित रहेका बेला बैंक ग्यारेन्टी दाबी गरेर ठेक्का तोड्ने, कालोसूचीमा राख्न सिफारिस गर्ने जस्ता पीडादायी कार्य सार्वजनिक निकायले गरेकोमा महासंघले कडा आपत्ति जनाएको छ ।

सरकारले बीमा निर्देशिका–२०७८ मा गरेको व्यवस्थाका कारण पूर्वाधारको लागत बढाएर सरकारले बीमा कम्पनीलाई खुवाएको महासंघले आरोप लगाएको छ ।

सरकारले निर्माण व्यवसायीलाई तत्काल राहत उपलब्ध गराउन मूल्य समायोजन निर्देशन जारी नगरे महासङ्घले ‘निर्माण बिदा’का बीचमा पनि राष्ट्रिय गौरवका आयोजना तथा अतिआवश्यक निर्माण आयोजना बन्द गरी छिट्टै कडा आन्दोलन गर्न बाध्य हुने उनले बताए ।
 

Logo