खानेपानी, सिँचाइ सुविधा पाएपछि रुकुम पश्चिमका स्थानीयवासी हर्षित

खानेपानी, सिँचाइ सुविधा पाएपछि रुकुम पश्चिमका स्थानीयवासी हर्षित


खानेपानी, सिँचाइ सुविधा पाएपछि रुकुम पश्चिमका स्थानीयवासी हर्षित भएका छन । 

वर्षौंदेखि सिँचाइ र खानेपानीको समस्या भोग्दै आएको रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाको वडा नं ५ र ६ मा सिँचाइ तथा खानेपानी आयोजना सम्पन्न भएको छ ।
आयोजना सम्पन्न भएपछि धानेखोला टोलका घर–घरमा खानेपानी पुगिसकेको छ भने बलेबासमा सिँचाइ सुविधा पुगेको छ । धानेखोला स्रोत संरक्षण तथा खानेपानी उप आयोजना र बलेबास पाइप सिँचाइ उप आयोजनाले आयोजना सम्पन्न गरेपछि खानेपानी र सिँचाइको समस्या हटेको छ ।

पूर्व वडा अध्यक्ष लालबहादुर खत्रीले वर्षौंदेखि खानेपानीको समस्या भोग्दै आएकाले घरघरमा पानी पुग्न सकेको भन्दै खेतीयोग्य जमिनमा सिँचाइको समस्या पनि हटेको बताए ।
स्थानीय नेता भीमबहादुर कुसारीले एक घण्टाभन्दा बढी पैदल दूरीमा रहेको खानेपानीको मुहान संरक्षण गरेपछि घरमा धारा जडान गर्न पाउँदा निकै खुसी लागेको बताए । टोलका १९ घरमा खानेपानी भइरहेको र पाइप सिँचाइ आयोजना पनि सम्पन्न भई करिब १०४ रोपनी जग्गामा सिँचाइ सुविधा पुग्ने उनले बताए ।
खानेपानी तथा सिँचाइ आयोजना वन तथा वातावरण मन्त्रालयको पहाडी क्षेत्रका साना होल्डर्सका लागि अनुकूलन परियोजना (आशा) को सहयोगमा सम्पन्न भएको हो । १० करोडको लगानीमा बलेबास पाइप सिँचाइ उप आयोजना सम्पन्न भएको आशाका जिल्ला संयोजक खिमराज ओलीले बताए । 
आयोजना सम्पन्न भएपछि ३९ घरधुरी प्रत्यक्ष लाभान्वित भएको र झण्डै १२४ रोपनी जग्गामा सिँचाइ सुविधा पुगेको स्थानीय दिलबहादुर खत्रीले जानकारी दिए ।  

Logo