खानीडाँडा-याम्खा सडक कालोपत्रेको लागि स्ट्रक्चरको काम सुरु

खानीडाँडा-याम्खा सडक कालोपत्रेको लागि स्ट्रक्चरको काम सुरु


खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका जोड्ने सडक कालोपत्रेको प्रारम्भिक चरणका काम थालिएको छ ।

दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खा र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङस्थित खानीडाँडा विमानस्थल जोड्ने १५ किलोमिटर लामो सडक कालोपत्रेका लागि स्ट्रक्चरको काम थालिएको हो । सडक कालोपत्रेका लागि प्रारम्भिक चरणका काम गर्न चालु आर्थिक वर्ष संघीय सरकारको समपुरक अनुदान २ करोड ५ लाख र प्रदेश सरकारको समपुरक अनुदान १ करोड विनियोजन गरिएको थियो ।

कालोपत्रेको पुर्वतयारीमा सडकको स्ट्रक्चर ग्याविन, होमपाईप, मेसिनरी ड्रेन लगायतका स्ट्रक्चरको काम गरिएको दिप्रुङ चुइचुम्मा गाउँपालिकाका सव–इन्जिनियर राजन खत्रीले बताए । कुल बजेट ३ करोड ५ लाख भए पनि निर्माण कम्पनी रामसागर–बिकेएसके जेभीले २ करोड २१ लाख ७ हजार ३५३ मा कालोपत्रेको प्रारम्भिक चरणको कामका लागि ठेक्का पारेको थियो । सो ठेक्काको सम्झौता म्याद आगामी २३ असारमा सकिने गाउँपालिकाले जनाएको छ । 

बिमानस्थलदेखि याम्खा सडक कालोपत्रेका लागि गाउँपालिकाले २० फागुन २०७८ मा ठेक्का आव्हान गरेको थियो । सडक कालोपत्रेको थप काम गर्न आर्थिक वर्ष २०७९/०८० मा संघीय सरकारबाट १ करोड ७० लाख, प्रदेशबाट १ करोड र प्रदेश भौतिक मन्त्रालयबाट २५ लाख बजेट विनियोजन भएको छ । साझेदारी योजना अन्तरगत सोही सडकका लागि गाउँपालिकाकातर्फबाट २ करोड विनियोजन गरिएको गाउँपालिका अध्यक्ष लोकेन्द्र राईले बताए । दिप्रुङ चुइचुम्मा गाउँपालिकालाई विमानस्थल र सदरमुकाम दिक्तेलसँग नजिक बनाउनका लागि छोटो दुरीको खानीडाँडा–याम्खा सडक निर्माण सुरु गरिएको थियो । 

खानीडाँडा–याम्खा सडक २४ भदौ २०७४ मा याम्खाको राटमाटामा आयोजित कार्यक्रममा तत्कालिन गाउँपालिका अध्यक्ष (हाल कांग्रेस प्रदेश महामन्त्री) प्रमुख भूपेन्द्र राईले शिलान्यास गरेका थिए । सो सडकका कारण याम्खा, टेम्मा, डाँडागाउँ, छितापोखरी, बतासे, छोरम्बु, चिप्रिङ लगायतका स्थानीयलाई सदरमुकाम आउजाउ गर्ने सवैभन्दा छोटो बाटो खुलेको छ । २०७२ सालमा सडक बिभागबाट प्राप्त ८ लाख बजेटले कालेपत्रे गर्ने लक्ष्य सहित याम्खा–खानीडाँडा सडकको डिपिआर तयार पारिएको थियो ।

सडक बिभागको ६ लाख अनुदानमा २०७२ सालमा खानीडाँडातर्फबाट ट्रयाक खोल्न सुरु गरिएको सडकका लागि २०७४ सालमा ७५ लाख विनियोजन गरेपछि याम्खातर्फबाट ट्र्याक खोल्ने काम सुरु गरिएको थियो । कांग्रेस नेता राईकै अवधारणा अनुसार बनेको सडक गाउँपालिकाभित्रका विरामीलाई खानीडाँडा विमानस्थल हुँदै सुविधा सम्पन्न अस्पताल पुर्‍याउनका लागि समेत उपयोगी हुने अपेक्षा गरिएको छ । 

Logo