देवघाट संगालो : शान्तिको खोजीमा जीवन बाच्ने आधार

देवघाट संगालो : शान्तिको खोजीमा जीवन बाच्ने आधार


चितवनको नारायणगढबाट करिब सात किलोमिटर उत्तरमा धार्मिक स्थल देवघाट छ । देवघाट भन्नासाथै हिन्दु धर्मावलम्बीको पवित्र तीर्थस्थल भनेर चिनिन्छ । यो चितवन, नवलपरासी र तनहुँ जिल्लाको सङ्गमस्थलमा अवस्थित छ । 

विशेष गरेर हिन्दु धर्ममा आस्था राख्ने मानिसहरुले यसको नाम उच्चारण गर्दा समेत पुन्य पाएको अनुभव गर्ने गर्छन् । यो धाम कालीगण्डकी र त्रिशूली नदीको सङ्गम स्थलमा पर्छ । यो धाममा संस्कृत पाठशाला, पीठाधीश, विभिन्न देवदेवीका मन्दिर तथा बृद्धआश्रम समेत रहेका छन् । चितवन र तनहुँ, जिल्ला जेड्ने झोलुङ्गेपुल तरेर पारी पट्टी विभिन्न गुफा तथा मन्दिरहरुको दर्शन गर्न पाइन्छ । 

झोलुङ्गेपुल तरेर तनहुँतिर जादा देखिएको रमाइलो छनक तथा मन्दिरहरुले हाम्रो पनि मन तानेको थियो । सिढि चढेर उकालो लाग्दै गर्दा दुई ७५ कटिसकेका आमाहरु बाति काट्दै भजनमा मस्त छन् । उनीहरुले आफ्ना दुखलाई भजन तथा लोक लयका माध्यमबाट पोख्नु उनीहरुको दैनिकी रहेछ । रमाइलो वातावरण सुन्दर शान्त स्थलले गर्दा यहाँको माहोल नै अलग हुने रहेछ ।  

प्राकृतिक जीवन
विद्येश्वर मन्दिर दर्शनका लागि उकालो सिँढिमा चढ्दै गर्दा दृईजना आमा बात्ति काट्दै लय हालेर भजन गाइरहेका हुन्छन् ‘यो पनि शिवको त्यो पनि शिव को सारा संसार शिवको मै पनि शिवको’ भन्दै गाएको भजनको आवाज कानसम्म आइपुग्छ । मन्दिर नजिकै चिटिक्क परेको दृश्यले मेरो ध्यान तान्छ । आंगानीमा दुई आमाहरुको यो शिव भक्ति भावले भरिएको भजन सुन्दा शरिरमा बेग्लै तरगं पैदा हुन्छ ।  उहाँहरुको नजिक गएर वास्तबिकताको जानकारी लिने रहरले मेरो पनि ध्यान खिचिन पुग्छ । 

देवघाटको यो स्थानमा रमाइलो तथा पारिवारिक माहोलका लागि एक्लोपनको आवास नहोस भनेर कोठा भाडामा लिएर रेनुका अधिकारी मन्दिर नजिकै बसेकी रहेछिन् । रेनुका आफुलाई यो ठाउँ उनका श्रीमानसंग बसेकी छन् । उनले आफ्नोबारे यसरी सुनाइन् , ‘म कोठा बसेर गंगा नुहाउने भजन कृर्तन गर्ने गर्छु, बेला बेला साथिहरु यसरी जम्मा भएर बात्ती काट्ने काम गर्ने गरेका छौं । भजन गाउँने बात्ती काट्ने बाहेक हाम्रो अर्को काम छैन । यहाँ आएर आनन्द भएको छ । घरमा दश तिरको तनाव हुने गरेको थियो । यहाँ आएपछि आनन्द भएको छ । भगवान प्रति मन लाएर गंगा नुहाएपछि बेग्लै शान्ती मिल्छ  । जो खान मन लागेनी पकायो खायो गर्छु । तनाव हुँदैन खुसी छु । कहिले कुन मन्दिर जान्छु कहिले कुन मलाई सबैभन्दा ठुलो सुख यहाँ मिलेको छ । भगवानको शरणमा छु । स्वर्ग गएर बसेको आवास हुन्छ ।’ ‘कहिले काँही लाग्छ स्वर्ग त यहाँ पो रहेछ ।’

विगत ५ वर्षबाट कोठा भाडा लिएर बसेकी उनलाई देवघाट छाडेर घर जान मन छैन् । सुविधा तथा त्यहाँको वातावरणले उनलाई तानेको छ । चितवनमा भएको आफ्नो नम्बरी घर भाडामा लगाएर देवघाट गएकी उनलाई विदेशमा भएका छोराहरुले जे खाए लाए नि पुग्दो पैसा पठाउने गरेको उनको भनाई छ । मेरो यहि बस्ने इच्छा भयो श्रीमान पनि खुसि हुनुहुन्छ । यो ठाउँ छाडेर जान म कतै सक्दिन् । उनी भन्छिन्,‘ हामी जस्तै कोठा बस्ने धेरै हुनुहुन्छ देश तथा विदेशबाट समेत यहाँ आएर कोठा नै लिएर बस्नु भएको छ । यो स्थान आफैमा स्वर्गको अनुभुति हुने ठाउँ हो । मलाई त बाँचुनजेल यहि बस्ने मन छ ।’  

शान्तिको खोजी
चक्रवती मन्दिरको गेट छिर्ने बितिक्कै विभिन्न प्रकारका पुष्प(फूल) हरुले ढकमक्क गरिएको सफा बगैँचा छ । गेटको दायाँ पट्टि ८० वर्षको उमेर देखिने वृद्ध काशी भुसाल पुष्पहरुको सेवा गर्दै भगवानको नाम लिइरहेकी थिइन् । स्याङजा घर भएकी उनी यहाँ आएको १६ वर्ष भएको रहेछ । उनी आफ्नो कथा सुुनाउँदै भन्छिन्, ‘मलाई घर बस्न मन भएन अहिलेपनि छोरा छोरीले घर जाउँ भनेर कर गर्छन् तर मलाई यहाँको वातावरण मन पर्छ । यहाँ छाडेर अन्यत्र गएर बस्ने मन छैन् । यो मन्दिरको सेवा गरेर बस्ने मेरो सोच छ । म जबतव गरेर यहि मन्दिरको सेवा गरेर बसेको छु । घर गएर बस्दा मलाई सुख छ तर मनले मान्दैन । मन यहाँ आएर अडिएको छ । छोराछोरी लिन आउँदा पनि जाउँ जाउँ लाग्दैन यो ठाउँ प्यारो लाग्छ । खुसी छु, हाँस्न बोल्न पाएकी छु ।’ म घरमा बस्न मन नलागेर यहाँ आएर बसेको हुँ ज्यादै आनन्द मिलेको छ । भन्नेले जे भन्लान तर मलाई यहाँ विराज सुख मिलेको छ । 

पुण्य प्राप्तिको अभिलासा
स्थानीय राधिका आचार्यका अनुसार देवघाटमा मानिसहरु विभिन्न बाहानामा आउने गरेका छन् । आचार्यका अनुसार कोहि बृद्ध आश्रममा बस्न आउने गर्छन् । हाल ४० जना भन्दा बढि वृद्धहरु यहाँको आश्रममा रहेका छन् । उनले देवघाटको इतिहासबारे यसरी सुनाइन् ‘भगवान् विष्णुको वामन अवतार भएको बेला बलिराजामाथि विजय प्राप्त गरेपछि त्रिविक्रम बनी भगवानले जहाँ चरण राख्नुभएको थियो रे । सो क्षेत्रमा एउटा सुन्दर तलाउ बन्यो । त्यो नै देवघाट हो भन्ने पुराणहरूमा समेत उल्लेख भएको छ । यसको चर्चा वराहपुराण, पद्मपुराण, स्कन्दपुराण आदिमा चर्चा गरिएको छ ।’ उनका अनुसार सो बेला शिव भगवानको त्रिशूलबाट बगेको नदी त्रिशूली र शालिग्राम ढुङ्गा पाइने एकमात्र नदी कालीगण्डकीको सङ्गमस्थल रहेको यस धाममा भगवान पनि स्नान गर्न आउने गरेको विश्वास रहेको बताइन्छ । स्थानिय रत्ना आचार्यका अनुसार यो क्षेत्रको भूमिमा शिव भगवान र ऋषिमुनिले तपस्या गरेको चर्चा पनि पुुराणहरूमा हुने गरेको छ । यो स्थानमा नुहाउनाले (स्नान) गर्नाले ठूलो यज्ञ गरेको, गाईदान गरेको, चारधाम तीर्थ गरेको भन्दा राम्रो पुण्य प्राप्त हुने विश्वास समेत रहेको छ । यो स्थानको व्याख्या र विश्लेषण यतिमा मात्र सिमित नरहेको स्थानीय बताउँछन् । हरेक सिजनमा हिन्दु तथा अन्य धर्मालम्बिको समेत भिड लाग्ने यो स्थानमा दामोदर कुण्डबाट बगेर आउने कालीगण्डकी र गोसाइँकुण्डबाट बगेर आउने त्रिशूलीसँगै सेती, मस्र्याङ्दी, दरौँदी, मादीलगायत नदी पनि मिसिएर देवघाटलाई पवित्र बनाउने गरेको छ । 

चहलपहल 
स्थानीय व्यावसायी धर्मानन्द पाख्रेलका अनुसार यो स्थानमा भक्तजनको घुँइचो १२ महिना लाग्ने गरेको छ । तर वैशाख संक्रान्ति, माघेसंक्रान्ति, ठूली एकादशी, बालाचतुर्थी, ग्रहण लागेको समय, साउन महिना लगायत समयमा धर्मावलम्बीको बाक्लो भीड लाग्ने गरेको छ । सो समयमा देवघाटमा मानिसको भिडभाडका कारण खुट्टा टेक्ने अवस्था समेत नरहने उनी बताउँछिन । धार्मिक तथा परम्परागत मान्यता अनुसार देवघाटमा (नुहाउने) स्नान गर्नाले मोक्ष पाइने धार्मिक विश्वास छ । सो कारण उमेरको हदम्याद केही नहेरी भक्तजनको घुइचो लाग्ने गरेको छ । तर विषेश गरेर वृद्ध बृद्धाहरु भने एकपटक यो स्थानमा आउँन रुचाउने गरेका छन । 

पवित्र भूमि
चितवन बाट झोलुङ्गेपुल तरेर पारी तनहुँ पुगेपछि पुलको मुखैबाट विभिन्न मठ तथा मन्दिरहरु भेटिन सुरु हुन्छ । दर्जनौँ मन्दिर, देवालय, मठ, गुम्बा, आश्रम, वृद्धवृद्धाका लागि निःशुल्क आश्रम यो स्थानमा मन्दिर तथा गुफाहरु रहेका छन् । ठुलो फराकिलो क्षेत्रमा फैलीएको यो क्षेत्रमा वशिष्ठ गुफा र सीता गुफा छ । जहाँ प्राचीन समयमा अयोध्याका राजा रामचन्द्रका गुरु वशिष्ठले यहाँ तपस्या गरेको भनाई छ । यसैगरी यहाँ चक्रेश्वर मन्दिरपनि छ । यहाँ चक्रैचक्र भएको ठूलो शिला स्थापित छ । पाल्पाका राजा मुकुन्दसेनले यहीँ आएर तपस्या गरेको इतिहास छ । यहाँ अर्का मन्दिर बद्रीनाथ मन्दिर हो । यस्तै, केदारनाथ मन्दिर, वागीश्वरी मन्दिर, मौलाकालिका मन्दिर, महेश सन्यास आश्रम छ । यहाँ संस्कृत विश्वविद्यालयसँग अनुमति लिएर कक्षा ६ देखि १० सम्म र स्नातकोत्तर तह आचार्यसम्म पढाइ हुने गर्छ । हरिहर सन्यास आश्रम पनि यहाँ छ ।  यो स्थानमा संस्कृतमा माध्यमिक तहसम्म अध्ययन हुने गरेको छ । गलेश्वर आश्रम पनि छ । यस्तै, सीताराम मन्दिर, सत्यनारायण मन्दिर, साँढेवगर, लक्ष्मीवराह भगवान, सङ्मेश्वर पशुपति मन्दिर, यज्ञशाला मन्दिर, अष्टदश पुराण मन्दिर, शङ्कराचार्य मन्दिर आदि थुप्रै मठ तथा मन्दिर छन । 

 

 

Logo