बिजुली व्यापारमा दीर्घकालीन सम्झौता गर्न नेपाल इच्छुक छ : ऊर्जामन्त्री भुसाल

बिजुली व्यापारमा दीर्घकालीन सम्झौता गर्न नेपाल इच्छुक छ : ऊर्जामन्त्री भुसाल


ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि भारतका नवनियुक्त राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेटवार्ता गरेका छन् ।  मन्त्रालयमा आज बुधवार भएको भेटवार्तामा उनीहरुबीच नेपाल र भारतबीचको आपसी सम्बन्ध र सहयोगका विषयमा छलफल भएको छ ।

भेटमा ऊर्जामन्त्री भुसालले नेपाल–भारतको सम्बन्ध मित्रता, समानता, सहयोग र पारस्पारिक सम्मानका साथ अगाडि बढेको स्मरण गर्दै आउँदा दिनमा दुई देशको मैत्रीपूर्ण सम्बन्ध अझ प्रगाढ हुने विश्वास व्यक्त गरे । उनले पछिल्लो समय नेपाल–भारतबीच ऊर्जा क्षेत्रमा महत्त्वपूर्ण सहकार्य भएको उल्लेख गर्दै आउँदा दिनमा अझ विस्तार हुने आशा गरे । 

मन्त्री भुसालले  भनिन,  ‘नेपाल–भारतबीच अहिले हुँदै आएको ऊर्जा व्यापार सकारात्मक छ । हामीसँग भएको स्वच्छ ऊर्जा भारतलाई आवश्यक रहेको छ । त्यसैले आउँदा दिनमा दीर्घकालीन बिजुली व्यापार सम्झौता गरी अगाडि बढ्न नेपाल इच्छुक छ । यहाँको कार्यकालमा बिजुली व्यापारमा महत्त्वपूर्ण सफलता प्राप्त हुने मैले विश्वास लिएको छु ।’ उनले  पश्चेश्वर जलविद्युत् परियोजनालाई अगाडि बढाउने साथै बाढीबाट हुने क्षतिका विषयमा दुई देशबीचको समझदारीलाई सक्रियताका साथ कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । 
 

Logo