चिनियाँ नेताकाे भ्रमणले नेपालमा कम्युनिस्ट एकता हाेला ?

चिनियाँ नेताकाे भ्रमणले नेपालमा कम्युनिस्ट एकता हाेला ?


चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओ चारदिने भ्रमणका लागि आइतबार बिहान काठमाडौं आइपुगेका छन् ।

उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली‚ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र परराष्ट्रमन्त्री नारायण खड्कासँग भेटवार्ता गर्ने कार्यतालिकामध्ये आज कांग्रेसका नेता र प्रधानमन्त्रीसंगको भेटवार्ता कार्यक्रम सम्पन्न भएको छ भने सोमबारबाट उनको राष्ट्रपति विद्यादेवी भण्डारी र अन्य कम्युनिष्ट नेताहरुसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

 नेपालका कम्युनिस्ट पार्टीहरूलाई प्राथमिकता दिँदै आएको उत्तरी छिमेकी चीनले नेपाली कांग्रेससँग पनि सम्बन्ध विस्तार गर्न खोजेको छ । ती भेटवार्तामा नेपाल–चीनबीच द्विपक्षीय सम्बन्ध, पार्टीगत सम्बन्ध, नेपालमा विदेशी चासो, चीनलाई पर्न सक्ने प्रभाव र एक चीन नीतिलगायत विषयमा कुराकानी हुने बताइएको छ । साथै, उनले कम्युनिस्ट पार्टीहरूसँग भने पार्टी एकताको विषयमा जोड दिन सक्ने राजनीतिक वृत्तमा आकंलन छ ।

संघीय र प्रदेश संसद्का लागि चुनाव घोषणा हुन लागेका बेला हुन लागेको चिनियाँ उच्च अधिकारीहरुको भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ । स्मरण रहोस्  २०७४ सालमा निर्वाचन हुनुअघि एमाले र माओवादीलाई मिलाएर निर्वाचनमा सँगै लान र त्यसपछि एकीकरण गर्नका लागि चिनियाँ पक्षले महत्वपूर्ण भूमिका खेलेको थियो । चीनले नेपालमा कम्युनिस्टहरू मिल्नुपर्नेमा जोड दिँदै आइरहेको छ ।

पछिल्लो केही समय नेपालमा अमेरिकी प्रभाव बढेको र आफ्नो कम भएको निष्कर्ष चीनले निकालेको छ । आफ्नो भूराजनीतिक शक्ति सन्तुलन कायम गर्न र आगामी निर्वाचनमा बाम सहकार्यको अवस्था बुझ्न सीपीसीका वरिष्ठ अधिकारी नेपाल आएका हुन ।  चीनले नेपालमा दुई देशबीचको द्वीपक्षीय सम्बन्ध र सुरक्षा मामिलालाई मात्र नभई राजनीतिक दलहरूबीचको सम्बन्धलाई समेत जोड दिएको छ ।

नेपालमा राजतन्त्र रहँदा दरबारसँग नजिक रहेर काम गरेको उत्तरी छिमेक चीनले २०६२÷०६३ को दोस्रो जनआन्दोलनपछि भने नेपाल सरकारसँग ‘एक चीन नीति र द्विपक्षीय सम्बन्ध’ मा बढी जोड दिएको थियो । राजतन्त्रको अवधिमा नेपालका कम्युनिस्टहरूले चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) सँग सम्बन्ध विस्तार गर्न चाहे पनि चासो देखाएको थिएन ।

बदलिँदो भूराजनीतिक र यसले आफ्ना छिमेकमार्फत् आफ्नै देशमा समेत पार्न सक्ने प्रभावलाई ध्यानमा राखेर चीनले २०७४ सालदेखि भने नेपालमा दलहरूसँग सम्बन्ध विस्तार गर्न थाल्यो । त्यसमा चीनको पहिलो प्राथमिकता रह्यो–नेपालका कम्युनिस्ट पार्टीहरूबीच एकता गराउने ।

एउटै विचारधारा भएको कारण काम गर्न सहज हुने र त्यसले आफ्ना छिमेकमा शक्तिहरूको प्रभावसमेत कम हुने ठहर गरेर चीनले नेपालका दुई ठूला कम्युनिस्ट पार्टीहरू एमाले र माओवादी केन्द्रलाई ५ वर्षअघिको आम निर्वाचनमा सँगै मिलेर जानको लागि ‘सहजीकरण’ गरेको थियो ।

जसलाई नेपालका कम्युनिस्ट नेताहरूले ‘चीनले नेपालका कम्युनिस्ट पार्टीमाथि सद्भाव राख्नु स्वभाविक’ भन्दै टिप्पणी गरेका थिए । यता कांग्रेसका नेताहरूले ‘काठमाडौंको पार्टीलाई बेइजिङबाट चलाएको’ आरोप लगाएका थिए । एमाले र माओवादी निर्वाचनमा मिलेर गए र त्यसपछि पार्टी एकता गरेर नेकपा बन्यो । उक्त पार्टीले नेपालको संसदीय इतिहासमा बलियो बहुमत ल्याएर सरकारको नेतृत्व गर्‍यो ।

पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालले आफूहरु एउटा विमानका दुई सहचालक भएको भन्दै टिप्पणी पनि गरे । नेकपाको बलियो सरकारमा रहँदा चीनबाट उच्चस्तरीय भ्रमण पनि बाक्लियो । नेपालले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता पारित गरेपछि चीनबाट यो दोस्रो उच्च तहको भ्रमण हो । गत चैतको दोस्रो साता चिनियाँ विदेशमन्त्री वाङ यीले नेपालको तीन दिने भ्रमण गरेका थिए ।

नेपालले अमेरिकी कार्यक्रम स्टेट पार्नटनरसिप प्रोग्राम (एसपीपी) अस्विकार गरेपछि भने चिनियाँ पक्षको पहिलो भ्रमण हो । नेपालमा २०७४ को निर्वाचनयता ५ वर्षमा फेरि संसदीय निर्वाचन हुने पूर्वसन्ध्यामा उत्तरी छिमेकबाट यसरी हुन लागेको भ्रमणलाई अर्थपूर्ण रुपमा लिइएको छ । २०७४ मा निर्वाचन हुनु एमाले र माओवादी केन्द्रलाई मिलाएर निर्वाचनमा सँगै लान र त्यसपछि नेकपा बन्नको लागि चिनियाँ पक्षले खुलेर भूमिका खेलेको थियो ।

तर चिनियाँ पक्षको सहयोग र सद्भावबीच नेकपा फुटेर पहिलेकै अवस्थामा आइपुग्यो । र, नेपालमा चीनले चाहेको कम्युनिष्ट नेतृत्वको सरकार ढल्यो । चीनले लगातार रुपमा नेपालमा कम्युनिष्टहरु मिल्नु पर्छ भन्दै आइरहेको छ । तर चीनले चाहे जस्तो नेपालमा वातावरण बनेको छैन । पछिल्लो पटक नेपाल मामिलामा आफ्नो उपस्थिति कमजोर भएको निष्कर्ष निकालेको चीनले भूराजनीतिक शक्ति सन्तुलन गर्न र आगामी निर्वाचनमा सम्भावित वाम एकताको अवस्था बुझ्न नै चिनियाँ कम्युनिस्ट पार्टीका वरिष्ठ अधिकारीलाई भ्रमणमा पठाएको चर्चा छ ।
 

Logo