विश्व सद्भावना दूतमा गायक दिवेश पोखरेल नियुक्त

विश्व सद्भावना दूतमा गायक दिवेश पोखरेल नियुक्त


संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले अमेरिकन आइडलको उपविजेता बन्न सफल गायक दिवेश पोखरेल आर्थर गनलाई नेपालको पर्यटन विकासका लागि विश्व सद्भावना दूत नियुक्त गरेको छ।

आइतबार मन्त्रालयमा आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री जीवनराम श्रेष्ठले पोखरेललाई विश्व सद्भावना दूत नियुक्त गरेको घोषणा गरे।

कार्यक्रममा नेपाललाई विश्वसामु चिनाउन महत्त्वपूर्ण योगदान दिएकोले पोखरेललाई सम्मान गरिएको थियो। पोखरेललाई नेपालको पर्यटनका लागि विश्व सद्भावना दूत घोषणा गर्न पाउँदा खुशीको लागेको बताउँदै मन्त्री श्रेष्ठले आफ्नै प्रतिभामार्फत नेपाललाई विश्वमा चिनाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै प्रशंसा गरे।

काठमाडौंको रवि भवनमा जन्मेर उच्च शिक्षा अध्ययनको सिलसिलामा सन् २०१४ मा अमेरिका गएका पोखरेल ‘अमेरिकन आइडल’को स्टेजमा दमदार उपस्थिति जनाइ लोकप्रिय बनेका थिए।

मन्त्री श्रेष्ठले विभिन्न विधामा रहेका नयाँ प्रतिभाहरूले नेपाललाई विश्वमै नयाँ पहिचान दिन सफल भएको बताए।

प्राकृतिक सुन्दरता, जैविक तथा सांस्कृतिक विविधताले भरिपूर्ण नेपालमा रहेका सर्वोच्च शिखर सगरमाथा, भगवान् बुद्धको जन्मभूमि लुम्बिनी, सीताको जन्मस्थल जनकपुरसहित अन्य विभिन्न धार्मिक क्षेत्र पशुपतिनाथ, मुक्तिनाथका साथै अन्य प्राकृतिक र सांस्कृतिक सम्पदाहरूको प्रचार प्रसारमा पोखरेलले भूमिका खेल्ने विश्वास व्यक्त गरे।

विश्व सद्भावना दूत नियुक्त भएपछि पोखरेलले संगीतमार्फत नेपालको पर्यटन तथा संस्कृति प्रवर्द्धनमा सहयोग गर्ने प्रतिवद्धता जनाए।

Logo